राष्ट्रियतामा असर पर्ने कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौं– अध्यक्ष प्रचण्ड

राष्ट्रियतामा असर पर्ने कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौं– अध्यक्ष प्रचण्ड

इलाम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपाल सधैं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिका पक्षमा रहेको बताएका छन् ।

शनिबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालले पञ्चशीलमा आधारित विदेश नीति अबलम्बन गरेको बताउँदै कुनै पनि सैन्य गठबन्धनमा समावेश नहुने बताए ।

पढ्नुस अध्यक्षको पूर्ण सम्बोधन

विदेश नीतिका बारेमा
हाम्रो विदेश नीति प्रष्ट छ । असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित छैन । हामी कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । हामी असंलग्न रहन्छौं ।

पहिलो बुझ्नु जरुरी छ । यसै सन्दर्भममा चाहे त्यो विमस्ष्टेक सन्दर्भको हो, चाहे त्यो इण्डो प्यासिफिकको सैन्य अभ्यासमा किन नहोस हाम्रो राष्ट्रियतालाई असर पर्ने  कुनै पनि गठबन्धनमा हामी सहभागी हुँदैनौं । मैले प्रधानमन्त्रीजी र परराष्ट्र मन्त्रीले भनेको त्यही हो ।

हाम्रो चीनका बारेमा एक चीन नीति छ । हामी चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न दिन्नौं र दिँदैनौं भन्ने पनि हाम्रो प्रष्ट नीति हो । यही कुरा मैले गरेको हो ।
इण्डो प्यासिफिकका सन्दर्भममा पनि चीनका विरुद्ध हुने कुनै गतिविधि सह्य छैन भनिएको हो ।

प्रचार जसरी आयो, चीनबाट आधिकारिक परराष्ट्र मन्त्रालयबाट स्टेटमेन्टका रुपमा आएको होइन । कुनै समाचार एजेन्सीको समाचार बनाउने क्रममा आएको हो ।

त्यसमा सरकार, परराष्ट्रका रुपमा वक्तव्य आएको होइन ।

अर्को कुरा अमेरिकाको राजदूत या स्टेट डिपार्टमेन्टले मागेको पनि होइन । त्यहाँ काम गर्ने एकजना कर्मचारीले बाहिर भनेको मात्रै हो । आधिकारिकरुपमा न चीनले न अमेरिकाले भनेको स्थिति हो ।

मैले नेपाल राष्ट्रको घोषित नीति अनुरुप भनेको हो । कतिपयले हरेकपटक यस्तै हुन्छ भनेर भन्न खोजेको पाइयो । क्युबा, भेनेजुएला आदिका सन्दर्भममा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन खोजेको भन्ने प्रचार पनि सत्य होइन ।

भेनेजुएलाका बारेमा मैले भनिसकेको छु र परराष्ट्रले पनि भेनेजुएलाको बारेमा त्यहीका जनताले निर्णय गर्ने हो, बाहिरबाट कुनै हस्तक्षेप हुनुहुँदैन भन्ने कुरा पराष्ट्रले भनिसकेको हो ।

जहाँसम्म क्यूबाको कुरा हो, क्यूबाको पक्षमा त पुरै संसार छ । संयुक्त राष्ट्रसंघबाट नाकाबन्दीविरुद्ध प्रस्ताव पारित छ । नाकाबन्दीविरुद्ध छ । क्यूबालाई सहयोग र ऐक्यबद्धता जनाउन उनीहरुको टोली नेपाल आएको थियो । चेको छोरी नै आउनु भएको थियो । त्यो कार्यक्रममा मैले सुरक्षा परिषदको निर्णय कार्यान्वयन हुनुपर्यो, हामी त्यो मामिलामा क्युबाको पक्षमा छौं भनेको हो । तर अमेरिकालाई उत्तेजित पार्ने हाम्रो कुनै आवश्यकता छैन । अमेरिकासँग पनि कुटनीतिक सम्बन्ध छ । कैयन पक्षमा हाम्रो द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने काम भएको छ । म अमेरिका भ्रमणका बेला समेत यसविषयमा अमेरिकी अधिकारीसँग कुरा गरेको छ । विदेश नीतिका बारेमा मैले नेपालको परराष्ट्र नीति नै बोलेको छु । यसमा स्प्ष्ट हुनुपर्छ ।

