बच्चालाई धेरै म्वाइँ नखानुस् यस्तो खतरा देखिन सक्छ

बच्चालाई धेरै म्वाइँ नखानुस् यस्तो खतरा देखिन सक्छ

काठमाडौं । बच्चालाई हेर्न तथा माया गर्दै म्वाइँ खान तछाडमछाड नै गर्छन् । यस्तोमा बच्चाको स्वास्थ्यमा असर नपरोस् भन्ने विषयमा पनि ख्याल राख्नु आवश्यक हुन्छ । अन्यथा, अभिभावकले गरेको सामान्य गल्तीका कारण बच्चालाई ठूलै असर पर्न सक्छ ।

सोही कारण बच्चालाई छुनुभन्दा पहिला हात धुने सल्लाह डाक्टरले पनि दिइरहेका हुन्छन् । बच्चालाई म्वाइँ खाँदा यस्ता असर पर्न सक्छन्ः

सानो बच्चाको इम्युनिटी पावर निकै कम हुन्छ । जसले गर्दा इन्फेक्सनले पनि चाँडै असर पुर्याउन सक्छ । सोही कारण यस्तो खराब बानीबाट जोगिनु सबैका लागि फाइदाजनक हुन्छ ।

बच्चालाई म्वाइँ खाँदा इबिबी भाइरस सर्ने खतरा रहन्छ । यो भाइरस एकपटक शरीरमा प्रवेश गरेपछि जिन्दगीभर नै रहिरहन्छ । रुघाखोकी लागेको समयमा त भुलेर पनि बच्चालाई म्वाइँ खाने गल्ती गर्नुहुँदैन । किनकि, रुघाखोकीको भाइरसले बच्चालाई चाँडै आक्रमण गर्न सक्छ ।

व्यक्तिलाई कुनै पनि प्रकारको रोग छ भने बच्चाबाट टाढै रहनु उत्तम हुन्छ । किनकि बच्चालाई त्यसले असर पुर्याउने सम्भावना बढी नै हुन्छ । बच्चालाई फ्लु हुने सम्भावना बढाउँछ । -एजेन्सी

बालबालिकामा अटिजम बढ्दो समस्या

काठमाडौँ । नेपालमा बालबालिकामाझ अटिजमको समस्या बढ्दो क्रममा रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ४ हजार ८८६ जनामा अटिजम भएको तथ्यांक छ । तर विश्व स्वास्थ्य संगठनले यो संख्या वास्तविकताभन्दा धेरै कम भएको बताएको छ । संगठनका अनुमानमा नेपालमा करिब तीन लाख मानिस अटिजमको प्रभावमा छन् । अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यका अनुसार जनगणनामा अटिजम भएका बालबालिकाको संख्या कम देखिए पनि वास्तविक संख्या अनुमानित तीन लाखजति पुग्छ । अटिजम एक प्रकारको न्युरो डेभलपमेन्ट डिसअर्डरहो, जसमा बालबालिकाको उमेरअनुसारको व्यावहारिक, सामाजिक र सञ्चार क्षमताको विकास ढिलो हुन्छ । अटिजम भएका बच्चाले आँखामा आँखा नजोड्ने, बोलेर कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्‍याउने, एक्लै बस्न रुचाउने, खेलौना वा साना बच्चासँग नखेल्ने, एकोहोरो हुने, फरक ढङ्गको स्नायुजन्य प्रतिक्रिया देखाउने जस्ता लक्षण देखिन्छन् । जन्मजात हुने यो अवस्था सामान्यतः दुईदेखि अढाई वर्षको बीचमा पत्ता लाग्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्व जनसंख्याको करिब एक प्रतिशतमा अटिजमको समस्या हुन्छ। नेपालमा पनि करिब यस्तै अनुपातमा बालबालिका प्रभावित हुने अनुमान छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले २०२३ को अध्ययनमा ३१ मध्ये एक जनामा अटिजम देखापर्ने तथ्य प्रस्तुत गरेको छ । अटिजमलाई पूर्ण रूपमा निको पार्न सकिँदैन, तर विशेष शिक्षामूलक विधि र थेरापी प्रभावकारी हुन्छन् । डा. अमात्यका अनुसार अटिजम भएका बालबालिकालाई व्यावहारिक तथा सञ्चार थेरापी, अकुपेसन थेरापी र खेलको माध्यमबाट सिकाइ प्रभावकारी हुन्छ । उनीहरूको क्षमताअनुसार तालिम दिँदा उनीहरूले उपयुक्त काम गर्न सक्छन् । अटिजम छोराहरूमा छोरीभन्दा करिब चार गुणा बढी देखिन्छ । हाल अटिजम भएका बालबालिकाको हेरचाह र शिक्षाको जिम्मा मुख्यतः अभिभावकमाथि नै पर्छ । ग्रामीण क्षेत्रमा अभिभावक र शिक्षकबीच अटिजमबारे सचेतना अझै कमजोर छ, जसका कारण विद्यालय तहमा पहिचान र उचित शिक्षा सुनिश्चित गर्न चुनौती छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले अटिजम भएका बालबालिकाको उपचार, शिक्षा र पहिचानलाई प्राथमिकतामा राखेर समिति गठन गरिएको बताए । समितिको प्रतिवेदन कार्यान्वयन गर्दै सरकारले आवश्यक सेवा विस्तार गर्ने तयारी गरेको छ । विशेषज्ञहरूका अनुसार अटिजमको मुख्य कारण अझै स्पष्ट नभए पनि वंशाणुगत कारणलाई महत्वपूर्ण मानिन्छ । अटिजमलाई रोग नभई अपाङ्गता मान्यता दिइएको छ र समाजमा सचेतना बढाउन निरन्तर पहल आवश्यक छ ।  

