तराई-मधेशमा बहु चर्चित निर्वाचन: यस्तो छ ८ जिल्लाको चुनावी अवस्था

तराई-मधेशमा बहु चर्चित निर्वाचन: यस्तो छ ८ जिल्लाको चुनावी अवस्था

बहुचर्चित तराई मधेशमा आज तेश्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुन गईरहेको छ ।

काठमाँडौ, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले ८ वटै जिल्लामा तेस्रो चरणमा अझ बढी मत खस्ने दाबी गरेका छन । ‘तेश्रो चरणको चुनावमा बिगतको भन्दा बढी मतदान हुनेछ,’ उनले भने ।

निर्वाचन तयारी अनुगमनपछि आइतबार धनुषा जिल्ला अदालतमा सञ्चरकर्मीहरुसंग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले ८ वटै जिल्लामा वैज्ञानिक तरिकाले सुरक्षा व्यवस्था मिलाइएको बताए । ‘चुनावमा कुनै घटना भए तत्काल नियन्त्रणमा लिन निर्देशन गरेको छु,’ उनले भने ।

८ वटा जिल्लामा निर्वाचनको समग्र अवस्थाबारे कांतिपुर दैनिकमा प्रकाशित समाचार अनुसार,मध्यतराईका जिल्लामा स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको सम्बन्धित अधिकारीले जनाएका छन् । मतदान केन्द्र, मतपत्र, मतपेटिका, सुरक्षा व्यवस्थालगायत काम पूरा भएको छ ।

समाचारमा उल्लेख छ-
पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले सुरक्षाका हिसाबले तयारी पूरा भएको दाबी गरे । ‘सबै मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छ ।’

जिल्ला निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचनसम्बन्धी सबै प्राविधिक तयारी पूरा भइसकेको बताए । ‘जिल्लाका ३ सय ४४ सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ,’ उनले भने, ‘कर्मचारी, प्रहरी जनशक्ति र निर्वाचन सामग्री शुक्रबारै पुगिसकेका छन् ।’ एक मतदान केन्द्रमा आधा दर्जन कर्मचारी खटिएका छन् । महिला कर्मचारी वा महिला प्रहरीसमेतलाई सबै केन्द्रमा परिचालन गरिएको छ ।

पर्सामा २ लाख ८० हजार २ सय ११ मतदाता छन् । वीरगन्ज महानगरमा १ लाख ८ हजार ५ सय १ मतदाता छन् । महानगरमा मात्र १ सय २९ मतदान केन्द्र छन् । जिल्लाभरका मतदाताले ५ सय ८८ प्रतिनिधि चुन्नेछन् । महानगरको राधेमाई मन्दिर मतदान केन्द्रलाई नमुना मतदान केन्द्र बनाइएको छ । यो केन्द्रमा महिला कर्मचारी तथा महिलै सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला शिक्षा कार्यालयकी स्रोत व्यक्ति आशा गौतम मतदान अधिकृत छिन् ।

जिल्ला अदालतका ५ महिला कर्मचारी उनीसँगै खटिएका छन् । सुरक्षाकर्मी पनि अधिकांश महिला नै छन् । मतदान अधिकृत गौतमले पनि सम्पूर्ण तयारी पूरा गरिसकेको बताइन् । ‘यो जिल्लाकै नमुना मतदान केन्द्र हो,’ उनले भनिन्, ‘महिला पनि सबै काम गर्न सक्षम छन् भनी हामी प्रमाणित गर्नेछौं ।’

सर्लाहीमा पनि सोमबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतपत्र, मतपेटिकाजस्ता सामग्री मतदान केन्द्र पुर्‍याइसकिएको छ । मतदान केन्द्रमा महिला, पुरुष, अशक्त, अपांगता भएका व्यक्ति, वृद्धवृद्धालाई मतदान सहज हुने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले बताए ।

मतदान हुन एक दिन बाँकी रहँदा जिल्लाका कतिपय ठाउँमा अझै पनि मतदाता शिक्षा कार्यकर्ता पुगेका छैनन् । राजमार्ग क्षेत्रका सहज बजारमै पनि मतदाता शिक्षाका लागि नियुक्ति पाएका कार्यकर्ता घरघर नपुगेको गुनासो आएको छ । निर्वाचन आयोगले सञ्चार माध्यममार्फत गाउँ–गाउँमा मतदाता शिक्षा कार्यकर्ता खटिएको भनेर प्रचार गरे पनि मतदाताले भने अझैसम्म मत हाल्ने तरिका सिक्न पाएका छैनन् ।