पार्टी एकताका बारेमा

्पार्टी एकताको विषय धेरै टुंगिएको छ । केही पक्ष बाँकी छ । यो पनि सजिलै टुंगिन्छ ।

माधवजीसँग प्रधानमन्त्रीजीसँगको सम्बन्ध अलि बिग्रियो कि भन्ने छ, अहिले त्यस्तो छैन । सचिवालयको बैठकमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने विषयमा सर्वसम्मतले निर्णय भयो । अब फेरी माधवजीले भनेजस्तो केपी जी र मेरोबीच ठूलो कुरा होइन भनेजस्तो अहिले बैठकपछि सम्बन्ध सहज छ ।

यतिबेला पार्टीको जोड गुटहरु भत्काउनेमा छ । पार्टीलाई बलियो बनाउनुपर्छ भन्नेमा हामी केन्द्रीत छौ । अब हाम्रा छलफल त्यसरी नै जान्छन् ।
सरकारको काम कारवाही

छिमेकीसँग जे जस्ता सम्झौत भएका छन् त्इसले नेपालको हैसियत माथि उठाएको छ । ल्याण्ड लक्डबाट ल्याण्ड लिंकमा पुगेको छ । यो दूरगामी महत्वको छ ।
आर्थिक विकासको हेर्दा हामी ७ प्रतिशत भन्दा माथि गएका छौं । हामी सारै बर्बाद हुन लाग्यो भनेर प्रचार गर्नु जायज छैन । पूर्वाधार विकासमा गाउँदेखि संघीय सरकारले योजना बनाएर जाने प्रक्रिया शुरु भएको छ । सरकारको अवधिभित्र धेरै राम्रो परिणाम आउँछ भन्ने विश्वास छ ।

जनताको अपेक्षा अनुरुप हुन नसकेको सत्य हो । पार्टीले जसरी जनताले स्पष्ट पार्न अभियानको रुपमा जानुपर्ने, पार्टीले सरकारलाई निर्देशित गर्ने अवस्था नभएको, आन्तरिक कुरामा धेरै जेलिएकोले जे कमी भएको छ, त्यसमा सुधार गर्ने र जनतामा जाने साथै विकासलाई गति दिने दिशामा हामी केन्द्रीत छौं ।
अब यो सरकारले नयाँ गति लिएर जान्छ ।

गणतन्त्रमा खतरा

संघीय लोकतान्त्रिक गणतन्त्रमा खतरा अलि बढी नै भयो भन्ने चाहिँ होइन । प्रतिगामीहरुले होहल्ला गर्दैमा सार्वभौम जनताले बनाएको सबैभन्दा बढी मौलिक अधिकार भएको संविधान कसैले कमजोर गरेर कमजोर हुने स्थिति छैन । यो सिष्टम नै उल्टिने खतरा आयो भन्ने पनि होइन ।

तर हिजोका निरंकुशतावादी, अलि होहल्ला गर्न खोज्ने, एयरपोर्टमा गएर राजतन्त्रको पक्षमा नारा लगाउने, गणतन्त्रको विरुद्ध नारा लगाउने मान्छेहरु निक्लेर नेताहरुलाई सत्तोसराप गरेर गाली गर्ने प्रवृत्तिलाई गम्भीररुपमा लिनुपर्छ ।

यस्ता गतिविधि अहिलेको समृद्धिको यात्राका बाधक तत्वलाई जनतालाई सचेत पार्नुपर्छ । तर यसबाट अहिले नै संवैधानिक समस्या पर्यो भन्ने सत्य होइन ।
प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भयो, सबैले यो संविधान र गणतन्त्रप्रति संकल्प र प्रतिबद्धता व्यक्त गरे ।
मिडिया काउन्सिल विधेयकबारे

