बढ्दो गर्मीसँगै यी कुराहरुमा विशेष ध्यान दिनुहोस्
गर्मी मौसममा छालाको स्वास्थ्यमा पनि बढ्ता ध्यान दिनुपर्दछ । अधिकांश छालासम्बन्धी परिवर्तन सूर्यको प्रभावले हुने गर्दछ । वायुमण्डल वरिपरिको ओजोन तह पातलियो भने छालाको समस्या बढ्न सक्दछ ।
परावैजनी किरणमध्ये पहिलो प्रकारको युभी ए ओजोन तहबाट शोषित नहुने भएकाले छालाको भित्री तहसम्म पुगी नकारात्मक असर पुर्याउँदछ । युभीएको प्रभाव छालामा लामो समयसम्म हुने हुनाले बढी हानीकारक मानिन्छ । तर, दोस्रो प्रकारको युभी बी आंशिक मात्रामा ओजोन तहबाट सोसिएपनि पृथ्वीसम्म पुगेको किरणले छाला डढाएर नराम्रो मात्र बनाउँछ । छालामा परावैजनी किरणको असर व्यक्ति विशेषको छालामा पनि निर्भर हुन्छ । उदाहरणको लागि गोरो छाला छिट्टै डढ्छ ।
गर्मी महिना लागे लगत्तै सनस्क्रिनको समुचित उपयोगले छालामा घामको तत्कालिक र दीर्घकालिक प्रभावबाट धेरै मात्रामा जोगिन सकिन्छ । केही सनस्क्रिन वा सनब्लकले सूर्यको परावैजनी किरणको कुप्रभावबाट जोगाउन सक्छ । सनब्लक र सनक्रिममा खासै भिन्नता छैन दुवैले सूर्यको विकिरणबाट बचाउँछ । तरपनि सनस्क्रिनले युभीबीको प्रभावबाट बचाउँछ भने सनब्लकमा जिंक अक्साईड पनि हुने भएकोले सम्मुचमा सूर्यको परावैजनी किरणलाई छालाको सम्पर्कमै आउन रोक्छ ।
सूर्यको परावैजनी किरणका कारण छालाको रंगमा परिवर्तन आउनुका साथै जलन हुने तथा छालामा समय अगावै बुढ्यौली निम्तिने हुन्छ । यसका कारण छालामा सुख्खापन आउनुका साथै चाउरीपना आउने, सेतो दाग देखिने तथा कालान्तरमा क्यान्सर हुने पनि हुनसक्छ । खोला, ताल तलैया छेउछाउको बालुवाको थुप्रो, पानी, कंक्रिटबाट सूर्यको हानीकारक किरण बढ्ता परावर्तित हुन्छ भने घर वा सवारी साधनको झ्यालबाट आउने अप्रत्यक्ष किरणले पनि छालामा हानी पुर्याउछ । छालालाई घामको कारणले हुने क्षतिबाट जोगाउन दिनभरको घामबाट सकेसम्म टाढा रहनु फाइदाजनक हुन्छ । केही औषधिको सेवनले घामप्रतिको संवेनदनशीलता बढाउन सक्ने हुनाले यस प्रति सजग हुनु पर्दछ । त्यसो त एसपीएफ १५ ले युभी बी विकिरणबाट ९३ प्रतिशत जोगाउँछ भने एसपीएफ ३० ले ९७ प्रतिशत जोगाउँछ ।
प्रायसः नेपालीहरुले २० भन्दा माथिको एसपीएफ भएको सनस्क्रिन लाउनु राम्रो हुन्छ । कालोपोतो हुने व्यक्तिले तेल नभएको सनस्क्रिन प्रयोग गर्नु पर्दछ । सामान्य र सुख्खा छालाको लागि सनस्क्रिन उपयुक्त हुन्छ । सुख्खा छाला तथा शरीरको अन्य भागमा लोसन लगाउनुपर्दछ ।
सनस्क्रिन लगाएको केही समय भित्रै विमिरा देखिएमा सनस्क्रिनकै एलर्जी भएको हुनसक्छ । शरीरको खुल्ला भागमा घाममा निस्कनु १५ मिनेट अगाडि सनस्क्रिन लगाउनु पर्दछ । यस क्रममा नाक, गर्दन, खुटाको माथिल्लो भाग, कानको किनारा र ओंठमा पनि पनि लगाउनु पर्दछ । सुख्खा खालको छाला हुनेले आधा घण्टा अघि सनस्क्रिन लगाउनु राम्रो हुन्छ । त्यसैगरी घर बाहिर लामो समय बसिन्छ भने यस्तो लोसन प्रत्येक २ घण्टामा लगाइ राख्नु पर्दछ ।
घरभित्र पनि सूर्यको किरणको प्रभाव हुने भएकोले घरमा बस्दा कम पावर अर्थात् एसपीएफ १५ को भएपनि लोसनको प्रयोग गर्नु पर्दछ । छालालाई घामको असरबाट जोगाउन लोसन, क्रिम बाहेक पहिरनमा पनि ध्यान दिनु पर्दछ । गर्मी मौसममा सुतीका लुगा राम्रो हुन्छ । त्यसमाथि शरीरको अधिक भाग छोपिने खालको शर्ट र प्यान्ट लगाउँदा हानीकारक घामबाट बच्न सकिन्छ । घामलाई छेक्न लगाइने ह्याट तथा गुणस्तरीय सनग्लास पनि गर्मी याममा उपयोगी हुन्छ । घाममा हिँड्नु पर्दा छाताको प्रयोग गर्ने तथा गर्नुपर्दछ ।
