धुवाँ–धुलोबाट बच्नका लागि कस्तो चस्मा उपयुक्त हुन्छ ?
चैतको हावाहुरीले राजधानीका सडक धुलाम्मे भएृका छन् । सडकमा हिंड्ने जो कोहिलाई यसले समस्या पारेको छ। धुलोबाट संबेदनशील अंग आँखालाई बचाउन चस्माको प्रयोग गर्नु अत्यावश्यक भएको छ।
धुलो मात्रै नभई घामको विकीरणबाट पर्न सक्ने असरलाई समेत चस्माले न्यूनीकरण गर्दछ। आँखाको सुरक्षा मात्र नभई चस्माले सुन्दरता बढाउन पनि उत्तिकै भुमिका खेल्छ।
गर्मी तथा धुवाँधुलोबाट आँखालाई जोगाउन कालो चस्माको प्रयोग उपयोगी मानिन्छ। सामान्यतया चस्माले आँखालाई धुलो, धुँवा, किटाणुबाट बचाउन मद्दत गर्छ। त्यसमा पनि कालो चस्माले आँखा बिगार्ने अल्ट्रा भाइलेट विकीरणबाट समेत सुरक्षा दिने चिकित्सक बताउँछन् ।
चिकित्सकका अनुसार चस्माको प्रयोग गर्दा आँखामा अल्ट्राभाइलेट रेको प्रभाव कम हुने र मोतिविन्दु तथा ढकनीको झिल्लीमा हुने क्यान्सर समेत घटाउन मद्दत पुग्दछ। बढि घाम हुने भएकै कारण तराईमा मोतिबिन्दु हुनकोे औसत उमेर ४० वर्ष र पहाडमा ५५ वर्ष। आँखा रोग विशेषज्ञ डा। अजितमान श्रेष्ठ जति गर्मी र घाम बढछ उति धेरै कालो चस्मा उपयोगी हुने र प्रयोग गर्नुपर्ने सुझाउँछन् ।
त्यस्तै हिउँ, पानीको सतह, घाम लागेको स्थान लगायत बढी चमक आउने स्थानमा चस्माको प्रयोगले हेर्न सहज बनाउनुका साथै अन्य जोखिमपूर्ण क्षेत्रमा काम गर्दा आँखालाई चोटपटक लाग्नबाट समेत जोगाउने गर्छ।
नेपाली बजारमा फरक मूल्यका रेबन, पोलिस, भोउग, ओकले, गुसी जस्ता विश्व बजारका चर्चित ब्राण्डका चस्माहरु किन्न पाइन्छ। तर माथि उल्लेखित ब्राण्ड मध्ये नेपाली माझ रेबन बढी चर्चित छ। जसको ओर्जिनल चस्माको बजार मूल्य ५ हजार देखि २५ हजारसम्म पर्ने गर्दछ।
अन्य ब्राण्डका चस्मा केही आधिकारीक पसलले मात्र सम्बन्धित कम्पनीबाट ल्याउने हुनाले तिनमा उपभोक्ता ठगिने सम्भावना न्युन रहन्छ। तर नेपालमा रेबन लेखेका चस्मा फुटपाथ देखि महँगा पसलहरुसम्म पाइने गर्छ। जसमा नक्कली र सक्कली छुट्याउन नसक्दा ग्राहक ठगिने गरेका छन्।
दरबारमार्ग स्थित ‘अपसन्स’ पसल सञ्चालन गर्दै आएका अनुज शाक्यका अनुसार नेपाली बजारमा चीन तथा इटालीबाट चस्मा भित्रिने गर्छ। जसमा इटालीबाट आयात हुने चस्मा आधिकारिक ब्राण्डको विक्रेता मार्फत सोझै ल्याइएको हुन्छ। चीनबाट आयात हुने चस्मामा ब्राण्डेड नाम राखेर बनाइन्छ र ग्राहक झुक्याउन ‘मेड इन इटाली’ वा ‘मेड इन युएसए’ भनेर बेचिन्छ।
उनले भने, ‘नेपालमा क्रेज बढे पनि ओर्जिनल चिन्न नसक्दा हाल ७० प्रतिशत मानिस चस्मा किन्ने क्रममा ठगिने गरेको पाएको छु, गुणस्तरमा भन्दा मूल्यमा ध्यान दिने तथा जस्तो पायो त्यस्तै पसलमा चस्मा किन्नाले अधिकाशं मानिस ठगिने गरेका छन्।’
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका ४० वर्ष भन्दा मुनिका ४० प्रतिशत तथा ४० वर्ष नाघेका सबै मानिसलाई चस्माको आवश्यकता पर्दछ।
कसरी चिन्ने ओर्जिनल चस्मा ?
