यस्ताे छ वाम गठबन्धनको चुनावी घोषणापत्र …. कुन पार्टी कस्ताे ?

यस्ताे छ वाम गठबन्धनको चुनावी घोषणापत्र …. कुन पार्टी कस्ताे ?

काठमाडौं, असोज ३१ ।  एमाले-माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ ।

गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले-माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् । गठबन्धनले कांग्रेस नेतृत्वले अहिलेको संविधानको अन्तरवस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न र सही ढंगले कार्यान्वयन गर्न नसक्ने भन्दै कांग्रेसमाथि चुनावी अभियानक्रममा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत दुवै पार्टीका नेता सम्मिलित कार्यदलले घोषणापत्रलाई अन्तिम रूप दिएको हो । कार्यदलले तयार पारेको घोषणापत्र पार्टी एकता संयोजन समितिले एकपटक अध्ययन गरेपछि सार्वजनिक गरिने नेताले बताएका छन् । ‘चुनावी घोषणापत्र तयार पार्ने काम करिब सकेका छौं,’ कार्यदलमा रहेका माओवादी वरिष्ठ नेता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘अब छिट्टै दुवै पार्टीका अध्यक्षसहित नेताले हेरेपछि सार्वजनिक गर्छौं ।’

कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि ! कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि !’ भन्ने चुनावी नारा घोषणापत्रमा तय गरेका नेताहरूले नेपालको राजनीतिमा परमुखी, बाह्य शक्तिकेन्द्रमुखी प्रवृत्ति देखिएको र चरम सत्तालोलुपता र भ्रष्टाचार बढेको कारण देशलाई त्यस्तो प्रवृत्तिबाट मुक्त बनाउन पनि गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन् । ५५ वर्षसम्म फरक स्कुलिङबाट अगाडि बढेका दुई प्रमुख वामपन्थी पार्टी एकै हुने संकल्पसहित निर्वाचन तयारीमा जुटेपछि कांग्रेसले यी दुई पार्टीले ‘अधिनायकवाद’ जन्माउन खोजेको आरोप लगाइरहेका बेला घोषणापत्रमा भने उनीहरूले आफूहरूले कुनै त्यस्तो अधिनायकवाद जन्माउने ध्येय नराखेको प्रस्ट पारेका छन् ।

वाम गठबन्धन समाजवाद स्थापनाका लागि निर्माण भएको एमाले-माओवादी नेताहरूले बताउन थालेपछि कांग्रेसले ‘गठबन्धन लोकतन्त्रका लागि अनिष्ट’ भएको कडा टिप्पणी गर्दै आएको थियो । तर, चुनावी घोषणापत्रमा यी दुई दलले समाजवाद निर्माण तत्कालको कार्यसूची नरहेको र आफूहरूले भन्दै आएको समाजवाद तत्कालीन सोभियत संघको मोडलमा पनि आधारित नभएको उल्लेख गरेका छन् । ‘समाजवादको निर्माण केही अवधिका लागि हाम्रो तत्कालको कार्यसूची होइन । त्यो रणनीतिको विषय हो । अबको समाजवाद यसअघि स्थापित सोभियत संघको मोडलमा आधारित समाजवाद होइन ।’

घोषणापत्रमा भनिएको छ, ‘तालमेल र पार्टी एकताको उद्देश्य भनेको राष्ट्रिय स्वाधीनताको रक्षा, संविधान कार्यान्वयन, आवश्यकताअनुसार परिमार्जन तथा विकास, शान्तिपूर्ण प्रतिस्पर्धामार्फत सामाजिक-आर्थिक रूपान्तरण, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण र समाजवादको आधार खडा गर्ने हो ।’

कांग्रेसप्रति तिखो आलोचना

गठबन्धनले कांग्रेसको वर्गचरित्र यथास्थितिवादी र भ्रष्टाचारको पर्यायवाचीजस्तै भएको भन्दै खरो आलोचना गरेको छ । ‘हाम्रो यो एकता र चुनावी गठबन्धनलाई लोकतन्त्रका लागि अनिष्टका रूपमा टिप्पणी गरेर कांग्रेसले आफ्नो अलोकतान्त्रिक प्रवृत्ति एवं निहित स्वार्थपरक कुण्ठाजन्य अभिव्यक्ति पोखेको छ,’ घोषणापत्रमा भनिएको छ, ‘कम्युनिस्ट शक्तिहरू विभाजित भइरहे र आफ्नो विजयलाई पन्छाउने काम गरिरहे मात्र नेपालमा लोकतन्त्र हुने नेकाको सोच हदैसम्म अलोकतान्त्रिक हो ।’

