लघुकथा : लाहुरे दाई
सन्तोष रोकाया
नरोऊ जानु म छिट्टै आछुनी अनि हाम्रा सुन्दर सपनाहरु सँगै साकार गरौंला नरोऊ है । मल्लो घरको काकालाई मंसिर लगाईदिनु भनेको छु । आमालाई सघाउनु,छिमेकीको प्यारी बन्नु,हन्छ है ? म जान्छु ल जुनु ?
यसरी आफ्ना मुहारबिन्दुबाट यी कोमल शब्दहरु उफार्दै भारत हानिएको थियो दिले दाई । जानु भाउजुले भने आफु सँग शब्द भण्डार नै नभए जसरी घुक्कघुक्क रुदैँ आफ्ना हातका दश औंला दिले दाईको पाउमा विसार्दै-ढोग्दै पछारिएकी थिईन् ।
९ वर्षको छँदा बुवालाई गुमाउन पुगेको दिले दाईको आफ्नो भन्ने आमा, मल्लोघरको काका र जानु मात्रै छन् क्यारे । वालापनमै बाबा गुमाएको दिले दाईको सबै काम उसकै काँधमा थुपारियो । स्कुलमा सबैको प्यारो दिले ४ कलासमै बिद्यालय छोड्न बाध्य भयो ।
खेतीपाती लगाउने,खनजोत गर्ने,मेलापात जाने सबै काम उसले सानै उमेरमा आमा सँगै सिक्यो । दिन बित्दै गए अब त दिले दाई पनि १८ वर्षको भइसक्यो । आमाले उसलाई बाबु अब तँपनि ठुलो भईसकिस् मेरो पनि दिनहरु डुब्न लागेको घाम झैँ हुदैछन् । अब त एउटा बुहारी नखोजी भएन । घरमा काम गर्ने पनि त चाहियो हैन त छोरो ?
“मेरी मनकी प्यारी जुनु तिमीलाई मेरो काखमा बसेर दुखसुखका कुरा गर्न मन किन नहुँदो हो तर बाध्यता भन्नुपर्छ । गरिव घरमा जन्म भयो । भगवानले पनि यस्तै दिलाएको छ । तिमीले पनि मेरो कुरामा स्विकार गरेकी छौ,सहमति जनाएकी छौ । मलाई पनि थाहा छनि लाटी बिहे गरेको ३ महिनामै हामी एक अर्काबाट टाढा भयौंं । पर्ख है मेरी मनकी जुनु म छिट्टै आउने छु अनि सँगै बस्नेछौं । सुखदुखका कुरा गर्नेछौ” ।
दिलेले पनि आमाको वचनलाई अस्विकार गर्न नसकि मल्लोघरको काका सँग आमाले भनेको सबै कुरा राख्यो । काकाले पनि सहमति जनाउँदै आफ्नो ससुराली गाउँको अमरको छोरी जानु भन्ने केटी छ । सोझी छ अनि असाध्यै दुंख पाएकी,सानैमा आमा बित्नु भो रे । घरमा बुवा भाई र उ मात्रै छन् रे । उसैको कुरा गरे कसो होला । काका हजुरले भनेपछि म किन नाईनास्ती गरुँला र । हुन्छ,कुरा गर्नु म राजी छु । यसरी नै दिले दाईको जानु भाउजु सँग लगन जुरेको थियो र पछि विवाह हुन पुग्यो ।
विवाह भएको ३ महिनामै दिले दाई भारत तिर हानियो । गरिब परिवारको दिले गाडी भाडा र बाट खर्च जसोतसो मिलाएर घर छोड्यो । दिले दाई सँगै एसएलसी परिक्षा उतिर्ण गर्न नसकेका पल्लो गाउँका मुखियाका नाती धने र व्यापारी भनेर चिनिने बिरेको छोरा शैलेस पनि सँगै लागे ।
कमाउन भनेर भारत लागेको दिले गाँजा तस्करीको अभियुक्त भनेर कञ्चनपुर गड्डाचौकी नाकामा प्रहरीबाट समातियो । झोलामा आफ्ना लगाउने लुगाकपडा र १ जोर जुता मात्र हालेको दिले आफै नै रनभुल्लमा प¥यो कसरी म गाँजा तस्करीमा परेँ ? तराई,पहाड लगायत हिमालका सञ्चार माध्यमहरुमा “गाँजा तस्कीमा १ जना अभियुक्त पक्राउ” भन्ने समाचार सबैको कानकानमा पुग्यो र पुग्यो उसकी प्यारी जुनु र आमाको कानमा ।
