नेपालमा कुन कुन चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री आए त ?
चिनियाँ विदेशमन्त्री वाङ यीले आगामी आइतवारदेखि मंगलवारसम्म नेपालको भ्रमण गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले परारष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निम्तोमा उनी नेपाल आउन लागेको पुष्टि गरेका छन्।
मन्त्रालयले शुक्रवार एक वक्तव्य जारी गर्दै उनले नेपाल भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने जनाएको छ।
उनी पाकिस्तानको भ्रमण सकेर नेपाल आउने बताइएको छ।
उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको तयारीका रूपमा पनि हेरिएको छ।
पछिल्ला वर्षहरूमा नेपालले चीनबाट उच्च पदाधिकारीहरूलाई नेपाल भ्रणम गराउन पहल गरिरहेको तर सफल हुन नसकेको कतिपय कूटनीतिक क्षेत्रका जानकारहरूले बताउने गरेका छन्।
अहिलेको सरकारले पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन पहल गरिरहेको र त्यो उसका लागि एउटा कूटनीतिक परीक्षा नै हुने कूटनीतिज्ञहरूको मत छ।
हालका वर्षहरूमा चीनबाट नेपालमा उच्च स्तरीय भ्रमण हुने खबरहरू बारम्बार सार्वजनिक हुने गरे पनि सन् २०१२ मा भएको चीनियाँ प्रधानमन्त्रीको संक्षिप्त नेपाल भ्रणमपश्चात् त्यो तहमा भ्रमणहरू हुन सकेका छैनन्।
राष्ट्रपति तहमा भने पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रणम गरेका थिए।
परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुई जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप-प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन्।
नेपालबाट भने त्यसबेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पठक चीन भ्रमण भइसकेको छ।
उपराष्ट्रपति र उपप्रधानमन्त्री तहमा पनि धेरै पटक भ्रमण भएको परराष्ट्र मन्त्रालयको विवरणमा देखिन्छ।
नेपाल-चीन दौत्य सम्बन्ध
नेपाल-चाइना सोसाइटीले प्रकाशित गरेको हिरण्यलाल श्रेष्ठद्वारा लेखिएको पुस्तक ‘सिक्स्टी इयरस् अफ डाइनामिक पार्टनरशिप’का अनुसार नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा काठमाण्डूमा दौत्य सम्बन्ध स्थापित भएको हो (पृ. ११)।
पञ्चशीलका आधारमा दुई देशबीच सम्बन्ध स्थापित भएको श्रेष्ठले लेखेका छन्।
उक्त पुस्तकका अनुसार नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापना गर्ने सम्झौतामा नेपालका तर्फबाट तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुञ्जमान सिंह तथा चीनको तर्फबाट राजदूत युआन जोङ्सियाङले हस्ताक्षर गरेका थिए।
नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने चीन पाँचौँ देश थियो भने चीनसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल २२ औँ देश बनेको थियो।
दौत्य सम्बन्ध स्थापनापश्चात् दुवै मुलुकले राजदूतावास स्थापना गरेका थिए।
महेन्द्रको राज्याभिषेकमा चिनियाँ उप-प्रधानमन्त्री
विभिन्न पुस्तकमा लेखिए अनुसार सन् १९५६ मेमा काठमाण्डूमा भएको राजा महेन्द्रको राज्याभिषेकमा चीनबाट त्यसबेलाका उप-प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए।