कांग्रेसले लोकतन्त्रलाई आफ्नो सुविधाको वस्तु मात्रै ठानेको आरोप पनि गठबन्धनले लगाएको छ । कांग्रेसलाई अन्य कुनै पार्टीसँग चुनावी तालमेल वा एकता गर्न सुझाउँदै गठबन्धनले कांग्रेसले त्यस्तो एकता गरे आफूहरूले स्वाभाविक र सहज रूपमा लिने बताएको छ । ‘हामी चाहन्छौं, कांग्रेसले आफूलाई सम्हालोस्, सच्याओस्, लोकतन्त्रवादी पार्टीका रूपमा क्रियाशील भई लोकतान्त्रिक मूल्य-मान्यताका आधारमा जिम्मेवारपूर्ण ढंगले प्रतिस्पर्धामा सामेल होस्,’ घोषणापत्रमा भनिएको छ ।

वाम एकताको पहल र चुनावी तालमेल गर्ने निर्णयले राजनीतिक स्थिरता र विकास चाहने सबैमा उत्साह र खुसीको लहर पैदा गरेको भन्दै गठबन्धनले कम्युनिस्ट शक्ति नै देशभक्तिपूर्ण आन्दोलनको मूल नेतृत्वदायी शक्ति भएकाले राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र हितरक्षा गर्नसक्ने पार्टी भएको अथ्र्याएका छन् ।

कुन पार्टी कस्तो ?

कांग्रेस 

यथास्थितिवादी, भ्रष्टाचारको पर्यायवाची । बचेखुचेको उदार समान्तवर्ग र राष्ट्रिय पुँजीपतिवर्गको प्रतिनिधि । संविधानको अन्तर्वस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न नसक्ने । कैयौं राष्ट्रघाती सन्धि-सम्झौता गरेका कारण स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न नसक्ने । राष्ट्रिय स्वाधीनताको सवालमा ढुलमुले ।

राप्रपा समूह

‘प्रतिगामी, दक्षिणपन्थी, निरंकुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थामा सत्ताभोग गर्ने पञ्चहरूको पार्टी । मूलतः अवशेषका रूपमा रहेको सामन्तवर्गको कट्टरपन्थी हिस्साको प्रतिनिधि । गणतन्त्र र संघीयताविरोधी तथा राजतन्त्र र एकात्मक सत्ताको पक्षपाती ।

राजपा

राष्ट्रिय आत्मसमर्पणवादी । सामन्तवादका अवशेष र दलाल पुँजीपतिवर्गको प्रतिनिधि । राष्ट्रिय आत्मसमर्पणवादी एवं दलाल नीतिको पक्षपोषक । गरिब तथा श्रमिकमुखी सामाजिक-आर्थिक रूपान्तरणको विरोधी । राष्ट्रिय स्वाधीनता, राष्ट्रहित एवं राष्ट्रिय एकता कमजोर पार्न सक्रिय ।

संघीय समाजवादी

राजपाको प्रवृत्तिभन्दा पृथक् । मधेसलाई मुख्य कर्मथलो बनाउँदै देशका अन्य भागमा पनि संगठित हुने कोसिस गरिरहेको पार्टी । मिल्ने मुद्दामा सहकार्य गर्न सकिने ।

अन्य शक्ति

ध्रुवीकरण र सहकार्यमा ल्याउनुपर्ने शक्ति । साना कम्युनिस्ट जडसूत्रीय संकीर्णतावादी, आत्मकेन्द्रित गुटबन्दी प्रवृत्तिका । ती प्रवृत्तिको आलोचना गर्दै एकता, ध्रुवीकरण र सहकार्यमा ल्याउन प्रयत्न गर्नुपर्ने शक्ति ।  -अन्नपुर्णबाट

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि अब दुई सय मिटर ड्रिलिङ बाँकी