मतपत्र लामो र ठूलो रहेकाले मतदान गर्दा बदर हुने सम्भावना रहेकाले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको भन्दै धेरैले असन्तुष्टि व्यक्त गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले खटाएको ठाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने स्वयंसेवकलाई कारबाही गरिने बताए ।

सुरक्षाका लागि ‘सीसी’ क्यामेरा

बारामा मतदानका लागि तयारी पूरा भएको छ । जिल्लाका १६ स्थानीय तहका मतगणनास्थलमा निगरानीका लागि सीसी क्यामरा जडान गरिएको छ । जिल्लामा ३ लाख ३४ हजार ७ सय ४६ मतदाता छन् । १६ स्थानीय तहमा ४ सय ५८ मतदान केन्द्र छन् । सबै केन्द्रमा सुरक्षा व्यवस्थापनलगायत तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

मतदान केन्द्रमा खटिएका झन्डै ३ हजार कर्मचारीले मतदान केन्द्रमा स्वस्तिक छाप हाल्ने गोप्य स्थान (बन्द घेरा), मतदातालाई लाइन राख्ने घेरा, बारलगायत तयारी गरेको उनले बताए । घेराका लागि बाँस, भट्टा, डोरीलगायत सामान कतै अभाव हुँदा केही कठिनाइ भए पनि सबै तयारी भइसकेको उनले बताए ।

बाहिर रहेका मतदाता घर फर्कने लर्काे आइतबार दिनभर देखियो । मतदाता परिचयपत्र करिब सबै बाँडिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनायो । कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिइसकेका छन् । मतपत्रहरू सबै मतदान स्थल पुगिसकेको छ । उता सुरक्षाका लागि सीमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।

रौतहटका गाउँ–गाउँमा चुनावी रौनक छ । मतदानको तयारीमा उम्मेदवार, पार्टीका कार्यकर्ता र सर्वसाधारणसमेत जुटेका छन् । दुई दशकपछि प्राप्त अवसर भएकाले उनीहरू जसरी हुन्छ, मतदान गर्न उत्साहित छन् । जिल्लाबाहिर रहेकाहरू फर्किसकेका छन् । सीमावर्ती जिल्ला भएकाले मतदाता सुरक्ष्ाँका लागि पर्याप्त व्यवस्था गरिएको छ । मतपत्र तथा मतपेटिका लिएर मतदान केन्द्रमा निर्वाचन कर्मचारी खटिएका छन् । सुरक्षाकर्मी तैनाथ छन् ।

अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पैदल गस्ती गरिरहेका छन् । गाउँ–गाउँमा सुरक्षाकर्मीको संख्या बाक्लो छ । मतदान केन्द्रमा खटिएका कर्मचारीले दिनभर मतदाता परिचयपत्र वितरण र अपराहनदेखि मतदान स्थलमा तारबार गर्न जुटे । जिल्लाकै सबैभन्दा बढी मतदाता तथा जनसंख्या रहेको र वडा संख्यासमेत बढी भएको चन्द्रपुर नगरपालिकामा पनि निर्वाचन तयारी पूरा भएको निर्वाचन अधिकृत कमल भण्डारीले बताए । जिल्लामा १६ नगरपालिका र २ गाउँपालिकामा निर्वाचन तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका १६ नगरपालिका र २ गाउँपालिका गरी १८ वटा स्थानीय तहमा १८ जना प्रमुख तथा उपप्रमुख निर्वाचित हुनेछन् । त्यस्तै, १ सय ५७ वटा वडामा वडाध्यक्ष, ६ सय २८ जना वडा सदस्य गरी जिल्लाभरमा स्थानीय तहमा ८ सय २१ जना पदाधिकारी निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्लाभरमा २ सय ७७ मतदान स्थल, ४ सय ३४ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा १ लाख ७५ हजार ६४ पुरुष र १ लाख ४५ हजार ९ सय ५४ महिला गरी ३ लाख २१ हजार २८ मतदाता छन् ।

बालिका घाइते

सर्लाहीको सीमावर्ती बलरामा आइतबार बिहान सुतली बम विस्फोट भएको छ । बलरा नगरपालिका २ हथिऔलको जमुनिया टोलमा भएको घटनामा बमको छर्रा लागेर १० वर्षीया रस्मिता सहनी सामान्य घाइते भएकी छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भइरहेको छ ।