स्वयम दिलेले नै बुझ्न नसकेकको कुरा उसकी जुनु र आमाले बुझ्नु त आकाश पातालकको कुरा थियो । तर पनि जुनु र उसकी सासु आमाले (दिलेकी आमा) दिले प्रति दृढविश्वास गरिन्, ताकी यो काम दिलेबाट भएको हुनै सक्दैन । अरु कोहि नै शत्रु लागेका हुन सक्छन् भन्ने शंका उब्जाईन् । हुँदा पनि त्यस्तै दिले प्रहरी चौकीमा राखेको ३ दिन पछि प्रहरीको अनुसन्धान र दिलेको वयानले उसकै साथी धने र शैलेसले आफु सँग भएको गाँजा दिलेको झोलामा राखेर आफुहरु अर्को टाँगामा गएको र दिलेलाई एक्लै छोडेको प्रहरी अनुसन्धानबाट सावित भयो र दिलेलाई छुटकारा दिईयो भने ति दुई जना धने र सैलेशलाई पक्राउ गर्न प्रहरी तलासमा लागे ।
पहिलो गासमै ढुङगा’ भनेझैं दिले भारत जानेकी घर फर्किने भनेर दोधारमा पर्यो । घर पो के लगेर फर्किने ? जसोतसो मन बनाएर दिलेदाई भारतको व्यङ्लोर हानियो । व्यङ्लोरमा आाफ्नो मामा भएकाले पनि दिले दाईलाई काम खोज्न त्यति अप्ठेरो परेन । मामा सँगै काम ग¥यो । बेला बेला दिले घरमा आमालाई र आफ्नी प्यारी जुनुलाई फोन ग¥थ्र्याे । आफु सञ्चै भएको र कमाई पनि राम्रै भएको खवर सुनाउँथ्यो । यता उसकी प्यारी जुनु भने दिलेको यति राम्रो खवर सुनेर आफुले बुनेका सपना साकार हुने कल्पिदै मुसुक्क हाँस्दै र बेला बेला आफ्नो श्रीमानले भोग्नु परेको दु.ख सम्झिदै आँसु झार्दै थिईन् ।
दिन, हप्ता, महिना हुँदै दिलेले अर्को दशैंमा घर आउँछु भनेको पनि गईसक्यो अब त दिले भारत गएको २ वर्ष पुग्नै थालेछ क्यारे । बिहे गरेर ३ महिनामै घर छोडेको दिलेकी प्यारी जुनु अब त यता ऐना हेरेर अनुहारका रेखीहरु गिन्ती गर्न थाली होलिन् । आफ्ना चिल्ला राता गालाहरुलाई थप्पड हान्दि हुन् र भन्दि हुन् तँ अभागी । सँगै बिहे गरेकी तल्लो घरको माईलीको डेढ वर्षको छोरा देख्दा जानु भाउजु आफ्ना इमोस्नल ओर्गानहरुलाई सुम्सुम्याउँछिन होलिन् र दिले दाईलाई कल्पना गर्दि हुन् ।
उता दिले दाई पनि सोच्छन् होला मेरी मनकी प्यारी जुनु तिमीलाई मेरो काखमा बसेर दुःख–सुखका कुरा गर्न मन किन नहुँदो हो तर बाध्यता भन्नुपर्छ । गरीबको घरमा जन्म भयो । भगवानले पनि यस्तै दिलाएको छ । तिमीले पनि मेरो कुरामा स्विकार गरेकी छौ, सहमति जनाएकी छौ । मलाई पनि थाहा छ नि लाटी बिहे गरेको ३ महिनामै हामी एक–अर्काबाट टाढा भयौंं । पर्ख है मेरी मनकी जुनु म छिट्टै आउने छु अनि सँगै बस्ने छौं । सुख–दुःखका कुरा गर्ने छौं । हो दिले दाई पनि यस्तै सोच्छ होला । अनि आफ्नो जन्मलाई धिक्कार्छ होला ।
अब त गाउँघरका साना नानीहरु जानु भाउजुलाई भाउजु लाहुरे दाई कहिले आउनु हुन्छ भनेर भन्न थालेका छन् । जानु भाउजु आउँदोे दशैंमा आउनुहुन्छ । गुड मिश्री खान आउनु है बाबुहरु भनेर टपाल्न थालेकी छिन् । खै ! उता भने लाहुरे दाईको आजभोलि भारु रुपैयाँमा आँखा परेको छ । कहिले आउँछ त्यो त उसैलाई थाहा छ । यता भने जानु भाउजु पर्खि बसेकी छिन् र आफ्ना सुनौला सुन्दर सपनाहरु साकार गर्न कल्पिरहेकी छिन् । केवल उही लाहुरे दाईको भरमा ।।
ठेगानाः मष्टा गा.पा.२ बझाङ
हालः धनगढी कैलाली
वरिष्ठ पत्रकार कौशल चेम्जोङको ‘नेपालको इतिहासमा उदयपुर’ पाठककाे हातमा
