झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुरुषोत्तम चुडाल (राजु) ले समग्र क्षेत्रको दिगो विकास, जनताको आधारभूत अधिकारको सुनिश्चितता र समृद्ध भविष्य निर्माण गर्ने स्पष्ट मार्गचित्रसहित आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।
उनले श्रमजीवी जनताको अधिकार सुनिश्चित गर्ने ऐन कानुन निर्माणदेखि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, उद्योग, पर्यटन, सूचना प्रविधि र सामाजिक न्यायका क्षेत्रमा ठोस योजना अघि सार्दै आफू निर्वाचित भए क्षेत्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता
उम्मेदवार चुडालले झापा गाउँपालिकामा स्नातक तह अध्ययनका लागि बहुमुखी क्याम्पस स्थापना गर्ने, कन्काई, सतासी र शिवगञ्जका बहुमुखी क्याम्पसहरूको स्तर उन्नति गर्ने तथा कन्काई बहुमुखी क्याम्पसलाई शैक्षिक हबका रूपमा विकास गर्ने योजना अघि सारेका छन् ।
झिलझिलेस्थित गणेशमानसिंह स्मृति अध्ययन प्रतिष्ठानलाई सामुदायिक अस्पतालका रूपमा विकास गर्दै मेडिकल कलेज सञ्चालनमा ल्याउने पहल गरिनेछ । साथै, क्षेत्रका नगर अस्पतालहरूको स्तर उन्नति, सामुदायिक विद्यालयहरूको भौतिक तथा प्राविधिक सुधार, अंग्रेजी र नेपाली दुवै माध्यमबाट गुणस्तरीय शिक्षा र ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रममार्फत डिजिटल शिक्षालाई विस्तार गरिनेछ ।
सडक, पुल र पूर्वाधारमा व्यापक विस्तार
क्षेत्रका सबै सडक सञ्जालको स्तरोन्नति गर्दै उत्तर–दक्षिण जोड्ने सडकहरू कालोपत्रे गरिनेछ । २८ वटै वडाका बजारलाई व्यवस्थित, स्वच्छ र आधुनिक बनाइनेछ भने कन्काई र कुञ्जीबारी छोटी भन्सारको स्तर उन्नति गरिनेछ ।
कन्काई नदी, विरिङ्ग नदी लगायतका स्थानमा आवश्यक पुल निर्माण गरिनेछ भने सुरुङ्गा बजारस्थित एसियन हाईवेमा आकाशे पुल निर्माणका लागि पहल गरिनेछ । जीर्ण विद्यालय भवनहरू हटाई आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिने योजना पनि प्रतिबद्धतामा समेटिएको छ ।
कृषि आधुनिकीकरण र किसानलाई प्रत्यक्ष सहयोग
कृषिलाई आधुनिक, यान्त्रिक र व्यवसायिक बनाउने लक्ष्यसहित कन्काई सिंचाई आयोजनाको स्तरोन्नति, डिप बोरिङ्ग र ट्युबवेल अनुदान, कृषि क्याम्पस सञ्चालन तथा अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।
किसानलाई गुणस्तरीय बीउ, मलखाद, कृषि यन्त्र, तालिम र अनुदान उपलब्ध गराउनुका साथै पानी तान्ने मोटर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
सुकुम्वासी समस्या समाधान र सामाजिक न्याय
भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पत्र उपलब्ध गराउन अधिकार सम्पन्न आयोग गठन गरिनेछ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि प्रत्येक वडामा सामुदायिक भवन, स्वास्थ्य सेवा, कानुनी परामर्श र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
युवा, उद्योग र रोजगारी सिर्जनामा जोड
प्रत्येक वडामा खेलमैदान र व्यायामशाला निर्माण, क्षेत्रीय खेलकुद कार्यक्रम आयोजना र युवालाई बिनाधितो व्यवसायिक कर्जा उपलब्ध गराउने योजना अघि सारिएको छ ।
कम्तिमा एक पालिका एक ठूलो उद्योग स्थापना गर्ने, लगानीकर्तालाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने र उद्योग व्यवसायको सुरक्षा सुनिश्चित गर्ने नीति अपनाइनेछ । विद्युतीय सवारी साधनको पहुँच विस्तार गरी वातावरणमैत्री यातायात प्रणालीलाई प्रोत्साहन गरिनेछ ।
पर्यटन, संस्कृति र प्रविधिमैत्री समाज निर्माण
धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, धार्मिक महोत्सव आयोजना र चुरे क्षेत्र संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिनेछ ।
सार्वजनिक स्थल, विद्यालय र बजारमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउँदै प्रविधिमैत्री समाज निर्माण गरिनेछ भने ई–पेमेंट प्रणालीमार्फत सेवा प्रवाहलाई सहज बनाइनेछ ।
ऊर्जा, वातावरण र विपद् व्यवस्थापनमा विशेष योजना
बिजुली नपुगेका बस्तीमा विद्युत विस्तार, ३० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने पहल, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण र जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछ ।
सामुदायिक वन संरक्षण, जडीबुटी उत्पादन तथा निर्यात प्रवर्द्धन र जलवायु परिवर्तन न्यूनीकरणका लागि वैज्ञानिक योजना लागू गरिनेछ ।
श्रमिक र बौद्धिक सम्पत्तिको संरक्षण
श्रमजीवी मजदुरहरूको दुर्घटना बिमा, सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता र विदेशबाट फर्किएका युवाको ज्ञान र सीपलाई विकासमा उपयोग गर्ने विशेष योजना लागू गरिनेछ ।
उम्मेदवार चुडाल ले आफ्नो प्रतिबद्धता–पत्रमार्फत झापा क्षेत्र नं. ४ लाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधारका क्षेत्रमा नमूना क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । स्थानीय स्रोत, जनशक्ति र आधुनिक प्रविधिको उपयोगमार्फत समृद्ध, आत्मनिर्भर र आधुनिक झापा निर्माण गर्ने उनको प्रतिबद्धता यतिबेला मतदातामाझ आशाको केन्द्र बन्न पुगेको छ ।