श्रेष्ठको पुस्तकमा तत्कालिन चिनियाँ उप-प्रधानमन्त्री वु लाङ्फुले नेतृत्व गर्दै चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको उल्लेख छ।
त्यस्तै टीआर घोबलेको पुस्तक ‘चाइना-नेपाल रिलेसन्स एन्ड इन्डिया’मा पनि त्यसलाई पुष्टि गरिएको छ (पृ. १७८)।
उक्त भ्रणमले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा नयाँ युग सुरु गरेको श्रेष्ठले लेखेका छन्।
लाङ्फुले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा अघि बढाएको पाइलाका लागि सहयोग गर्ने वचन दिएको पुस्तकमा लेखिएको छ।
त्यसै वर्षको सेप्टेम्बरमा नेपालका तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीनको भ्रणम गरेका थिए।
उनलाई चीन भ्रणम गर्ने पहिलो नेपाली प्रधानमन्त्री पनि भन्ने गरिन्छ।
टीआर घोबलेको पुस्तक ‘चाइना-नेपाल रिलेसन्स एन्ड इन्डिया’मा नेपाल र चीनबाट भएका भ्रणमहरूको विवरण दिइएको छ
चिनियाँ प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण
टंकप्रसाद आचार्य चीन भ्रमणमा गएका बेला त्यसबेलाका प्रधानमन्त्री चाउ एनलाईलाई नेपाल भ्रमणको निम्तो दिएर फर्केको इतिहासकारहरूले लेखेका छन्।
आचार्यको भ्रमणलगत्तै सन् १९५७ ज्यानुअरी २५ देखि २९ सम्म चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए।
त्यसबेलाको संयुक्त वक्तव्यलाई उदृत गर्दै श्रेष्ठले यस्ता भ्रमणहरूको आदानप्रदानले नेपाल र चीनबीचको मित्रता थप सुदृढ हुने सन्देश त्यसमा रहेको लेखेका छन्।
कतिपय अध्येताहरूका अनुसार तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाई नेपालसँग सीमालगायतका समस्याहरू समाधान गर्न सन्धि गर्न चाहन्थे।
उनले सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थपानापश्चात् देखि नै त्यसका लागि कुराकानी अघि बढाएको नेपाल-चीन सम्बन्धबारे अध्ययन गर्नेहरूले लेखेका छन्।
चाइना क्वाटर्ली अफ इन्टरन्याशनल स्टर्टेजिक स्टडिज्मा गत वर्ष प्रकाशित एउटा लेखमा चीनमै विद्यावारिधि गर्दै गरेका एकजना नेपाली बुद्धिप्रसाद शर्माले पनि चाउ एनलाईको उक्त मनसाय रहेको लेखेका छन्।
उनले चीनका लागि तत्कालीन भारतीय राजदूत के एम पणिक्करलाई उदृत गर्दै लेखेका छन्, “चीन, भारत र नेपालबीचको त्रिपक्षीय बैठकका क्रममा उनले ….पाणिक्करसँग सीमा विवाद र अन्य मुद्दाहरूको समाधानका लागि आपसी समझदारी र विश्वासका साथ कोशिस गर्ने कुराकानी गरेका थिए।”
सन् १९५५ मा भएको वाङ्दुङ सम्मेलनमा सहभागी हुन गएको नेपाली प्रतिनिधिमण्डलसँग उनले दौत्य सम्बन्ध स्थापनाका लागि प्रस्ताव गरेको र त्यो प्रस्तावलाई नेपाली प्रतिनिधमण्डलले स्वीकारेको पनि उनले लेखेका छन्।
शान्ति तथा मैत्री सन्धि
नेपालको पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमण गरेको नेपाल र चीन सरकारका कतिपय आधिकारिक सरकारी वेबसाइटहरूमा उल्लेख छ।
त्यसबेला उनले चाउ एनलाईलाई नेपाल भ्रणमको निम्तो दिएर नेपाल आएका थिए।
त्यस लगत्तै सन् १९६० को एप्रिल २६ देखि २९ सम्म चाउ इनलाईले दोस्रो पटक नेपालको भ्रमण गरे।
उनले त्यसबेला नेपाली संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन पनि गरेको श्रेष्ठले लेखेका छन्।