बिहान ११ बजेतिर सुतली बम विस्फोट भएको इलाका प्रहरी गडहियाले जनाएको छ । बालबालिका खेल्ने क्रममा पसल अगाडि फेला परेको बेवारिस झोला उठाएर घर लान खोज्दा विस्फोट भएको स्थानीयले बताए । झोलामा ४ वटा बम रहेकामा तीन वटा सेनाले निष्क्रिय पारेको गडहियाका प्रहरी निरीक्षक रामराजा केशरीले जनाए ।

यसैगरी, पूर्वी तराईका महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा पनि तयारी पूरा भएको छ । सबै केन्द्रहरुमा सामग्रीसहित कर्मचारी पुगिसकेका छन् । आइतबार साँझसम्म मतदान केन्द्रहरुमा मतदाता लाम लागेर मतदानका लागि बस्ने स्थान बनाइएको छ ।

धनुषाका सबै मतदान केन्द्रमा तयारी पूरा भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । ‘कुनै पनि मतदान केन्द्रमा समस्या छैन,’ प्रहरी उपरीक्षक सिंहले भने, ‘उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।’ कर्मचारीले आइतबार साझसम्म मतदाता परिचयपत्र वितरण गरेका थिए । धनुषाका ३ सय २७ मतदान स्थलमा ५ सय १५ मतदान केन्द्रमा आइतबार साझसम्म तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका, १२ नगरपालिका र ६ गाउपालिकाबाट ९ सय २९ जनप्रतिनिधि चुनिनेछन् । परिचयपत्र लिन आएका मतदातामा निर्वाचनप्रति उत्साह देखिएको जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले बताइन् ।

काग्रेस–एमाले कार्यकर्ता झडप

धनुषाको नगराइन नगरपालिकामा शनिबार मध्यरात काग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । झडपमा नगराइन नगरपालिका ८ अकौरा टोलका ईन्द्रकुमार पासवान गम्भीर घाइते छन् । एमाले समर्थित उनको टाउको र मुखमा गम्भीर चोट छ । स्थानीय अरबिन्दकुमार पासवान पनि सामान्य घाइते छन् । दुवैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । नगराइनका कांग्रेस उम्मेदवार प्रमेश्वर यादव र उनका दुई छोरा महेन्द्र र काशिन्द्रसहित कार्यकर्ता आक्रमणमा उत्रिएको जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेका घाइते रविन्द्र पासवानले बताए ।

गाउँमा अबेर राति पैसा बाँड्न आउदा रोक्न खोजेपछि कार्यकर्ता बोलाएर आक्रमण गरेको पासवानले बताए ।

काग्रेस, धनुषाका सभापति रामसरोज यादवले भने राति १२ बजे आफ्नो घर मुखियापट्टी मुसहरनियाबाट टाटासुमोमा फुलगामा गइरहेका बेला पैसा बाँड्न आएको भन्दै करिब डेढ सयको संख्यामा रहेका स्थानीयले घेरा हालेर तोडफोड प्रयास गरेको बताए ।

प्रहरी तत्कालै आएकाले आफुहरु सुरक्षितसाथ फर्किएको उनले बताए । थप घटनाका विषयमा जानकारी नभएको उनले बताए । प्रमेश्वरमाथिको आरोप निराधार रहेको उनको दाबी छ ।

धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले भने घटना पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए ।

सुनसान जनकपुर

प्रचारप्रसारले दुई साता अस्तव्यस्त जनकपुर मौन अवधि सुरु भएपछि सुनसान छ । कामविशेषले सदरमुकाम जनकपुर रहेकाहरु गाउ फर्किएकाले बजारको चहलपहल घटेको छ । दुई दशकपछि हुन लागेको निर्वाचनमा मतदाता उत्साही देखिएका छन् ।

महोत्तरीमा पनि सबै तयारी पूरा भएको जलेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जिल्लाका १० नगर र ५ गाउँपालिकामा कर्मचारी व्यवस्थापनसहित सबै तयारी पूरा भएको बताए । उनका अनुसार कर्मचारी सम्बन्धित केन्द्रमा पुगिसकेका छन्, मतपत्र, मतदाता नामावली, मतपेटिका, सुरक्षा छापलगायत सामग्री पनि पुगिसकेको छ । ‘सबैजसो मतदान केन्द्रमा शुक्रबार थालिएको मतदाता परिचयपत्र वितरण अन्तिम चरणमा पुगेको छ,’ पोखरेलले भने, ‘बुथ निर्माण आइतबार सकिन्छ ।’