व्यवसायीहरुका अनुसार चस्मा किन्नु भन्दाअघि त्यो प्लास्टिक वा पोलाराइज्ड युभी ग्लास के बाट बनेको भन्ने कुरामा चनाखो हुनुपर्र्छ। त्यस्तै किन्न लागेको चस्माको स्टिकर वा लोगो हेर्ने, ‘ग्लास स्टिकर’मा चस्मालाई परीक्षण गर्ने र ‘ब्राण्ड कन्सेप्ट’ तथा ‘जेन्यून’ ठाउँमा किन्ने गर्नुपर्दछ।
चिकित्सक श्रेष्ठका अनुसार घाम बढी लागेको समयमा आँखाको नानीको आकार तथा व्यास सानो हून्छ। यस्तोमा कमसल चस्मा प्रयोग गर्दा आँखामा अँध्यारोपन बढ्न जान्छ र त्यसले नानी वरपरको व्यास ठूलो बनाउँछ। कमसल तथा नबुझी किनेका चस्मा लगाउँदा आँखाको नानी र पर्दासम्म बढी प्रकाश पुग्ने र त्यसले व्यास ठूलो बनाउने तथा सूर्यको किरणलाई फिल्टर गर्न नसक्ने हुन्छ। यसको कारण हानिकारक प्रकाश भित्र छिरेर आँखालाई झन् नराम्रो असर पुर्याउने गर्छ।
कसरी छान्ने आफूलाई सुहाउने चस्मा ?
चस्माले मानिसको व्यक्तित्वको पहिचानमा पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ। चस्माको बनोट र अनुहारको आकार अनुसार चस्मा छान्नु पर्छ।
दृष्टी विशेषज्ञ किशोर सापकोटाका अनुसार व्यक्तिलाई कस्तो फ्रेम भएको चस्मा सुहाउँछ भन्ने कुरा अनुहारको बनोट, छालाको रङ तथा कपालको शैलीमा निर्भर हुने गर्छ। उनको भनाइमा चारपाटे वा गोलो अनुहार भएका व्यक्तिलाई ‘रेक्टेन्गुलर’ तथा लाम्चो अनुहार भएका व्यक्तिलाई बढी चौडा भएको चस्मा प्रयोग गर्दा सुहाउँछ।
उनका अनुसार लाम्चो ९ओभल० आकारको अनुहार भएका व्यक्तिलाई भने प्राय सबै खाले फ्रेमको चस्मा सुहाउने गर्छ। त्यस्तै नाक लामो भएका व्यक्तिलाई लेन्सको बीचको भाग अलि छोटो तथा नाकको तल्लो भागमा अडिने खालको र छोटो नाक भएकाहरुलाई नाकको शिरानमै अडिने खालको चस्मा सुहाउने गर्छ।
चस्माको माथिको भाग र प्रयोगकर्ताको आँखीभौं समानान्तर नभएमा चस्माले आखीँभौं नै ढाक्ने खालको हुनुपर्दछ। कपाल खौरिएको वा छोटो भएका व्यक्तिलाई मसिनो वा हलुका फ्रेम आकर्षक हुन्छ भने लामो कपाल भएकाहरुलाई मध्यम स्तरको फ्रेम र ठिक्क कपाल हुनेहरुलाई ठूलो र गाढा फ्रेमको चस्मा प्रयोग गर्दा सुहाउने उनी बताउँछन्। एजेन्सीको सहयोगबाट
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।” दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् ।
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।
वीरगन्जमा ९३ जनामा देखियो हैजा
पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।
विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