मदर टेरेसाका प्रेरणादायी विचार

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै छ। निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पित गरेकी मदर टेरेसाको स्मरणमा यो दिवस विभिन्न परोपकारी गतिविधिका साथ मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो। असमानता, गरिबी र विविध पीडाबाट प्रभावित समुदायलाई सहयोग गर्नु यसको मुख्य उद्देश्य हो। यो दिवसले पारदर्शी ढङ्गले निर्धनलाई सहयोग, युवा नेतृत्व विकास, विभेदरहित जिम्मेवार दान, र जलवायु परिवर्तन तथा गरिबीका कारण गाँस, बास र कपासबाट वञ्चितहरूलाई उदार मनले सहयोग गर्न प्रोत्साहन गर्छ।  संयुक्त राष्ट्रसङ्घले यस्ता गतिविधिमार्फत सामाजिक न्याय र समानताको सन्देश प्रवाह गर्न जोड दिएको छ। नेपालमा पनि विभिन्न सङ्घसंस्था र स्वयंसेवीहरूले परोपकारी कार्यहरू जस्तै खाद्यान्न वितरण, स्वास्थ्य शिविर र शिक्षासम्बन्धी कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउँदै छन्। यस्ता गतिविधिले समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। मदर टेरेसाका प्रेरणादायी विचार १. यदि तपाई संसार परिवर्तन गर्न चाहानुहुन्छ भने, घर गएर परिवारलाई माया गर्नुहोस्। २. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन । ३. सफलताको लागि तिमी के कति काम गर्छौ यो महत्त्वपुर्ण कुरा होइन,तिमी आफ्नो कामलाई कति प्रेमले गर्छौ यो सफलताको मापदण्ड हो। ४. अनुशासन लक्ष्य र उपलब्धि बीचको पुल हो । ५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो । ६. प्रगाढ प्रेम मापन गरिँदैन, मात्र दिइन्छ । ७. प्रेम हर मौसममा हुने फल हो,र हरेक व्यक्ति को पहुंच मा छ। ८. यदि तिमी मन दुख्दासम्म प्रेम गर्न सक्छौ भने अझै प्रेम गर, तिमीले प्रेमको शिवाय केहि भेट्ने छैनौ । ९. स-साना कुराहरुमा वफादार हुनुहोस् किनकि तीनै साना कुराहरुमा तपाईको शक्ति निहित छ । १०. जहाँ जाउ प्रेम बाँड किनकि कोही तिमी सामु आउँदा प्रफुल्लित अनुहार लिएर फर्किओस् । ११. हामी सोच्छौ कि हामी जे गर्छौ त्यो समुन्द्रमा थोपा खसाए बराबर हो तर एक एक थोपा निकाल्दा समुन्द्रमा पनि कम हुन्छ । १२. सबैले ठूला काम गर्न सक्दैनन् तर साना काम गर्न सक्छन्, जसले ठुलो खुसी दिन सक्छ । १३. दयालु शब्द छोटो र बोल्न सजिलो हुन सक्छ, तर तिनीहरूको प्रतिध्वनि साँच्चै अन्तहीन हुन्छ। १४. रोटीको भोक भन्दा प्रेमको भोक हटाउन धेरै गाह्रो हुन्छ । १५. तिमीले सय व्यक्तिलाई खुवाउन सक्दैनौ भने कम्तिमा एक व्यक्तिलाई खुवाउ । १६. हिजो बितिसक्यो ,भोलि आएकै छैन बस आज मात्र हाम्रो हो त्यसैले सुरुवात आजै गर । १७. हामी एक साधारण मुस्कानले गर्न सक्ने सबै राम्रो कुरा कहिले पनि थाहा पाउँदैनौँ । १८. प्रेम गर्छु भनेर हुदैन प्रेम व्यवहारमा देखाइनु पर्छ र त्यो व्यवहार नै सेवा हो । १९. सबैभन्दा डरलाग्दो गरिबी एक्लोपन, र कसैबाट प्रेम नगरिएको महसुस नै हो। २०. यदि तिमी मान्छेहरुलाई मुल्यांकन गर्न थालेउ भने उनीहरुलाई प्रेम गर्न भुल्नेछौ ।

विराटनगरको बालसुधार गृहमा झडप

विराटनगर ।  मोरङको बाल सुधार गृहमा आज बुधबार (अगस्त १३, २०२५) दिउँसो २:०४ बजेको समयमा झडप भएको छ, जसमा वरिष्ठ प्रहरी हवलदार हिरणकुमार मण्डल घाइते भएका छन्। मोरङका प्रहरी प्रमुख नारायण चिमरियाका अनुसार, झडप सुधार गृहबाट बालबालिकाहरू भाग्न खोज्दा रोक्ने क्रममा भएको हो। घटना अहिले नियन्त्रणमा आइसकेको र सुधार गृहमा रहेका बालबालिकाहरूलाई भित्र राख्ने काम भइरहेको उनले बताए। ५० जनाको मात्र क्षमता रहेको उक्त बाल सुधार गृहमा हाल २०० भन्दा बढी बालबालिका राखिएका छन्। अदालतबाट कसुरमा दोषी ठहर भएका १८ वर्ष मुनिका बालबालिकालाई सुधारका लागि यस्ता गृहमा राख्ने गरिन्छ। थप अनुसन्धान जारी रहेको छ

नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइदैँ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाउँदै छ । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदै छ । मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदै छ । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका उमेरका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।

लोकप्रिय