उदयपुर । वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर (वि.सं. १९००–२००७)’ शुक्रबार लोकार्पण गरिएको छ। त्रियुगा नगरपालिका कार्यालय, गाईघाटमा आयोजित कार्यक्रममा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्। वि.सं. १९०० देखि २००७ सम्मको १०७ वर्षे ऐतिहासिक कालखण्डलाई केन्द्रमा राखेर तयार गरिएको ३६८ पृष्ठको यो पुस्तक सात अध्यायमा विभाजित छ। पुस्तकले उदयपुरको राजनीतिक विकासक्रम, प्रशासनिक संरचना, सामाजिक परिवर्तन, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणलाई तथ्यपरक ढंगले प्रस्तुत गरेको प्रकाशक उदयपुर अनुसन्धान केन्द्र ले जनाएको छ। यसअघि ‘उदयपुरको इतिहास’ मार्फत प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्मको इतिहास दस्तावेजीकरण गरिसकेका लेखक चेम्जोङले यो पुस्तकलाई त्यसै अनुसन्धान यात्राको दोस्रो खण्डका रूपमा प्रस्तुत गरेका हुन्। पुस्तकमा विशेषतः राणाकालीन शासन व्यवस्था, स्थानीय प्रशासनिक संरचना, सामाजिक विभाजन, शिक्षा, आर्थिक गतिविधि तथा राजनीतिक चेतनाको विकासलाई ऐतिहासिक प्रमाणका आधारमा विश्लेषण गरिएको छ। लोकापर्ण कार्यक्रममा पुस्तकका टिप्पणीकार तथा त्रियुगा जनता बहुमुखी क्याम्पस का प्रमुख प्राध्यापक डा. कैलाशकुमार राई ले केही भाषागत कमजोरी भए पनि उदयपुरको १०७ वर्षे इतिहासलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु पुस्तकको ठूलो उपलब्धि भएको बताए। उनका अनुसार इतिहासका विद्यार्थी, शोधकर्ता तथा स्थानीय इतिहासमा रुचि राख्ने पाठकका लागि यो कृति उपयोगी दस्तावेज बन्नेछ। लेखक चेम्जोङले झण्डै दुई दशकको अध्ययन, अभिलेख संकलन र क्षेत्रीय अनुसन्धानपछि पुस्तक तयार पारेको बताए। उनले अनुसन्धान क्रममा प्राप्त सामग्रीमा त्रुटि वा कमी देखिए आगामी संस्करणमा सुधार गर्दै जाने प्रतिबद्धता जनाए। साथै, पाठक र अनुसन्धानकर्ताबाट सुझावको अपेक्षा पनि व्यक्त गरे। चेम्जोङले अब वि.सं. २००७ देखि २०४६ सम्मको उदयपुरको राजनीतिक–सामाजिक इतिहास समेट्ने अर्को पुस्तक तयार पार्ने जानकारी पनि दिए। लेखकका अनुसार पुस्तक तयार गर्ने क्रममा प्रकाशित तथा अप्रकाशित पुस्तक, पुराना पत्रपत्रिका, सरकारी अभिलेख, स्थानीय दस्तावेज, अनलाइन स्रोत तथा पुरातात्त्विक सामग्रीको गहिरो अध्ययन गरिएको छ। यससँगै स्थानीय ज्येष्ठ नागरिक, सामाजिक अगुवा, पूर्वकर्मी, क्रान्तिकारी मुक्ति योद्धा तथा अनुसन्धानसँग सम्बन्धित व्यक्तिहरूसँग अन्तरक्रिया गरी मौखिक इतिहास पनि संकलन गरिएको छ। यसले पुस्तकलाई केवल लिखित सामग्रीमा सीमित नराखी बहुआयामिक बनाएको लेखकको भनाइ छ। पाण्डुलिपि अध्ययन तथा सुधार प्रक्रियामा त्रिभुवन विश्वविद्यालय इतिहास विभागका सह–प्राध्यापक डा. विजय मिश्र बाट महत्वपूर्ण सुझाव र मार्गदर्शन प्राप्त भएको लेखकले उल्लेख गरेका छन्। स्थानीय तहबाट प्राप्त सहयोगले पनि पुस्तक प्रकाशनमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। प्रकाशकीयमा उदयपुर अनुसन्धान केन्द्रले काठमाडौं–केन्द्रित इतिहासले नेपालको समग्र यथार्थ चित्रण गर्न नसक्ने उल्लेख गर्दै क्षेत्रीय तथा स्थानीय इतिहास लेखनलाई राष्ट्रिय आवश्यकता भएको स्पष्ट पारेको छ। केन्द्रका अनुसार वि.