संविधानसभाको अध्यक्ष यहीं हुनुहुन्छ, संविधानमा पूर्ण स्वतन्त्रताको व्यवस्था गरिएको छ । अहिले मिडिया काउन्सिलसँगको विधेयक परिमार्जन गरेर संविधानको मर्म र भावना अनुरुप नै अघि बढाइन्छ । यो लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध सरकार हो, हामीले नै संविधान बनाएका हौं त्यसैले त्यसविरुद्ध हामी जान सक्दैनौं । तर प्रधानमन्त्रीलाई मनपरी गाली गरेर हिंडने पाउने, अभद्र, अनर्गल प्रचार गर्दै हिंडन पाउने, झठा कुरा गरेर भ्रमित गरेर हिंडन पाउने स्वतन्त्रता विश्वका कुन चाहिँ देशमा छ ? लोकतन्त्र भएपनि त्यसको मान्यता छ, गरिमा छ । के अरु पार्टी भए यत्तिको हुन्थ्यो त ?

यो प्रेस स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउने उपाय के हो भन्ने पक्ष विचारणीय भएको छ । तर निरंकुश हुन खोज्यो भन्ने कुरा मिलेको देखिएको छैन । मिडिया काउन्सिल विधेयकमा केही कमी भए सच्च्याउन तयार छौं ।

कार्यदिशा र जिम्मेवारी बाँडफाँड

पार्टीमा कोही पनि जबज र एक्काइसौं शताब्दीको बिरोधी छैनौं । आउँदो महाधिवेशनका यसलाई परिमार्जन गर्ने भनेका छैनौं । त्यो नहुँदा सम्म समाजावादोन्मुख जनताको जनवाद भनेका छौं । बीचमा त्यस्तो देखिन खोजे जस्तो देखिएपनि अहिले हामी एउटै भाषा र प्रतिबद्धतामा छौं ।

सरकारको कुरा गर्दा पार्टी र नेतृत्वबीचको सहमति हुने कुरा हो । पार्टी एकताको सन्दर्भमाम केही सहमति भएका हुन तर आजको अवस्था हेर्दा सरकारलाई कहिं कतै कमजोर बनाउन दिन खोजेका छैनौं । यो समाचार एभरेष्ट दैनिकडटकममा पढदै हुनुहुन्छ । पार्टी एकता राम्रोसँग हुनुपर्यो र सरकार प्रभाकारी भयो भने पाँच वर्ष नै यो सरकार जाँदा समस्या हुन्न भनेर मैले धेरैपटक भनेको छु ।

जनताको चाहना सरकारले राम्रा काम छिटो गरोस भन्ने छ । पार्टी एकता छिटो होस भन्ने कुरा कार्यकर्ताले भनेका छन् । हाम्रा लागि यो पदको कुरा ठूलो होइन ।
चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले भनेको हो । चुनावपछि मलाई पुरै अवधिको प्रधानमन्त्रीको अफर आएको थियो । म ती सबै छोडेर आएको छु भने म प्रधानमन्त्री बन्न हतार छु भन्नु सारै गलत हुन्छ ।

मैले जसरी लचकता र उदारता अपनाएको छु, म जस्तो अरु पाउन गारो हुन्छ । पाँच वर्ष सरकार चल्छ ।

राष्ट्रको र इतिहासको आवश्यकतालाई रचनात्मक रुपमा सोचेर जानु छ । सहमति र सहकार्य जरुरी छ ।

संविधान संशाेधन

संघीय समाजवादी पार्टीसँग तीन बुँदे सहमति भएको हो । त्यहाँ आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने कुरा छ । अहिले पनि संविधान भनेको संशोधनीय दस्तावेज हो भन्ने पार्टीको नीति हो । त्यतिबेला समाजवादी अहिले नै गर्नुपर्यो भनेको पनि हो । समयावधि तोकिएको होइन । आवश्यकता अनुसार गर्न सकिन्छ ।

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।