जिल्ला निर्वाचन अधिकृत पिंकी रायका अनुसार जिल्लाभर मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य गरि २ हजार ५ सय कर्मचारी परिचालन गरिएको छ । ४ सय १५ मतदान केन्द्र छन् । त्यसमध्ये जिल्लाका प्रमुख ३ नगरपालिका बर्दिवासमा ४८, जलेश्वरमा ४३ र गौशालामा ४१ मतदान केन्द्र छन् । यी तीन नगरपालिकामा ९६ हजार ५९ मतदाता छन् । यो संख्या जिल्लाको कुल मतदाताको एक तिहाई हो ।

जिल्लामा ७ सय २० पदका लागि हुने निर्वचनमा ४ हजारभन्दा बढी प्रतिस्पर्धामा छन् । सवै मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाईएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

तेस्रोलिंगी मतदाता एकजना

जिल्लाका १५ स्थानीय तहमा ३ लाख ८ हजार ४ सय ४ मतदाता छन् । यो संख्यामा एक जना तेस्रो लिंगी पनि छन् जो पहिलोपटक मतदानमा सहभागी हुदैछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार बर्दिवास ८ का ३१ वर्षीय बुद्धबहादुर आले जिल्लामा एक मात्र तेस्रोलिंगी मतदाता हुन् । जलेश्वरस्थित नीलहीरा समाजका कार्यक्रम संयोजक रामवरण यादव भने महोत्तरीमा ५ हजारभन्दा बढी तेस्राोलिंगी रहेको बताउँछन् । जिल्ला निर्वाचन कार्यालयका कारण आफुहरुको पहिचान गुमेको उनको गुनासो छ ।

मतदाता नामावली संकलनका बेला आफूहरुले ‘तेश्रोलिंगी’ लेखाए पनि नामावलीमा लिङ्गको ठाउमा ‘पुरुष’ वा ‘महिला’ भनेर आएपछि निर्वाचन कार्यालय पुगेर सच्याइदिन आग्रह गर्दा पनि सुनवाइ नभएको उनले बताए । ‘यो त हाम्रो परिचय नै होइन,’ यादवले भने, ‘संविधानमा उल्लिखित समानताको हकको निर्वाचन कार्यालयले उल्लंघन गर्‍यो ।’ संविधानमा लिंगका आधारमा कुनै विभेद हुनेछैन भनी उल्लेख भए पनि दलका मान्छेले समेत आफूहरुलाई उपेक्षा गरको उनको भनाइ छ । स्थानीय तह निर्वाचनमा टिकटका लागि दलहरुलाई आग्रह गर्दा पनि आफूहरु ‘तेश्रोलिङ्गी’ भएकै कारण नपाएको उनले बताए ।

सिरहामा पनि निर्वाचनको तयारी पूरा भएको छ । जिल्लाका ८ नगरसहित १७ स्थानीय तहका लागि मतदान हुँदैछ । ३ लाख ३२ हजार ८ सय ९४ मतदाता मतदानमा सहभागी हुँदैछन् । संवेदनशील मानिएका केन्द्रहरुमा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ र प्रहरी उपरीक्षक शेखर कोइरालालगायतको टोलीले आइतबार अवलोकन गरेको छ । सिरहामा २ सय २१ मतदानस्थल र ४ सय ३१ केन्द्र कायम छन् ।

मतदान अधिकृत हटाइए

मतदाता परिचयपत्र वितरणमा खटाइएका स्वयंसेवक करिब डेढ सय परिचयपत्रसहित फरार भएपछि राजविराज नगरपालिका १ चनौरा पडरिया मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन् । मतदाता परिचयपत्र वितरणका लागि जथाभाबी स्वयंसेवक राखेको भन्दै उनलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए । त्यहाँ नयाँ निर्वाचन अधिकृत पठाइएको उनले जनाए ।

पडरिया केन्द्रका मतदान अधिकृतले चिन्दै नचिनेका दुई युवकलाई परिचयपत्र वितरणमा खटाएका थिए । उनीहरु १ सय ४८ वटा मतदाता परिचयपत्र लिएर सम्पर्कविहीन भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । उनीहरुले लगेका मध्ये २१ वटा मतदाता परिचयपत्र भेटिएको सिंहले जनाए ।