सं. १९०० देखि २००७ सम्मको अवधि नेपालको इतिहासमा राजनीतिक उतारचढाव, सामाजिक परिवर्तन र शासन व्यवस्थाको संक्रमणकालका रूपमा महत्वपूर्ण मानिन्छ। यही अवधिमा उदयपुरले भोगेका प्रशासनिक संरचना, आर्थिक सम्बन्ध, सामाजिक रूपान्तरण र राजनीतिक चेतनाको विकासलाई पुस्तकले ऐतिहासिक तथ्यका आधारमा उजागर गरेको दाबी गरिएको छ। पुस्तक सात अध्यायमा संरचित छ। पहिलो अध्यायमा अनुसन्धान पद्धति, स्रोत तथा पूर्वकार्यको समीक्षा समेटिएको छ। दोस्रो अध्यायमा नेपालको राष्ट्रिय राजनीतिक इतिहाससँग उदयपुरको सम्बन्ध र प्रभावबारे चर्चा गरिएको छ। तेस्रो अध्यायमा प्रशासनिक, न्यायिक र सैनिक संरचनाको अध्ययन गरिएको छ भने चौथो अध्यायमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको चित्रण गरिएको छ। पाँचौं अध्यायमा वि.सं. १९००–२००७ सम्मका महत्वपूर्ण घटनावली तथा २००७ सालको जनक्रान्तिमा उदयपुरको भूमिकालाई समेटिएको छ। छैटौं अध्यायमा निष्कर्ष र सातौं अध्यायमा स्रोत सामग्री तथा अनुसन्धान प्रक्रिया समावेश गरिएको छ। लेखक चेम्जोङका यसअघि ‘भूत लघुकथा संग्रह’, ‘उदयपुरको पर्यटन विकास, सम्भावना र चुनौती’, ‘जीवनका रङ्गहरू’, ‘उदयपुरको इतिहास’ र ‘उदयपुरको साहित्य’ लगायत कृतिहरू प्रकाशित छन्। लामो समयदेखि आख्यान र गैर–आख्यान दुवै विधामा सक्रिय उनी अनुसन्धानमूलक लेखनका परिचित नाम मानिन्छन्। मोफसलमा बसेर अनुसन्धान र प्रकाशन गर्नुपर्ने चुनौतीबारे बोल्दै लेखकले स्रोत अभाव, आर्थिक कठिनाइ, अभिलेखीय समस्या तथा संस्थागत सहयोगको कमीले अनुसन्धानमूलक लेखन कठिन बनेको बताए। उनका अनुसार स्थानीय इतिहास संरक्षण र अभिलेखीकरणका लागि राज्यले थप सहयोग गर्न आवश्यक छ। स्थानीय इतिहासलाई राष्ट्रिय विमर्शसँग जोड्ने उद्देश्य बोकेको ‘नेपालको इतिहासमा उदयपुर’ उदयपुरको ऐतिहासिक पहिचान उजागर गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ। इतिहास अध्ययनमा रुचि राख्ने पाठक, विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि यो पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।
भक्तपुरमा आजदेखि प्रसिद्ध बिस्का जात्रा सुरु
भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैरवनाथ (भैलखः) को रथ तानातान गर्दै जात्राको औपचारिक सुरुआत हुनेछ । यससँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्नेछ । जात्राको मुख्य आकर्षण भैलखः रथ तानातान हो । पहिलो दिन पाँचतल्ले मन्दिरबाट भैलखःलाई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका स्थानीयले डोरी तानेर आ–आफ्नो टोलतर्फ लगिन्छ । यस क्रममा दत्तात्रेयसम्म पुर्याई पुनः तमारी हुँदै गःहिटीमा पुर्याएर पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ । जात्राको चौथो दिन ल्यसिङखेलमा ५५ हात लामो यसींद्यो (लिङ्गो) उठाइन्छ भने पाँचौं दिन नयाँ वर्षको दिन भैरवनाथ र भद्रकालीको रथलाई जुधाई ‘द्योः ल्वाकिगु’ जात्रा मनाइन्छ । अन्तिम दिन भैलखःलाई पुनः तानातान गरी जात्रा समापन गरिन्छ । संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बिस्का जात्रा