गर्मी मौसममा छाला सम्बन्धि अन्य समस्या गर्मी मौसममा संक्रामक (सरुवा) रोगहरु तुलनात्मक रुपमा बढी नै लाग्ने गर्दछ । टाईफाइड, औलो, कालाज्वर लगायतका सरुवा रोगहरुका लक्षण चिन्ह विभिन्न खाले छालाका समस्या पनि हुनसक्छ । विभिन्न खालका घाउ खटिरा जस्ता संक्रमणहरु सुुरुमा भाइरसका कारण उत्पन्न भएपनि त्यसमा ब्याक्टेरियाले थप आक्रमण गरेपछि स्थिति जटिल अवस्थामा पुग्न सक्छ । यसैगरी यो मौसममा आँखा पाक्ने समस्याका साथै बहुला कुकुर तथा सर्पको टोकाइका कारण छालामा पनि समस्या देखिन सक्छ । गर्मी मौसमसँगैको आगलागीका कारण पनि छाला डढ्ने, चोटपटक लाग्ने हुन्छ ।
गर्मी मौसममा शरीरको पसिना उत्पादन तथा उत्सर्जन दरमा वृद्धि हुन्छ । यहि उच्च मात्राका पसिनाको कारण शरीरमा आद्र्रता बढ्छ । यसले गर्दा छालामा ब्याक्टेरियल तथा फंगस संक्रमण हुने सम्भावना बढ्छ । यदि पसिना ग्रन्थीको मुख थुनियो भने शरीरका विभिन्न भागमा स–साना विमिरा, डण्डीफोर लगायतका छालाका समस्या बढी आउँछ । यस्तो समस्या हुँदा चिलाउने, जलन हुने, पिप भरिने, दुख्ने आदि हुन्छ । विशेषगरी अधिक मोटोपना भएका व्यक्तिको घाँटी पछाडि, स्तनमुनि, घुँडा पछाडि, काखी तथा काछ अर्थात् छाला जोडिने ठाउँको छाला बाक्लिने, छालाको रङ परिवर्तन हुने समस्याका साथै गर्मी मौसममा फंगस संक्रमण हुने, पाछिने हुन्छ ।
सरुवा रोग तथा छाला सम्बन्धी समस्याको स्थायी समाधानका लागि नियमित रुपमा सरसफाई गर्नुको विकल्प छैन । लामखुट्टेको टोकाईका कारण हुने औलो, कालाज्वरमा पनि कतिपय छालाका समस्या हुन सक्छन् । अतः गर्मी बढेसँगै लामखुट्टेबाट बच्नका लागि लिक्विडेटर बाल्ने, म्याट बाल्ने, धुप जलाउने भन्दा लामो बाहुला भएको लुगा लगाउने, झुल लगाउने, झयाल ढोकामा तारजाली ठोक्ने बुद्धिमानी हुन्छ ।
बढी गर्मी भएको ठाउँमा दिनमा दुईपटक सम्म नुहाउने गर्नु पर्दछ । पोलिस्टर वा नाईलन मिक्स सिन्थेटिक एवं जिन्स लुगाफाटा भन्दा सेतो, चहकिलो रङको सुतीको कपडा लगाउने गर्नुपर्दछ । हावा खेल्ने खुकुलो खालको लुगा स्वस्थ्यकर हुन्छ । भित्री लुगा दिनहुँ फेर्ने गर्नु पर्दछ । शरीरको आद्र्रता कायम राख्न अधिक मात्रामा पानी पिउनु पर्दछ । घरमा आएपछि अर्थात् कामबाट फर्केपछि एकैछिनको आराम पछि हातमुख धुने गर्नु पर्दछ । अझै पनि काखी गन्ध आउँछ भने डियोडेरेन्ट स्प्रे तथा लोसन प्रयोग गर्न सकिन्छ । तर सधैंभरि डियोडेरेन्ट वा परफ्युम प्रयोग गर्नु भन्दा नियमित शारीरिक सरसफाईमा ध्यान दिनु बुद्धिमानी हुन्छ । आगलागीका घटनाबाट जोगिने उपाय अपनाउनु पर्दछ ।
गर्मी मौसममा बालबालिकाहरुमा तुलनात्मक रुपमा संक्रामक खालका तथा आगलागी एवं चोटपटकजन्य छालाका समस्या बढी देखिन्छ । यसका साथै आँखा पाक्ने समस्या र शरीरको विभिन्न भागमा घाउ खटिरा आउनुका साथै नजिकको ग्लेन्ड ९गिर्खा० पनि सुन्निने र दुख्ने हुन्छ । यस्ता समस्याहरुबाट बच्नका लागि व्यक्तिगत सरसफाईका साथै लामखुट्टे तथा अन्य कीत पतङ्ग विरुद्ध विभिन्न उपायहरु अवलम्बन गरेको खण्डमा थुप्रै खाले सरुवा रोग (संक्रमण) बाट बालबालिकाहरुलाई बचाउन सकिन्छ ।
डा, सुमनराज ताम्राकार
एजेन्सीको सहयोगबाट
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।” दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् ।
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।
वीरगन्जमा ९३ जनामा देखियो हैजा
पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।
विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