जिल्लाका सबै मतदान केन्द्रमा आइतबार साझ सर्वदलीय बैठक भएको छ । निर्वाचन स्वच्छ, मर्यादिन र भयरहित बनाउन बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले जोड दिएका छन् ।

यसैबीच, सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको १५ नम्बर वडामा सोमबार मतदान नहुने भएको छ । उक्त वडामा राष्टिय जनता दलका तर्फवाट वडाध्यक्षको उम्मेदवार रहेका महन्थी यादवको शनिबार साझ मृत्यु भएकाले मतदान तत्कालका लागि स्थगन भएको हो । सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाका अनुसार उक्त वडामा कुन दिन मतदान गर्ने सन्दर्भमा आयोगसितको छलफलपछि टुंगो लाग्नेछ ।

जिल्ला निर्वाचन कार्यालय, सप्तरीका प्रमुख महेशकुमार ठाकुरले सबै केन्द्रमा तयारी पूरा भएको र विकट गोबरगाढा टापुमा समेत रबर बोटबाट कर्मचारी, सुरक्षाकर्मी र सामग्री पठाइएको बताए । हनुमाननगर कंकालिनी नगरपालिकामा पर्ने गोबरगाढा सप्तकोसी नदीको बीच भागमा पर्छ ।

आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड

ग्रामथान (मोरङ) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं, अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो ।’ गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै उहाँले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत संख्या बढाएर पूर्वले बिरोधीहरुलाई ठूलै जवाफ दिएको बताउनुभयो । ‘बिरोधीहरुले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ’– ‘उहाँले भन्नुभयो– ‘यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनैतिक महत्वको जीत हो ।’ उहाँले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि उहाँले गराउनुभयो । उहाँले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताउनुभयो । देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गर्नुभयो । ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं’– उहाँले भन्नुभयो– ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाइँहरुसमक्ष आएका छौं, तपाईहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।  आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दैे– ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौं भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि ग¥यौं ।’ आफूले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै सरकारले उनै कुलमानलाई निकाल्न खोजेको भन्दै आपत्ति व्यक्त गर्नुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको स्पष्ट गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्वपूपूर्ण काम अघि बढाइएको बताउनुभयो । ‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पनि आधार तयार गरेको छ।’ सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गर्नुभयो । सरकारबाट बाहिरिएपछि आफूहरुले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिंदै उहाँले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेको बताउनुभयो । ‘अहिले यहाँसम्म आउँदा पार्टीमा अभूतपूर्वक एकता कायम भएको छ । परामर्श बैठकपछि देशभरिका नेता कार्यकर्ताले विचार र नेतृत्वको केन्द्रिकरणमा जोड दिएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जनताले पनि हामीले गरेका र गर्न खोजेका राम्रा काम तथा अहिलेको एमालेले गरेको नराम्रा कामलाई हेरेर जनताको आशा र भरोसा हामीतिर बढेको छ । भर्खरैको उपनिर्वाचनले प्रष्टरुपमा यो नतिजा दिइ पनि सकेको छ ।’ उहाँले माओवादीनिकटका कर्मचारीहरुलाई माओवादीपन देखाउन आग्रह गर्दै भन्नुभयो– ‘अन्यायमा नझुक्ने, अन्याय नगर्ने, आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारका विरुद्ध कठोर रुपमा प्रस्तुत हुने, पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई बल पुर्याउँदै समाजवादको भ्रुण रोप्ने फौजको रुपमा तपाइँहरु अघि बढ्नुपर्छ । यसमा दृढतापूर्वक अघि बढ्नुहोला ।’ गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । उपनिर्वाचनमा माओवादी केन्द्रले पालिका अध्यक्ष जितेपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रो पटक यो पालिकामा आउनुभएको हो ।

मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु (तस्विरहरु)

ग्रामथान (मोरङ), ५ माघ । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ ।  नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो ।  सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।  २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यसपटक ग्रामथानबासीले पहिलो बनाएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रोपटक यो पालिकामा आउनुभएको हो । 

विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्‌को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्‌को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।

आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन

काठमाडौं ।  विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।  बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ ।  दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।  यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो ।  यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो । 

लोकप्रिय