भैरवनाथ र भद्रकालीसँग सम्बन्धित छ । यसलाई प्रचलित ‘सर्प मार्ने’ किंवदन्ती गलत भएको उहाँको भनाइ छ । जात्रालाई मर्यादित र शान्तिपूर्ण बनाउन प्रशासनले विशेष सुरक्षा व्यवस्था गरेको छ । पहिलो र अन्तिम दिन भैलखः तान्ने समय दिउँसो ३ बजेदेखि ५ बजेसम्म मात्र सीमित गरिएको छ । रथमा निश्चित व्यक्तिबाहेक अरूलाई चढ्न नदिने, नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाइएको छ । करिब २ हजार प्रहरी परिचालन गरिने र चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।
आज हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजाआराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजाआराधना गर्ने चलन छ । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदिएको शास्त्रमा उल्लेख छ । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो । हनुमानलाई ‘मङ्गलमूरत’का रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भएको जानकारहरू बताउँछन् । हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शत्रुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनु पूर्व नै अस्तित्वमा आइसकेको बताइन्छ । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । रामायण नै हनुमानका बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिनुभएको वर्णन गरिएको छ । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठुलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठुलो कोही पनि छैन भनी वर्णन गरिएको छ । यस अवसरमा आज स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजाआराधना गर्दछन् । हनुमानलाई बजरङ्ग बलि पनि भनिन्छ, किनकि हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवन पुत्रका रूपमा चिनिन्छन् । पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्त्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ । हनुमानले भक्ति योग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दूरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजाआराधना गर्नाका साथै शोभायात्रा निकाल्ने गरिएको छ । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिन्छ ।
आज महावीर जैनको २६२५औँ जन्म जयन्ती मनाइँदै
काठमाडौँ । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्कनुभएको विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका हुन् । नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैन शास्त्रीय मान्यताअनुसार २४ वटा तीर्थङ्कर जैन छन् । धर्मको बाटो देखाउने भएकाले तीर्थङ्कर नाम दिइएको हो । हिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिएका थिए । अरूलाई दुःख दिनु पनि हिंसा भएकाले अरूको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । उनको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका छन् । महावीरको जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घ संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउने जनाइएका छन् ।

