बीना मगर प्रदेश नं ७ की एक्ली महिला सांसद्

बीना मगर प्रदेश नं ७ की एक्ली महिला सांसद्

कञ्चनपुर, मंसिर २७। कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित भए पनि बिना भने भारी मतान्तरका साथ विजयी भइन् ।

दशवर्षे जनयुद्धका क्रममा २७ महिने नारकीय हिरासत जीवन बिताएकी मगरले निर्वाचनकै प्रचारप्रसारका क्रममा उनका श्रीमान् प्रकाश दाहाललाई गुमाएकी थिइन् ।

संविधानसभाको निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदाको बदला मगरले यस निर्वाचनमा विजयी भएर लिएकी छन् । मगरले जित हासिल गर्दा ३८ हजार ४६८ मत प्राप्त गरिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवानसिंह विष्टले मात्रै १९ हजार २१९ मत ल्याए । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् ।

विजयी उम्मेदवार मगरले जन्मभूमिको सेवामा सधैँ समर्पित हुने प्रतिवद्धता जनाएकी छन् । विजयी भएपछि प्रतिक्रया दिँदै उनले निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने घोषणा गरेकी छन् ।

‘निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्न वाम गठबन्धनका उम्मेदवार एकमत रहेका छौं’, उनले भनिन्, ‘यसमा सबैको साथ र सहयोगको आवश्यकता पर्छ ।’

स्थानीय तह, प्रदेश र केन्द्र गरी तीनवटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा आफू दृढ रहेको उल्लेख गर्दै उनले संसद् र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने बताइन् ।

मानसिकरुपमा जटिल परिस्थिति र स्वास्थ्य अवस्था अनुकूल नभएका बेला मतदाताबाट पाएको साथ जीवनभर नबिर्सिने उनले बताएकी छन् ।

०४० मंसिर २२ गते पुनर्वास नगरपालिकामा जन्मिएकी मगर यस क्षेत्रको समाज, संस्कृति, परम्परा, जातजाति, भेषभूषा र चाडपर्वसँग रमाउँदै हुर्किएकी थिइन् ।

पुनर्वासको अरनिको बस्तीको अरनिको प्राविबाट शिक्षा आर्जन शुरु गरेकी उनले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गरेकी थिइन् ।

राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्य लिएर मगरले ०५२ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा माओवादीको सशस्त्र आन्दोलनमा सक्रिय सहभागिता जनाएकी थिइन् ।

जनयुद्धको शुरुवाती चरणको सांगठनिक र सांस्कृतिक कार्यक्रममा उनले सक्रियता बढाउँदै राजनीतिक नेतृत्व लिन शुरु गरिन् । आन्दोलनमा सहभागिता जनाउँदै गर्दा विसं ०५६ मा मगरले महिलाको हकअधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकास गराउन अखिल नेपाल महिला संघ क्रान्तिकारी कञ्चनपुरको अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।

विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाका लागि संघर्ष गरिरहँदा उनलाई ०६० मा अखिल क्रान्तिकारी काठमाडौँ जिल्ला अध्यक्षसम्मको जिम्मेवारी प्राप्त भयो ।

राज्यको व्यापक धरपकड र दमनबीच मगर ०६० मा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परेकी थिइन् । मानव बधशाला भनेर चिनिएको भैरवनाथ गणमा उनलाई २७ महिना बेपत्ता पारिएको थियो ।

जनताको मुक्ति, व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रताको संघर्षसँग जोडिएको आन्दोलनको क्रममा मगरले २७ महिनासम्म पाशविक यातना भोगेकी थिइन् ।

०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुगेका बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गरिएपछि अदालतले गैरन्यायिक हिरासतबाट मगरलाई रिहा गर्न आदेश दिएको थियो ।
सम्मानित सर्वोच्च अदालतको रिहाइको आदेशलाई बेवास्ता गरी पुनः गिरफ्तार गर्ने प्रशासनको चाललाई राष्ट्रिय अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थाले विरोध गरेपछि उनी रिहा भएकी थिइन् ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार भएकी उनी झिनो मतान्तरले पराजित भएकी थिइन् ।

प्रतिनिधिसभाको उम्मेदवार भई प्रचारप्रसारमा संलग्न रहेकै बेला श्रीमान् प्रकाश दाहालको असामयिक निधन भएपछि पनि उनले हिम्मत हारिनन् । शोकलाई शक्तिमा बदल्दै जनताका समस्या समाधानका लागि निरन्तर लाग्दा उनले अहिले विजय प्राप्त गरेकी छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी प्रदेश नं ७ की एक्ली विजयी महिला उम्मेदवार बन्न पुगेकी छन् ।

अखिल क्रान्तिकारीमा उम्मेदवारको उमेरहद टुंग्याउन मतदान गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ । उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको छलफलपछि सो निर्णय गरेको हो । अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुने र लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प दिइने बताउनुभयो । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।  अखिल क्रान्तिकारीले यसपटक नेतृत्व चयनमा मात्रै होइन, विधानमै मतदान गर्ने नयाँ अभ्यास गर्ने भएको छ । इञ्चार्ज शर्माले नीति र नेतृत्व चयन दुबै प्रक्रियामा लोकतान्त्रिक विधि अपनाइने बताउनुभयो ।  यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा नभएको उहाँले स्पष्ट गर्नुभयो ।  अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन गर्न निर्देशन दिएको इञ्चार्ज शर्माले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै हलले जे भन्छ, त्यही मान्न विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभएको थियो । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ ।

बाढीपहिरो अपडेटः मृतकको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।  बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उहाँको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको बताएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि गृहमन्त्रालयले जनाएको छ । 

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

लोकप्रिय