त्यसै क्रममा एप्रिल २८ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो।
उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए।
सीमा सन्धि
त्यस अघि नै कोइरालाको चीन भ्रमणका बेला नेपाल र चीनबीच सीमा सम्बन्धी सम्झौता भएको थियो।
सन् १९६० मार्च २१ मा कोइराला र चाउ एनलाईले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।
श्रेष्ठका अनुसार उक्त सम्झौता हुनुपूर्व मार्च १८ मा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले त्यसबारे कोइरालासँग छलफल गरेका थिए (पृ. १५)।
उक्त छलफलमा माओत्सेतुङले “नेपाल र चीनबीचको सीमा सधैँ शान्ति र मैत्रिपूर्ण हुनुपर्छ” भनेको श्रेष्ठले लेखेका छन्।
सोही सम्झौता अनुसार नेपाल र चीनबीचको सीमाको टुङ्गो लगाउन दुवै देशका विज्ञहरू रहेको समूह बनाइएको श्रेष्ठले लेखेका छन्।
उक्त समूहले नेपाल-चीन सीमा सन्धिको मस्यौदा तयार पारेको र त्यसलाई सन् १९६१ अक्टोबर ५ मा राजा महेन्द्रको चीन भ्रमणका बेला राष्ट्र प्रमुखहरूले हस्ताक्षर गरेको उक्त पुस्तकमा लेखिएको छ।
उक्त सन्धिले नेपाल र चीनबीच रहेको सीमा समस्या हल गरेको कूटनीतिज्ञहरूले बताउने गरेका छन्।
त्यसपछिका भ्रमणहरू
नेपाल र चीनसँग दौत्य सम्बन्ध स्थापना भएका बखतमा दुवै देशबीच उच्च तहमा भ्रमणहरू तीव्र भएको देखिन्छ।
त्यसपछि पनि नेपाल र चीनबीच उच्त तहमा भ्रमणहरू निकै हुने गरेका छन्।
तर जति मात्रामा नेपाली उच्च अधिकारीहरू चीनको भ्रणममा जान्छन् त्यस्तै मात्रामा चीनबाट भने भ्रमण हुन नसकेको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन्।
पछिल्लो पटक भएका चिनियाँ उच्च पदाधिकारीहरूको भ्रमणहरू पनि संक्षिप्त हुने वा बाटो पर्दा मात्र नेपालमा अवतरण गर्ने गरेको कतिपयको आरोप रहने गरको छ।
‘इकोनोमिक एन्ड कमर्शियल कन्सुलर्सस् अफिस अफ दि एम्बेसी अफ द पिपुल्स रिपब्लिक अफ चाइना इन फेडरल डेमोक्याक्ट्रिक रिपब्लिक अफ नेपाल’ नामक संस्थाका अनुसार राजा महेन्द्र र विरेन्द्र दुवैका राज्याभिषेकमा चीनबाट उच्चस्तरीय भ्रणम भएका थिए।
कूटनीतिज्ञहरू तथा लेखकहरूले लेखे अनुसार नेपालले चीनसँग सुरुदेखि हालसम्म पञ्चशीलकै आधारमा सम्बन्ध राखेको देखिएको छ।
हरेक उच्चस्तरका भ्रमणहरूमा दुवै देशले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलमा जोड दिने गरेको उनीहरूले लेख्ने गरेका छन्।
बिबिसी नेपालीबाट साभार
नेपाली समाज यूएईद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न
दुबई ।नेपाली समाज यूएईले गत आइतबार दुबईस्थित अरबियन कोर्टयार्ड होटलको द बोधी लाउन्ज हलमा सार्वजनिक भाषण, माइन्युट लेखन तथा आधारभूत पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ। नेपाल पत्रकार महासंघ यूएई शाखाको समन्वयमा आयोजित उक्त तालिममा यूएईमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाका सचिव तथा महासचिवहरूलाई लक्षित गरिएको थियो। आयोजकका अनुसार तालिमको उद्देश्य सामाजिक अभियन्ताहरूको नेतृत्व, सञ्चार र व्यक्तित्व विकासमा योगदान पुर्याउनु हो। कार्यक्रममा अनुभवी प्रशिक्षक निमेश गिरी, लक्ष्मण