बार्सिलोनाको शानदार जित, मेसीले गरे ह्याट्रिक !

बार्सिलोनाको शानदार जित, मेसीले गरे ह्याट्रिक !

असोज ३ । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको यो वर्षको सिजनमा शानदार सुरुवात गरेको छ । युरोपियन क्षेत्रका शीर्ष लिगमा खेल्ने क्लब बिचको महादेशीय प्रतिस्पर्धा च्याम्पियन्स लिग फुटबलको समूह चरणका खेल मंगलबार रातिदेखि सुरु भएका छन् ।

मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले समूह बी अन्तर्गतको आफ्नो पहिलो खेलमा मंगलबार राति नेदरल्याण्डसको क्लब पिएसभी एन्थोवेनलाई ४-० ले हरायो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउने क्रममा मेस्सीले ह्याट्रिक गरे । यस्तै उसमान डेम्बेलेले एक गोल गरे ।

बार्सिलोना अन्तिमको १० मिनेट भन्दा बढी समय १० खेलाडीमा सीमित भएको थियो । ७९ औँ मिनेटमा सामुएल उमटिटी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमति भएको हो ।

मेस्सीले ३१ औँ मिनेटमा फ्रि-किक मार्फत सुन्दर गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १-० को अग्रता दिलाए । ७४ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसको तीन मिनेटपछि मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । लगत्तै उमटिटी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

तर पनि बार्सिलोना कमजोर देखिएन । मेस्सीले ८७ औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले ४–० को प्रभावशाली जित पक्का गर्यो ।

समूह बी अन्तर्गतकै अर्को खेलमा सुरुमा पछि परेर पनि इटालियन क्लब इन्टर मिलानले इंग्लिस क्लब टोटनह्यामलाई पराजित गर्न सफल भयो ।

इन्टरले टोटनह्यामलाई २–१ ले पराजित भएको हो । अवे मैदानमा भएको खेलमा ५३ औँ मिनेटमा क्रिष्टियन एरिक्सनको गोलबाट माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले अग्रता लिएको थियो ।

तर अन्तिमको पाँच मिनेट र इन्जुरी समयमा सम्हालिन नसक्दा नतिजा इन्टरलाई सुम्पियो । इन्टरका लागि ८५ औँ मिनेटमा आइकार्डी र इन्जुरी समयको दोस्रो मिनेटमा वेसिनोले गोल गरे ।

मेस्सीको ४८ औँ ह्याट्रिक
घरेलु मैदानमा भएको खेलमा बार्सिलोना कप्तान मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरी च्याम्पियन्स लिगको यो सिजनको पहिलो खेलमा नै ह्याट्रिक गरे । मेस्सीको यो ह्याट्रिक उनको खेल जीवनको ४८ औँ ह्याट्रिक हो ।

आन्द्रेस इनिएस्टा बिदा भएपछि मेस्सी बार्सिलोनाको कप्तान बनेका छन् र उनी अहिले आफ्नो लयको उच्चतम स्तरमा देखिएका छन् । मेस्सीले यो सिजन ६ खेलमा सात गोल गरिसकेका छन् ।

मेस्सीका सबै गोल उत्कृष्ट थिए । तर यो खेलमा गरेको पहिलो फ्रि–किक गोल भने निकै उत्कृष्ट रह्यो । उनले सन् २०१८ मा फ्रि–किकबाटै ८ गोल गरिसकेका छन् ।

मेस्सीले च्याम्पियन्स लिगमा ८ ह्याट्रिकसहित १०४ गोल गरेका छन् । यस्तै उनीले च्याम्पियन्स लिगका लगातार चौथ सिजन गोल गरेका छन् ।

यो रियल मड्रिडका लेजेण्ड राउलको कीर्तिमानसँग बराबरी हो । मेस्सीको लय र सुरुको शानदार जितले यो वर्ष बार्सिलोनाको दबाब च्याम्पियन्स लिगमा रहने देखिएको छ । देश सञ्चारबाट

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय