लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
सोमबार दिउँसो काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै निरंकुशताका विरूद्ध सङ्घर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘‘शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ ।’’
सम्बोधनको पूर्णपाठ
सबैभन्दा पहिले नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरूले आ–आफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रूपमा मनाउने माघे सङ्क्रान्ति र माघी पर्वको सुखद् अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्रकृतिवादी समुदाय हुनुको नाताले मगर समुदायका आफ्ना गतिविधि, परम्परा र संस्कृति प्रकृतिमा आधारित रहने गर्दछन् । माघी पर्व, उधौली–उभौली जस्ता संस्कृतिहरू मगर समुदायले ऐतिहासिक परम्परा र जीवनवृत्तिमा आधारित छन् । यस अर्थमा यो पर्व सांस्कृतिक विशेषता र विविधतायुक्त मात्र नभएर वैज्ञानिक मान्यतामा समेत आधारित छ । प्रकृतिको सम्मानस्वरूप पूजापाठ गर्ने, आफ्नो पितृहरूलाई सम्झने–पूज्ने र चेलिबेटीहरूलाई आफ्नो घर बोलाएर मिष्ठान भोजन खुवाउने प्रचलन मगर समुदायमा रहिआएको छ ।

माघी पर्व शिकारी युगबाट कृषि युगमा प्रवेशको संक्रमणपूर्व प्रकृतिमा पाइने तरूल, भ्याकुर, कन्दमुल जस्ता परिकारहरू खुवाउने, आशिर्वाद दिने जस्ता कार्यहरू हुने भएकाले माघे सङ्क्रान्ति मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्व हो । यसै यथार्थलाई सम्बोधन गर्न मेरो नेतृत्वको सरकारले माघी पर्वमा राष्ट्रिय विदा दिने निर्णय गरिएको पनि म यहाँ स्मरण गर्न चाहन्छु ।
भौगोलिक रूपले यति सानो मुलुकमा हामीले जातीय, भाषिक, सांस्कृतिक रूपमा जुन विविधता प्राप्त गरेका छौँ, यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति हो । माघे सङ्क्रान्ति पर्व खस–आर्य, मगर, राई, थारु, लिम्बु, नेवार, गुरूङ, मैथिली, कुमाल लगायतका जाति जनजातिहरूको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्व हो । यस अर्थमा पनि माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्दछन् ।
नेपाली जनताको सात दशक लामो न्यायपूर्ण सङ्घर्षको बलमा जनताका प्रतिनिधिहरूको सामूहिक विवेकद्वारा निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै स्वाधीनतासहितको समृद्ध नेपालको परिकल्पना गरेको छ । तसर्थ, संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै विविधतामा एकता हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको अग्रणी भूमिका र योगदान रहँदै आएको छ । आज हामीले पहिचान र अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली प्राप्त गरेका छौँ, त्यसको पृष्ठभूमिमा नेपालका प्रथम शहिद लखन थापा लगायतका क्रान्तिकारी योद्धाहरूको बलिदान महत्वपूर्ण छ ।
यही विद्रोहको जगमा उठेको राजनीतिक चेतनाले १९९७ सालको शहादतसँगै २००७ सालमा राणाशासनको अन्त्य गरायो । त्यस्तै संघर्षहरू २०२७, २०३६ र २०४६ साल हुँदै देश जनयुद्धमा होमियो र २०६२÷६३ को बृहत आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । यो महान् जनताहरूको बलिदानको प्रतिफल थियो तर प्रेरणाको स्रोत भने उही बुङ्कोटको ऐतिहासिक विद्रोह नै थियो । विगतलाई हेर्दा पनि २००७ सालमा नेपाली कांग्रेसले र १० वर्षे जनयुद्धमा नेकपा माओवादीले अख्तियार गरेको युद्धनीतिहरूमा बुङ्कोट विद्रोहकै स्पष्ट प्रभाव छ । तसर्थ, नेपालको क्रान्तिकारी रूपान्तरणको प्रक्रियामा लखन थापाको बिरासतलाई हामीले उच्च सम्मानका साथ स्मरण गर्नैपर्छ ।
शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल गर्ने विश्वास पनि म तपाईहरूलाई दिलाउन चाहन्छु ।
माघी पर्वका निम्ति सङ्घीय सरकारको तर्फबाट तपाईहरूले सहयोगको अपेक्षा गर्नुभएको छ, जुन स्वाभाविक पनि छ । पछिल्लोसमय देशको अर्थतन्त्रले चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेकाले तपाईहरूले उठाउनुभएका कतिपय विषयहरू सम्बोधन गर्न नसकिएको यथार्थ हो । तर, मेरो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधार ल्याउन गरेको लगातारको प्रयासले अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ । आगामी वर्ष अर्थतन्त्रमा गुणात्मक सुधार आउनेछ । त्यसले तपाईहरूले उठाउनुभएको माग सम्बोधन गर्नसमेत सहज हुने मैले विश्वास लिएको छु ।
अन्त्यमा, यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी आफ्ना विचारहरू राख्ने अवसर दिनुभएकोमा आयोजकहरूप्रति हार्दिक आभार प्रकट गर्दै माघी महोत्सव २०८० को सफलताको शुभकामनासहित विदा हुन्छु । धन्यवाद ।
उदयपुरमा छठपूजाको तयारी सुरु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा छठपूजाको तयारी सुरु भएको छ । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व तिहार सकिएसँगै हिन्दुहरूकै पर्वको रूपमा परिचित छठपर्वको तयारी सुरु भएको हो । छठपर्वका लागि त्रियुगा नदी किनारमा भौतिक पूर्वाधार निर्माणको काम सुरु गरेको त्रियुगा नगरपालिका मेयर वसन्तकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार छठका लागि नदी सम्याउने, बर्तालु बस्ने छठीघाट निर्माण गर्नेलगायतका काम सुरु भएको छ । ‘गाईघाटमा छठपर्वलाई भव्य र सभ्य बनाउन नगरपालिका लागिपरेको छ ।’ छठ हाम्रो संस्कृति, आस्था र एकताको प्रतीक भएकाले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गरी भक्तजनहरूले सहज, सुरक्षित र व्यवस्थित वातावरणमा पूजा गर्न पाउने गरी तयारी थालिएको छ । त्रियुगा नगरपालिका छठपूजा समितिका अध्यक्ष चन्दन साहका अनुसार त्रियुगा खोला सम्याउने, बर्तालुघाट निर्माण गर्ने, टेन्ट निर्माण गर्ने काम सुरु भएको हो । उनले भने, ‘सूर्य भगवानकाे प्रतिमा भएको मूर्ति निर्माण, औपचारिक कार्यक्रमका लागि मञ्च निर्माणस्थल बनाउने काम, लाइट ग्यालरीको जडानका लागि काम सुरु भएको छ ।’ छठपर्व सूर्य भगवान् र छठीमाईको आराधनामा मनाइने हिन्दु धर्मको एक महत्त्वपूर्ण पर्वमा लिइन्छ । चार दिनसम्म चल्ने यस पर्वमा भक्तजनले उपवास, नदी स्नान र सूर्यलाई अर्घ्य अर्पण गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्छन् । तिहार सकिएसँगै छठपर्व सुरु हुन्छ ।
पश्चिम तराईमा मनाइयाे करवाचौथ पर्व
बाँके । बाँकेलगायत पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाले शुक्रबार करवाचौथ पर्व मनाएका छन् । तराईमा बसोबास गर्ने विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाएको नेपालगन्ज–१८ की अगुवा महिला लक्ष्मी मिश्रले बताए । उनका अनुसार महिलाले दिनभरि निराहार उपवास बसेर राति चन्द्रमा उदाएपछि चन्द्रमाको पूजाअर्चना र दर्शनपछि पतिको पूजाअर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गरे । नेपालगन्जका अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले शुक्रबार बिहानैदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिला चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनः पतिको पूजा गर्दै व्रतालु महिलाले पतिको हातबाट सबैभन्दा पहिले जल ग्रहण गरेको बताए । उनका अनुसार यस पर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रूपमा आआफ्ना पतिलाई पनि पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घायुको कामना गर्ने गरिन्छ । यस पर्वमा महिलाहरू राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गरगहनासहित शृङ्गार गरी दुलही जस्तै बनेर चन्द्रमा उदाएपछि चल्नी (गहुँको पिठो चाल्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चल्नीको जालीबाट चन्द्रमा दर्शन गर्दछन् । चन्द्रमाको दर्शन गरेपछि पुनः सोही चल्नीमा चन्द्रमाको ठाउँमा आआफ्ना पतिलाई उभ्याएर पतिको दर्शन गर्छन् । घरको आँगनमा वा भित्तामा गौरी गणेश भगवान्को चित्र कोरेर टोलभरिका महिला एक ठाउँमा जम्मा भएर पूजापाठ गर्ने गरिन्छ । करवाचौथको दिन पकाइने विशेष पकवान नयाँ चामलको पिठोले बनाएको फाराको पनि पूजा गरिन्छ । पूजापाठपश्चात् कथा सुनाउने चलन पनि रहेको छ ।
आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने सोमबार राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान सुरु, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको समितिका सदस्य भट्टराईले जनाकारी दिए । वैदिक सनातन धर्ममा कार्तिक मासमा गरिने स्नान र दानको ठुलो महत्त्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । कार्तिक मासमा गरिएको दान अक्षय हुने भएकाले देउसीभैलो खेल्नेलाई पनि दान दिने प्रचलन सुरु भएको हो ।
बडादसैं प्रारम्भ, आज घटस्थापना
काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादसैं आज घटस्थापनासँगै सुरू भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको पहिलो दिन विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घर–घरमा देवी दुर्गाको आह्वान गरिन्छ । आज बिहान ९:१३ बजे घटस्थापनाको साइतमा पूजा कोठा वा दसैं घरमा गाईको गोबरले लिपपोत गरी बालुवा वा माटो राखेर जौ (जमरा) रोपिएको छ । यवका अङ्कुर देवी दुर्गाको प्रिय वस्तु मानिँदै विजयादशमीको दिन टीका–प्रसादसँगै समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ । धर्मशास्त्रविद् देवमणि भट्टराईका अनुसार जमरामा जौ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय परम्परा छैन । नौ दिन नौ दुर्गाको पूजा नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीसहित शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका नौ दुर्गाको पूजा–आराधना गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा दसैं सबै जातधर्मका मानिसले मनाउने परम्परा छ । सातौं दिन फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन बलिपूजा हुने परम्परा छ । नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत लगायतका स्तोत्रको पाठ गरिन्छ भने गुह्येश्वरी, मैतीदेवी, शोभा भगवतीसहित देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ । विजयादशमी र कोजाग्रत पूर्णिमा यस वर्ष दशमी असोज १६ गते परेको छ। देवी विसर्जनको साइत बिहान ९:२३ र टीका ग्रहणको उत्तम साइत ११:५३ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण र महालक्ष्मीको व्रत बस्ने चलन छ । हनुमानढोकामा विशेष पूजा परम्पराअनुसार काठमाडौंको हनुमानढोकास्थित दसैं घरमा पनि आजैदेखि वैदिक विधिअनुसार जमरा राखी पूजा आरम्भ गरिएको छ । महानवमीका दिन ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा छ । बडादसैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर रहेका नेपालीहरू यही अवसरमा घर फर्केर परिवारसँग पर्व मनाउने गर्छन् । धेरै शैक्षिक संस्था आजैदेखि बिदामा छन् ।