खनाल र मेघराज सापकोटाले प्रशिक्षण प्रदान गरेका थिए। तालिममा ७० भन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूलाई आरम्भ लाइफजेन स्पिच हब प्रा. लि. तर्फबाट प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। तालिममा सहभागी स्याङ्जा समाजका बिष्णु गैरेले आफुहरुले तालिमबाट धेरै कुरा सिक्न पाएको बताए। एनआरएनए यूएईकी उपाध्यक्ष शोभा शर्माले पब्लिक स्पिकिंग तालिमले आफुलाई बोल्न आत्मबल मिलेको भन्दै आयोजकलाई धन्यबाद दिएकी छिन्। पार्षद अध्यक्ष कमल गिरीले निकट भविष्यमा अझ बृहत तालिम कार्यक्रमको आयोजना गर्ने बताए । कार्यक्रम आवश्यक र महत्वपूर्ण रहेछ भन्ने महशुस भएको र छिट्टै नै अर्को कार्यक्रमको आयोजना गरिने भन्दै नेपाल पत्रकार महासंघलाई सहयोगको लागि धन्यबाद दिए। नेपाली समाजका सल्लाहकार गोबिन्द ढकालले तालिममा सिकेको कुरा कार्यन्वयनमा ल्याउन जोड दिए। नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानले यूएईमा सामाजिक संस्थाहरूको सक्रियता बढ्दै गइरहे पनि व्यक्तित्व विकास र सञ्चार सीप अभाव महसुस भएको बताए। उनले भविष्यमा अझ व्यापक र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उल्लेख गरे।
उत्तरपूर्वी जापानमा ७.५ को शक्तिशाली भूकम्प : ३० जना घाइते, ९० हजारलाई सुरक्षित स्थानमा जान आग्रह
एजेन्सी – सोमबार राति उत्तरपूर्वी जापानमा गएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३० जना घाइते भएका छन् भने करिब ९० हजार बासिन्दालाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जानुपरेको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार, भूकम्प स्थानीय समयअनुसार राति ११:१५ बजे आओमोरी क्षेत्रको तटबाट करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा केन्द्रित थियो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो, जुन अहिले हटाइएको छ। यद्यपि, ७० सेन्टिमिटर (२७ इन्च) सम्मका छालहरू देखिएका थिए। भूकम्पका कारण केही रेल सेवाहरू स्थगित भएका छन् भने हजारौँ घरहरूमा बिजुली आपूर्ति बन्द भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार, अधिकारीहरूले आगामी दिनहरूमा अझ शक्तिशाली कम्पन आउन सक्ने चेतावनी दिँदै कम्तीमा एक हप्तासम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। रोयटर्स समाचार एजेन्सीका अनुसार, करिब ९०,००० बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो। आओमोरी प्रिफेक्चर सरकारले करिब २,७०० घरमा बिजुली आपूर्ति बन्द भएको बताएको छ। पूर्वी जापान रेलवेले पनि उत्तरपूर्वी तटमा केही सेवाहरू स्थगित गरेको छ। मन्त्रिपरिषद्का सचिव मिनोरु किहाराका अनुसार, जापानी सरकारले प्रधानमन्त्रीको संकट व्यवस्थापन केन्द्रभित्र एउटा प्रतिक्रिया कार्यालय स्थापना गरी आपत्कालीन टोली बोलाएको छ। उनले थपे, ‘हामी उद्धार र राहत कार्यहरू सहित क्षतिको आकलन गर्न र आपत्कालीन विपद् प्रतिक्रिया उपायहरू लागू गर्न हरसम्भव प्रयास गरिरहेका छौं।’ कम्पनपछि जापानी बिजुली कम्पनी तोहोकु इलेक्ट्रिक पावरले आफ्ना हिगाशिदोरी र ओनागावा आणविक ऊर्जा केन्द्रहरूमा भूकम्पको परिणामस्वरूप कुनै अनियमितता रिपोर्ट नगरिएको बताएको छ। जापानी अधिकारीहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई निष्क्रिय पारिएको फुकुशिमा आणविक ऊर्जा केन्द्र स्थलमा पनि कुनै समस्या नदेखिएको जानकारी दिएका छन्। स्मरण रहोस्, सन् २०११ को मार्च ११ मा देशको पूर्वी तटमा आएको ९.० म्याग्निच्युडको भूकम्पले फुकुशिमामा क्षति पुर्याएको थियो। जापानमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको उक्त भूकम्पले सुनामी निम्त्याएको थियो, जसले होन्शुको मुख्य टापुमा १८,००० भन्दा बढी मानिसको ज्यान लिएको थियो।
नखिल गोर्खा फुटबल क्लबले जित्यो दोस्रो ज्योलुकास एक्सचेन्ज धरान हेल्पिङ ह्याण्ड्स कप–२०२५
दुबई । दोस्रो ज्योलुकास एक्सचेन्ज धरान हेल्पिङ ह्याण्ड्स फुटबल प्रतियोगिता–२०२५ को उपाधि अबुधाबीस्थित नखिल गोर्खा फुटबल क्लबले हात पारेको छ। धरान हेल्पिङ ह्याण्ड्स र धरान युनाइटेड क्लब यूएईको संयुक्त आयोजना तथा यूएई नेपाली फुटबल संघ (UNFA) को संयोजनमा दुबईको डल्सको खेल मैदानमा सम्पन्न फाइनल खेलमा नखिल गोर्खाले ग्रीन सिटी इलामलाई २–० गोलले पराजित गर्दै च्याम्पियन बनेको हो। यूएईको नेपाली समुदायमा सबैभन्दा ठूलो पुरस्कार राशी राखिएको प्रतियोगितामा विजेता नखिल गोर्खाले ८ हजार ४ सय ११ दिराम र उप–विजेता ग्रीन सिटी इलामले ४ हजार चार सय ११ दिराम प्राप्त गरे । त्यसैगरी धरान युनाइटेड एफसी ले फेयर–प्ले अवार्ड हासिल गर्यो । विशेष सम्मान र पुरस्कार वितरण विजेता–उपविजेता टोलीलाई ट्रफी तथा पुरस्कार प्रदान गरिएको कार्यक्रमको विशेष आकर्षणको रूपमा यूएईमा नेपाली फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्याउने १२ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूमा UNFA अध्यक्ष अनिल शेर्पा, संरक्षक मुक्ति गुरुङ र कूल लेप्चा, वरिष्ठ खेलाडी राजु तमाङ, पूर्व राष्ट्रिय खेलाडी सुरज बिक, कप्तान सुमन लिम्बु, क्लब हेड स्विकार राई, मानधोज आले, खेमनसिंह गुरुङ, गुप्त शेखर पौडेल, अजय मगर र डुर्गा बहादुर थापा रहेका थिए। व्यक्तिगत पुरस्कारतर्फ ग्रीन सिटी इलामले उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट प्रशिक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिडफिल्डर र बेस्ट स्ट्राइकर का उपाधि जित्यो। यस्तै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, बेस्ट म्यानेजर र बेस्ट डिफेन्डर उपाधि पनि सम्बन्धित खेलाडीहरूले प्राप्त गरे। यूएईका विभिन्न नेपाली व्यवसायिक संस्थाहरूको सहयोगमा सम्पन्न प्रतियोगिता आगामी वर्ष पनि निरन्तरता दिइने आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार, प्रतियोगिताले यूएईमा नेपाली खेलकुद, प्रतिभा पहिचान, समुदायिक एकता र फुटबल उत्साह बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
नेपाली दुतावास अबुधावीबाट श्रम स्विकृति प्रदान गरिने
