ट्याङकर व्यवसायीले सरकारविरुद्धको आन्दोलन फिर्ता

ट्याङकर व्यवसायीले सरकारविरुद्धको आन्दोलन फिर्ता

काठमाडौं । नेपाल आयल निगमले इन्धन ढुवानी नगर्ने व्यवसायीको सम्झौता खारेज गर्ने चेतावनी दिएसँगै ट्याङकर व्यवसायीले सरकारविरुद्धको आन्दोलन फिर्ता लिएका छन् ।

यसअघि यातायात व्यवसायीको आन्दोलनमा साथ दिँदै ट्यांकर व्यवसायीले बैशाख २१ गते एकदिन र २७ गतेबाट अनिश्चितकालसम्म तेल नबोक्ने बताएका थिए।

ट्याङ्कर व्यवसायीहरुको छाता संगठन नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले यातायात व्यवसायीहरुले उठाएको संघ संस्था खारेजीको विरोधको मुद्दालाई मात्र समर्थन गरिएको भन्दै इन्धन ढुवानी ठप्प नपारिने स्पष्ट पारेको छ।

महासंघका अध्यक्ष खगेश्वर बोहोराले यातायात व्यवसायीसँग मिलेर इन्धन ढुवानी रोक्ने कुनै निर्णय नभएको दावी गरे। सबै ट्याङ्करले नियमितरुपमा तेल बोक्ने उनले स्पष्ट पारे।

‘ट्याङकर व्यवसायीले इन्धन नबोक्ने भन्ने कुरा बाहिर आएको छ। त्यो साँचो होइन’ उनले भने ‘हामी सरकारी काम गर्ने संस्था भएकाले सरकारी निर्णयको विरोधमा तेल नै नबोक्ने भन्ने कुरै आउँदैन ।’

बोहोराले यातायात राष्ट्रिय व्यवसायी महासंघ र ट्याङकर व्यवसायी कामको प्रकृति छुट्टै भएकाले महासंघले उठाएको एउटा बाहेक अन्य कुनै मागहरुप्रति आफूहरुको समर्थन नभएको बताए।

‘यातायात महासंघले यात्रु बोकेर नाफा कमाउँछ। हामी आफ्ना गाडीमार्फत सरकारले भनेको स्थानबाट तेल ल्याएर भनेको ठाउँमा पुर्याइदिन्छौँ, बोहोराले भने, ‘यसबापत सरकारले हामीलाई भाडा दिन्छ, त्यसबापत नै हामी चलेका हुन्छौँ ।’

यातायात संघसंगठनहरुको नवीकरण नगर्ने भन्ने सरकारी निर्णय विरुद्ध यातायात व्यवसायीको मागमा मात्र आफूहरुको समर्थन रहेको उनले बताए।

‘संघसंगठन खोल्न पाउनुपर्छ भन्ने यातायात व्यवसायीको मागमा मात्र हाम्रो समर्थन हो’ उनले भने । त्यसकै लागि आन्दोलन घोषणा गर्ने दिन आफूहरुले प्रतिनिधी पठाएको उनले बताए । यसबाहेक अन्य अन्य कुनै पनि मागप्रति आफूहरुको समर्थन नभएको उनले बताए।

यातायात समितिहरुको एकाधिकारविरुद्ध सरकार कडारुपमा प्रस्तुत भएपछि सिन्डिकेट कायम राख्न पाउनुपर्ने माग राख्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत बुधबार आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै हालका सवारी साधनले रुट नवीकरण र हेरफेर गर्दा अनिवार्य पञ्जीकरण गर्नुपर्ने व्यवस्था गरेको छ।

यस व्यवस्थाले मुलुकभर रुट परमिट लिन चाहने नयाँ व्यवसायीलाई बाटो खुल्ला गरिदिएको छ। सवारी साधन एनजिनओमा नभई कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका व्यवस्था सरकारले लागू गरेको छ।

नयाँ व्यवस्थाले आफूहरुको एकाधिकार तोडिने भएपछि यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम ल्याएका हुन्। यसअन्तर्गत महासंघले २१ गते एक दिन र २७ गतेबाट अनिश्चितकालसम्म यातायात नगुडाउने धम्की दिएका छन्।

यातायात व्यवसायीको सो मागप्रति इन्धनसम्बन्धी दुई प्रमूख संस्थामध्येको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले नैतिक समर्थन गरेको थियो भने पेट्रोलियम ढुवानी महासंघले इन्धन ढुवानी ठप्प पारिने बताएको थियो।

दुबै संस्थाका महासिचव विश्वप्रसाद अर्यालले संगठित भएर व्यवसाय गर्न पाउनुपर्ने यातायात व्यवसायीको एजेण्डा साझा भएको भन्दै आन्दोलनमा सहभागी हुन लागिएको सेतोपाटीसँग बताएका थिए।

अर्यालले यसक्रममा यातायात व्यवसायीकोझैं २१ गते एकदिन र २७ गतेबाट अनिश्चितकालसम्म इन्धनको ढुवानी ठप्प पारिने बताएका थिए।
तर ट्याङकर व्यवसायीहरुबाट सो कुरा बाहिर आएपछि नेपाल आयाल निगमले इन्धनको नियमित आपूर्ति नगर्ने ट्याङ्करलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो।