दैलेख । दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार शनिबारसम्म तीन हजार आठ सय मिटर ड्रिलिङको काम सम्पन्न भएको छ। अव दुई सय मिटर ड्रिलिङ बाँकी छ। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेबाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ सुरु गरिएको थियो। खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट प्रकाश लुइँटेलले पुस महिनाभित्र ड्रिलिङको काम सम्पन्न हुने बताए। ‘सात महिनामा तीन हजार आठ सय मिटर ड्रिलिङ सम्पन्न भएको छ,’ लुइँटेलले भने, ‘यो महिनाभित्र ड्रिलिङ र अरू प्राविधिक काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ चिनियाँ र नेपाली टोलीले दुई चरणमा ड्रिलिङको काम गर्दै आइरहेको छ। जियोलोजिष्ट लुइँटेलका अनुसार दैनिक १५ देखि २० मिटरसम्म ड्रिलिङ हुने गरेको छ। दैलेखको पञ्चकोसी क्षेत्रमा वर्षौदेखि ज्वाला बलिरहेको र यस क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास रहेको अनुसन्धानबाट देखिएपछि अन्वेषण सुरु गरिएको हो।  ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। चिनियाँ र नेपाली गरी ८० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ। प्राविधिक टोलीले प्रत्येक मिटरबाट संकलन गरेको स्याम्पल ड्रिलिङस्थल, खानी तथा भूगर्भ विभाग र चीनमा परीक्षणका लागि पठाउँदै आइरहेको आजको नागरिक दैनिकमा खबर छ ।

ओली प्रधानमन्त्री भएपछिका तीन महिनामा बढ्यो ८९ अर्ब सार्वजनिक ऋण

काठमाडौं । केपी ओली नेतृत्वको सरकार सय दिन पूरा गर्ने सम्मुखमा छ । उनी प्रधानमन्त्री भएको तीन महिना (साउन–असोज)मा मात्रै देशको सार्वजनिक ऋण ८८ अर्ब ९४ करोड रुपैयाँले बढेको छ । योसँगै असोज मसान्तसम्म सरकारको थाप्लोमा २५ अर्ब २३ अर्ब तीन करोड सार्वजनिक ऋण पुगेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।  यसअघि ०८०/८१ को अन्त्यसम्म २४ खर्ब ३४ अर्ब नौ करोड ऋण थियो । ओली ३० असारमा प्रधानमन्त्री भएका थिए । पछिल्लो तीन महिनामा सरकारले एक खर्ब ३६ अर्ब रुपैयाँ ऋण उठाएको छ भने ६९ अर्ब सावाँ भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण आन्तरिकतर्फ १२ खर्ब ३६ अर्ब ३० करोड र बाह्यतर्फ १२ खर्ब ८६ अर्ब ७३ करोड पुगेको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा सार्वजनिक ऋण ४४.२३ प्रतिशतबराबर पुगेको छ ।  सरकारले चालू आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । असोज मसान्तसम्ममा एक खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण प्राप्त गरेको छ । यस अवधिमा ५९ अर्ब ६० करोड आन्तरिक ऋणको सावाँ र नौ अर्ब ४३ करोड बाह्य ऋणको सावाँ भुक्तानी गरेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २४.९२ प्रतिशत छ । जसमध्ये आन्तरिक ऋण ३४.८५ प्रतिशत र बाह्य ऋण प्राप्ति ९.८२ प्रतिशत छ ।  अर्थविद् डा. चन्द्रमणि अधिकारी सरकारको आम्दानीभन्दा खर्च धेरै हुँदा ऋण परिचालन बढाउन दबाब भएको बताउँछन् । ‘अहिले सरकारको आम्दानीभन्दा खर्च धेरै (बजेट घाटा) छ । खर्च धान्नका लागि पनि ऋण परिचालन बढाउन दबाब भएको देखिन्छ । विदेशी ऋण परियोजनामा आउने हुन् । तर, पुँजीगत कार्य नहुँदा वैदेशिक ऋण परिचालन बढ्न सकेको छैन । चालू खर्च बढी भएको छ, तर राजस्व संकलन कमजोर भएको छ । त्यसले गर्दा ऋण प्राप्ति बढाउन दबाब भएको देखिन्छ,’ उनले भने, ‘समग्रमा स्रोत अभावकै कारण ऋण प्राप्ति बढाउन परेको देखिन्छ । यसरी पहिलो त्रैमासमा ऋण बढी परिचालन गरेको अवस्थामा आर्थिक वर्षान्तमा स्रोत व्यवस्थापनमा चुनौती हुन सक्छ ।’ ब्याजमै भयो १४ अर्ब खर्च  सार्वजनिक ऋण बढ्दै जाँदा ऋण भुक्तानीमा हुने खर्चसमेत बढेको देखिन्छ । चालू आवको तीन महिनामा सरकारले ऋणको सावाँ–ब्याज भुक्तानीमा ८३ अर्ब सात करोड खर्च गरेको छ । यस अवधिमा ६९ अर्ब तीन करोड सावाँ फिर्ता गरेको सरकारले ब्याजमा १४ अर्ब चार करोड खर्चिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ । तीन महिनामा आन्तरिक ऋणको ब्याज ११ अर्ब ८५ करोड र बाह्य ऋणको ब्याज दुई अर्ब १९ करोड भुक्तानी गरेको हो ।  चालू आर्थिक वर्ष ०८१/८२ मा ऋण सेवा खर्चमा चार खर्ब दुई अर्ब वार्षिक बजेट विनियोजन गरिएको थियो । असोज मसान्तसम्ममा वार्षिक विनियोजनको २०.६२ प्रतिशत ऋण सेवामा खर्च भएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कुल ऋण सेवा खर्च १.४६ प्रतिशत छ ।   