फडिन्द्र ढकाल, अबुधावी । श्रम स्विकृति नलिईकन यूएई पुगेका नेपाली श्रमिकहरूलाई बैधानिक प्रक्रियामा समेट्न नेपाली दूतावास अबुधावीले जुलाई १९ शनिबार देखि स्विकृति प्रदान गर्न सुरु गरेको छ । सन् २०२४ सेप्टेम्बर २४ सम्म कुनै पनि भिसामा यूएई पुगेर कामदार भिसामा परिबर्तन भएका श्रमिकहरूले यो सेवा लिन सक्ने दूतावासका काउन्सिलर दिपेन्द्र पौडेलले बताए । ‘दूतावास स्तरीय श्रम बैधानिकीकरण सेवा’ नाम दिइएको यो कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार नियमित रूपमा सञ्चालन हुनेछ । सेवाको पहिलो दिन गत शनिबार १९ जुलाईमा श्रमिकहरूको दूतावासमा उपस्थिति देखिन्थ्यो । उनीहरूलाई श्रम काउन्सिलर पौडेल र श्रम सहचारी पंकज लाभकर्णले आवश्यक जानकारी प्रदान गरे । मिठो व्यवहार र मिठाइले गर्दा सेवाग्राहीहरुमा सकारात्मक सन्देश प्रवाह भएको थियो । दूतावासका अनुसार सेवा प्रारम्भ गर्न करिब पाँच महिना अघि नै तयारी थालिएको थियो । तर प्राविधिक पक्षमा केही ढिलाइ हुँदा गत शनिबार देखि मात्रै औपचारिक रूपमा सेवा सुरु गरिएको हो । यो सेवाबाट यूएईमा रहेर श्रम स्वीकृति नलिएका नेपाली श्रमिकहरू लाभान्वित हुनेछन् । सेवा प्रकृयाः • सामाजिक सुरक्षा कोष र बीमा शुल्क श्रमिकले स्वयं तिर्नुपर्नेछ । • आवश्यक फारमहरू भरे पछि बायोमेट्रिक प्रक्रियाको लागि दूतावासमा उपस्थित हुनुपर्नेछ। • सेवा पूर्णतः निःशुल्क परामर्शमुखी हुनेछ । श्रम काउन्सिलर पौडेलका अनुसार सेवा केवल कागजी प्रक्रिया पूरा गर्न नभई श्रमिकमा कानुनी अधिकार र कर्तव्यबारे चेतनाअभिवृद्धि गर्ने लक्ष्य सहित ल्याइएको हो । “काम गर्ने कम्पनी, तलब, र कार्यस्थलको अवस्था बुझेरै मात्रै प्रक्रिया अघि बढाउन सकिन्छ,” उनले भनेका छन् । कम्पनी छाडेर अलपत्र परेका, पासपोर्ट नभएका श्रमिकलाई ट्राभल डकुमेन्टको माध्यमबाट सहयोग गर्ने प्रबन्ध पनि गरिएको छ । दूतावासले थप स्पष्ट पारेको छ कि श्रमिक समस्यामा परेमा तुरुन्तै दूतावास, श्रम मन्त्रालय, वा यूएईको श्रम मन्त्रालयको हेल्पलाइन ८००८४ मा सम्पर्क गर्न सकिन्छ । साथै, कसैले बिरामी भएको देखिएमा प्रहरी ९९९ मा तुरुन्त खबर गर्नुपर्ने जानकारी दिइएको छ । रक्सी सेवन, झगडा, सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी जस्ता गतिविधि यूएईको कानुन अनुसार आपराधिक मानिने भएकोले सतर्क रहन आग्रह गरिएको छ । साप्ताहिक कार्यक्रमको निरन्तरता श्रम सहचारी पंकज लाभ कर्णका अनुसार सरकारले दिएको जिम्मेवारीअनुसार बिदा नभनी निरन्तर सेवा दिने प्रतिबद्धता दूतावासले लिएको छ। हालसम्म केही अलपत्र श्रमिकलाई सेवा उपलब्ध गरिएको छ । यसगैरी गत हप्ता दुबई प्रहरीसँगको सहकार्यमा श्रमिकका लागि जनचेतना कार्यक्रम गरिएको थियो । त्यसअघि लेबर क्याम्प पुगेर श्रमिकहरूलाई अधिकार, स्वास्थ्य र सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो । अबुधाबी स्थित नेपाली दूतावासबाट सुरु गरिएको श्रम सेवा कार्यक्रमले केवल प्रशासनिक सुविधा मात्र प्रदान गरिरहेको छैन कि नेपाली श्रमिकहरु र राज्यबीचको सम्बन्धलाई बलियो बनाउने अवसर समेत बनेको छ । श्रमिकहरूलाई ‘सेवाग्राही’ होइन, राज्यका साझेदार ठानी गरिएको व्यवहारले उनीहरूमा विश्वास र सुरक्षाको अनुभूति दिलाएको छ, श्रम सहचारी कर्णले भने ।


