यसरी बन्दैछ मतगणनास्थल

यसरी बन्दैछ मतगणनास्थल

बागलुङ, मंसिर २० । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको बागलुङमा तारजाली लगाएर मतगणना गरिने भएको छ। जिल्लाका प्रतिनिधिसभाका दुई क्षेत्र र प्रदेशसभाका चार क्षेत्रको जिल्ला समन्वय समिति बागलुङको सभाहलमा गणक तारजाली भित्र र दलीय प्रतिनिधि बाहिर राखेर गणना गर्ने आवश्यक व्यवस्था मिलाइएको छ।

मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भए पनि सम्भावित परिस्थितिलाई ध्यानमा राखेर मतगणनाका लागि तारबार जाली लगाइएको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले बताए। तारवार र जालीको कडा सुरक्षा घेरा भित्र आयोगका कर्मचारीले मतगणना गर्ने र तारवार बाहिर रहेका उम्मेदवारका प्रतिनिधिलाई देखाउँदै सदर गरिने उनले बताए।

‘अहिलेको लोकतान्त्रिक व्यवस्थामा पनि तारबार लगाएर मतगणना गर्नु शोभनीय विषय हुँदै होइन,’ जिल्ला न्यायाधीश समेत रहेका पण्डितले भने, ‘तर विगतका घटना र सम्भावित घटनाका विषयलाई गम्भिरतापूर्वक लिएर तारजाली लगाएर मतगणना गर्नुपर्ने अवस्था आएको हो।’

मतगणना स्थलमा ८ वटा सिसि क्यामरा पनि जडान गरिएको छ। यसका साथै पहिलो घेरमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको छ। पहिलो चरण अन्तर्गत मंसिर १० गते भएको मतदानमा बागलुङमा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

उजुरीमा मुख्य निर्वाचन अधिकृतको राय माग

नेपाली कांग्रेस बागलुङले जिल्लाका तीन मतदान स्थलमा ‘बुथ कब्जा’ गरी धाँधली गरेको भन्दै दर्ता  गरेको उजुरी उपर निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको राय माग गरेको छ।

गत मंसिर १० गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन सकिएको चार दिन पछि बिहीवार वाम गठबन्धनबाट निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेसले उजुरी दर्ता गराएको थियो।

उजुरीपछि आयोगले सम्बन्धित मतदान अधिकृतहरूको प्रतिवेदन माग गरे अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले प्रतिवेदन पठाएको थियो। प्रतिवेदन अध्ययन तथा छलफल पछि मंगलवार फेरि मुख्य निर्वाचन अधिकृतको पनि राय माग गरेको पत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबास्कोट, जैमिनी नगरपालिकाको पैयुथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा एकलौटी मतदान गरेको भन्दै कांग्रेस जिल्ला सभापति तथा क्षेत्र नम्बर १ (क) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले पुनः मतदानको माग सहित उजुरी दर्ता गराएका हुन्।

आफ्ना पार्टीका एजेण्ट भएपनि वाम गठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना एजेण्टलाई धम्की दिएर धाँधली गरेको भन्दै पुनः निर्वाचन गराउन माग गरेको हो। उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुइ स्थानमा बुथ कब्जा भएको दावी गरेका छन्।

आयोगको राय माग गरिएको पत्रको अध्ययनपछि सम्बन्धित मतदान स्थलमा खटिएका सुरक्षा प्रमुखहरूसँग जानकारी लिएर राय पठाउने मुख्य निर्वाचन अधिृकत पण्डितले बताए। ‘उजुरीका विषयमा निर्वाचन आयोग मार्फत मेरो राय दिन भनिएको छ,’ मुख्य निर्वाचन अधिकृत पण्डितले भने, ‘बुधवार सकेसम्म छिटो पठाएर आगामी बिहीवार साँझ ठिक ५ बजेदेखि मतगणना गर्न मिल्ने नमिल्ने निर्देशन दिन अनुरोध गर्ने तयारी छ।’

वाम गठबन्धन भने निर्वाचन स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न भएको चार दिन पछि उजुरी पर्नु नियोजित र पराजित मानसिकताको उपज भएको बताउँदै आएको छ।

बागलुङमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बाम गठबन्धन बनाएर चुनावी मैदानमा छन् भने नेपाली कांग्रेस राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा प्रतिस्पर्धामा छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन् भने यस क्षेत्रको प्रदेश क मा कांग्रेसका दीपेन्द्र थापा र गठबन्धनका तर्फबाट एमालेकै इन्द्रलाल सापकोटा मैदानमा छन्। प्रदेश २ मा कांग्रेसका प्रकाश पौडेल र वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी प्रतिस्पर्धामा छन्।

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

लोकप्रिय