निगमले कसैको उक्साहटमा लागेर इन्धनजस्तो संवेशनशील बस्तुको आपूर्ति तथा वितरण रोकी हड्तालमा उत्रिए त्यस्ता ट्यांकरको सम्झौता खारेज गरिने र आइन्दा कहिल्यै नवीकरण नगर्ने चेतावनी दिएको थियो। सो चेतावनीसँगै व्यवसायी आन्दोलनबाट पछि हटेका हुन्।

हाल देशभर १८ सय ट्यांकरले इन्धन ढुवानी गर्दै आएका छन्। यी सबै ट्यांकर व्यवसायीका भएपनि सरकारले ढुवानीबापतको भाडा, बिमा र सुरक्षा प्रदान गर्दै आएको छ।

भाडा बापत काठमाडौंसम्म इन्धन ढुवानी गर्दा सरकारले ट्यांकरलाई दुरी हेरेर प्रतिलिटर १ रुपैयाँ ५० पैसादेखि २ रुपैयाँ २० पैसासम्म दिँदै आएको छ। सेतोपाटीबाट

विकासको नयाँ मोडल दिएर देश विकास गर्न संभव छ भन्ने भाष्य स्थापित गर्न आवश्यकः प्रचण्ड

चितवन, १६ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तहका सरकारले विकासको नयाँ मोडल दिएर देश विकास गर्न संभव छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिकाले मेघौलीमा आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । केही समयदेखि मुलुकमा नकारात्मक भाष्य स्थापित गर्न खोजिएको उल्लेख गर्दै उहाँले यसलाई खण्डन गर्न भरतपुर महानगरपालिकाले महत्वपूर्ण प्रयास गरिरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेतृत्वले इमान्दार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमूना भएको बताउनुभयो । अहिले चितवनबाट बिदेश जाने क्रम उल्लेख्य रुपमा कम भएको स्पष्ट गर्दै उहाँले यसबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सकारात्मक भाष्य स्थापित हुँदै गएको बताउनुभयो । ‘आगामी दिनमा देशभरिकै स्थानीय तह, प्रदेश र केन्द्रले पनि विकासमा नयाँ र मौलिक मोडल दिएर देशमा विकास निर्माण र रोजगारी सिर्जना गर्न संभव छ भन्ने भाष्य स्थापित गर्न आवश्यक छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘स्थानीय समुदायको सहयोग र समर्थन लिएर राजनीतिक नेतृत्वले विकास लगायत हरेक क्षेत्रमा नमूना देखाउन आवश्यक छ । अबको प्रतिष्पर्धा यसमै हुनुपर्छ ।’ चितवनमा भौतिक पूर्वाधार र मानवीय विकास नमूनायोग्य रुपमा भइरहेको उल्लेख गर्दै उहाँले आफू पनि चितवनको नागरिक हुनुको नाताले गौरव महसुस भइरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले अब चितवन विस्तारै देशभित्र मात्र होइन, विश्व समुदायकै लागि पुग्नैपर्ने ठाउँको रुपमा स्थापित हुने बताउनुभयो । चितवनमा खेल पूर्वाधारका लागि पनि महत्वपूर्ण काम भइरहेको उल्लेख गर्दै उहाँले खेलप्रति देशव्यापीरुपमा देखिएको युवाहरुको क्रेजलाई सम्बोधन गर्न खेल पूर्वाधारमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । आफूले तीनपटक सरकारको नेतृत्व गर्दा जनताले प्रष्टसँग अनुभूति गर्नसक्ने गरी काम गरेको स्मरण गराउँदै  अध्यक्ष प्रचण्डले अब राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन र सुशासन स्थापित गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘मैले पहिलो कार्यकालमा मध्यपहाडी लोकमार्गको सुरुवात र गरीब किसानको ऋण मिनाह गर्ने निर्णय गरें भने दोस्रो कार्यकालमा लोडसेडिङमुक्त नेपालको निर्माण र संविधान कार्यान्वयनको वातावरण बनाएँ’– उहाँले भन्नुभयो– ‘तेस्रोपटक सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान सुरु गर्ने अवसर प्राप्त गरें ।’ एकथरि मान्छेहरुलाई यो अभियान मन नपरेर सरकार ढालिएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘म अहिले जनताको बीचमा छु, मुलुकमा स्थिरता र विकासको सपनासहित दौडिरहेको छु, आम जनताको साथ सहयोग प्राप्त हुँदै गएको छ । मलाई यो पटक प्रधानमन्त्री भएको बेलामा भन्दा जनताको बीचमा जाँदा सम्मान प्राप्त भएको छ ।’ भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले सम्बोधन गर्नुभएको थियो ।            

अध्यक्ष प्रचण्डद्धारा तमु ल्होसारको शुभकामना व्यक्त

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ ।  अध्यक्ष प्रचण्डले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायसहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले जनताको संघर्ष र बलिदानबाट समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरिएको बताउनुभएको छ । सबै समुदायको साझेदारीमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको उहाँले बताउनुभएको छ । यस्तो छ तमु ल्होसारको अवसरमा अध्यक्ष प्रचण्डले दिनुभएको शुभकामना सन्देश तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायसहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। तमुहरूको प्राचीन वर्षगन्तीको पात्रोअनुसार ऋतु परिवर्तन (पुष १५)को आधारमा नयाँ वर्षको गणना गर्ने परम्परा रहेको छ। प्रकृतिमा पाइने १२ वटा जीवजन्तुहरूको नामको आधारमा १२ वर्षीय चक्रको गन्ती गर्ने परम्पराअनुसार यस वर्ष सप्रिल्हो (सर्प वर्ग) पर्न गएको छ। प्राचीन भौतिकवादमा आधारित प्राकृतवादी चिन्तन प्रणालीका रूपमा यो पर्व विशेष महत्त्वपूर्ण रहेको छ। सांस्कृतिक परम्परामा धनी तमु समुदायले सदियौँदेखि आफ्ना रीतिरिवाज, परम्परा, र संस्कृतिको संरक्षण गर्दै आइरहेका छन्। तमु समुदायमा नयाँ वर्षको आगमनको उल्लासपूर्ण वातावरणमा मनाइने यो पर्वले यस समुदायको मौलिकता, परम्परा र सांस्कृतिक महत्त्वलाई झल्काउँछ। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो। यहाँको विविधता हाम्रो राष्ट्रिय सम्पत्तिमात्र नभई विश्व समुदायका लागि अमूल्य निधि हो। भाषा, संस्कृति, भेषभूषा र संस्कार हाम्रा जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भ हुन्। यस्ता सांस्कृतिक विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको महत्वपूर्ण दायित्व हो। जनताको संघर्ष र बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौँ। सबै समुदायको साझेदारीमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो। अन्त्यमा, यो पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, परस्पर सम्मानको भावना प्रगाढ बनाउन, राष्ट्रिय एकता र मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गरोस्। तमु ल्होसारको पुनः शुभकामना व्यक्त गर्दछु।

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । हिजो साँझ उहाँको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ।अध्यक्ष प्रचण्ड अहिले साझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिदै परिवारसित पनि भेट गर्नुभएको थियो । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उहाँको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए। सो क्रममा महासचिव किरणले  क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभयो । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गर्नुभयो । सो क्रममा दुबै जना भावुक पनि हुनुभएको थियो । अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी बिभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उहाँहरुले एकले अर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आउनुभएको छ।

अध्यक्ष प्रचण्डद्वारा बडी विल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई सम्मान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौं विश्व बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान गर्नुभएको छ । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा आज अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको कार्यक्रममा उहाँले सम्मान गर्नुभएको हो । शारीरिक सुगठन खेलको अन्तर्राष्ट्रिय महासंघ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडरेसनसँगको सहकार्यमा बडी बिल्डिङ एसोसिएसन अफ माल्दिभ्सले मालेमा आयोजना गरेको प्रतियोगितामा रजत प्राप्त गर्ने रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र सनम मुलगुठीले रजत पदक प्राप्त गर्नुभएको थियो । रुजेशले ६० केजी तौल समूह, प्रज्वलले ६५ केजी तौल समूह रजनी ५५ केजी तौल समूह र र मुलगुठी स्विम सुट समूहबाट खेलेर रजत प्राप्त प्राप्त गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकाले यस क्षेत्रको विकासमा आफ्नो पार्टीले अत्यधिक महत्व दिने गरेको बताउनुभयो । आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल पूर्वाधारको विकास र खेलाडीको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उहाँले खेल वैश्विक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । ‘नेपालमा विभिन्न विधाका खेल आयोजना गर्ने गरिएका छन् भने नेपाली खेलाडीहरुले विश्व तथा क्षेत्रीयस्तरका र विभिन्न देशसँगको प्रतिष्पर्धामा भाग लिएर देशको प्रतिष्ठा उँचो बनाउँदै आएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले खेलकुदलाई राष्ट्रको महत्वपूर्ण एजेण्डाको रुपमा अघि बढाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।’ आफूले खेलकुद र संस्कृतिको विकासलाई मानवीय विकासको महत्वपूर्ण पक्षको रुपमा लिने गरेको उल्लेख गर्दै उहाँले सबै पक्ष यी क्षेत्रको विकासमा संवेदनशील हुनुपर्ने बताउनुभयो । अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ले उज्यालो बाटोतिर लम्किरहेको खेल क्षेत्रको विकासमा सरकार र दलहरु गम्भीर बन्नुपर्ने बेला आएको बताउनुभयो । एकैपटक चार जना खेलाडीले रजत पद प्राप्त गराउने बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् नेपालका लागि महत्वपूर्ण विधा भएको उल्लेख गर्दै उहाँले यो खेलको संघलाई व्यवस्थित गर्न कार्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।      

लोकप्रिय