किन चुलिदैछ कांग्रेसभित्र सरकारप्रतिको असन्तुष्टि

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला आफ्नै पार्टीसमेत संलग्न सरकारले सय दिन पनि पूरा नगर्दै चर्को असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सामान्यतः सरकार बनेको सय दिनलाई ‘हनिमुन’ अवधिका रूपमा लिएर अरूले पनि शंकाको सुविधा दिने राजनीतिक प्रचलन छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको साढे दुई महिना मात्र हुँदै गर्दा सत्तारूढ दलकै नेता कोइरालाबाट आलोचना हुन थालेको हो । अनेक शंका–उपशंकाका बीच कोइराला भने अन्य कारण नभएर प्रधानमन्त्री ओलीका केही कार्यशैलीगत विषयप्रति मात्र आफ्नो असन्तुष्टि रहेको बताउँछन् । खासगरी ओली सरकारले गरेका केही निर्णय र पहलकदमीप्रति कोइरालाको मुख्य चासो देखिएको छ । उद्योगीहरूबाट ‘डेडिकेटेड र ट्रंकलाइन’ को महसुल भुक्तानी गर्ने विषयलाई लिएर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको योजनाप्रति आफ्नो समर्थन नरहेको उनले बताए । ‘कुलमानका कमीकमजोरी थिए भने त्यसलाई हेर्न राज्यका संयन्त्रहरू थिए तर डेटिकेटेड र ट्रंकलाइनको महसुल भुक्तानीको विषयमा जसरी उनलाई हटाउन खोजियो, त्यसमा मेरो असन्तुष्टि हो,’ उनले भने । बालुवाटारमा सर्वदलीय बैठक राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन गरिएको निर्णयप्रति पनि कोइरालाको आपत्ति नै थियो । संसद्मा रानाविरुद्धको प्रस्ताव दर्ता गर्न कांग्रेस र एमालेका मुख्य सचेतकहरूले हस्ताक्षर संकलन गरिरहेको दिन कोइराला पार्टी सभापति शेरबहादुर देउवा र इतरसमूहका नेताहरूसँग असन्तुष्टि जनाउ दिएर आँखा उपचारका लागि सिंगापुर हिँडेका थिए तर पूर्वको सिंगापुर जान उनले पश्चिम दिल्लीको बाटो लिएका थिए । ‘एकपटक हामी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगमा गएर फसेका छौं, अहिले फेरि उपसभामुखलाई हटाउने भनेर फस्न हुन्न भन्ने मेरो कुरा थियो । न दुई तिहाइ पुग्ने अवस्था थियो, न उनीविरुद्धको आरोप पुष्टि हुने अवस्था नै थियो, त्यसैले शेरबहादुरजीलाई नै असन्तुष्टि जनाएर म हिँडेको थिएँ,’ उनले भने । सत्ता गठबन्धनमा कांग्रेस–एमालेका अलावा अशोक राई नेतृत्वको जसपा, महन्थ ठाकुर नेतृत्वको लोसपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि छन् । सत्तामा रहेका सबै दलको सांसद संख्या जोड्दा पनि दुई तिहाइ पुग्दैन । ‘तर अपुग २/३ सांसद पुर्‍याउन सरकारलाई समस्या थिएन । मधेसमा सत्ता सहकार्य गरेको जनमत वा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमध्ये एउटा दलले समर्थन गर्दा सहजै दुई तिहाइ पुग्थ्यो । कोइरालाकै असन्तुष्टिले प्रधानमन्त्री ओली र हाम्रा सभापति देउवा हच्किनुभयो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेका बेला पार्टीभित्रै असन्तुष्टि बढाउँदा समीकरण तलमाथि हुन सक्ने चिन्ता देखिएपछि रोकिएको हो ।’ कोइरालाको असन्तुष्टिकै कारण उनीनिकट सदस्यहरूले उपसभामुखलाई हटाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् । कोइरालाको साथ नपाएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रानालाई उपसभामुखबाट हटाउने निर्णयबाट पछि हटे । माओवादीसँग सहकार्य गरेकै बेलादेखि सरकारको स्थिरिता र विकासका लागि कांग्रेसले एमालेसँग समीकरण गर्नुपर्ने पक्षमा कोइराला थिए । डेढ वर्षअघि एमालेले सरकार छाडेपछि कांग्रेस–माओवादी सत्ता सहकार्यमा रहेका बेला कोइरालाकै योजनामा कोशी प्रदेश सरकार गठनमा ‘विद्रोह’ गरिएको थियो । संघ र अरु सबै प्रदेशमा माओवादीसँगको गठबन्धनमा सरकार बन्दा कोशी प्रदेशमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका थिए । कार्की कोइरालाका विश्वासपात्र हुन् । त्यतिबेलादेखि नै कोइरालाले प्रतिनिधिसभाको संसदीय दलमा बहुमत जुटाउने कसरत पनि गरेको नेताहरू बताउँछन् । बहुमत सांसद आफ्नो पक्षमा नदेखिएपछि नै देउवालाई विस्थापित गर्ने योजनाबाट कोइराला पछि हटेका हुन् । माओवादीले गत फागुनमा कांग्रेस छाडेर एमालेसँग सत्तासमीकरण बनाएको थियो । त्यस समीकरणले चार महिना पार नगर्दै गत असारमा कांग्रेस–एमालेको सत्ता सहकार्य सुरु भयो । आफैंले चाहेअनुसारको समीकरण बने पनि नयाँ सरकारले सय दिन पार नगर्दै कांग्रेस नेता कोइरालामा छटपटी देखिन थालेको हो । कतिपय नेताको बुझाइमा भने ओली सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेको अवस्थामा कोइराला लाभ लिन प्रयासमा भित्रभित्रै लागिरहेका छन् । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतबाट भ्रमणको निमन्त्रणा हुने प्रचलन छ । तर ओलीले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन् । संयुक्त राष्ट्रसंघको महासभाका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता मिलाउन पनि ठूलै कसरत गर्नुपर्‍यो । कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदसमेत ओली नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थिरताको प्रत्याभूति दिने गरी काम गर्न नसकेको बताउँछन् । साउदको भनाइले समेत सरकारलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको संकेत दिन्छ । कोइरालानिकट केन्द्रीय सदस्य गोविन्द पोखरेल ओली नेतृत्वको सरकारले पनि जनतामा भरोसा जगाउन नसके कांग्रेसभित्रबाट कोइरालाले प्रधानमन्त्रीका लागि प्रयास गर्नुपर्ने बताउँछन् । ‘शेखर दाइमा आफ्नो भविष्यको चिन्ताभन्दा सरकारले बढाएको निराशाले छटपटी छ । सरकारका कारण चरम निराशा अझै बढ्दै गए विस्फोटक स्थितिबाट मुलुकलाई जोगाउन शेखर दाइ अघि बढ्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्छ,’ उनले भने, ‘पार्टीभित्र कुनै विवादमा नपरेका, केही आशा गर्न सकिने नयाँ अनुहार पार्टीको १४औं महाधिवेशनबाट नेताका रूपमा स्थापित भएकाले नै शेखर दाइ उपयुक्त पात्र हो ।’ आजको कान्तिपुर दैनिकबाट

बंगलादेशको अन्तरिम सरकार नेपालबाट बिजुली लैजान सकारात्मक

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो ।  बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो । अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको कान्तिपुर दैनिकले लेखेको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो ।  हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर ९१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार० आम्दानी हुने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर भारत–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

लोकप्रिय