२ सय २७ कामदार विदेशी जेलमा, कुन देशमा कति नेपाली ?

२ सय २७ कामदार विदेशी जेलमा, कुन देशमा कति नेपाली ?

काठमाडाैँ, चैत १४ । ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् । हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ ।

यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएरलगायत अन्य सामान्य अभियोगमा के–कति नेपाली पक्राउ परेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । त्यस्ता अभियोगमा नेपालीहरू पक्राउ पर्ने र छुट्नेक्रम हरेक दिन सयौँको संख्यामा रहेकाले पनि तथ्यांक राख्न आवश्यक नरहेको कन्सुलर सेवा विभागले जनाएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार विदेशका विभिन्न जेलमा रहेका नेपाली र तिनीहरूलाई लगाइएको अभियोग र सुनाइएको सजाय यस्तो छ :

१. साउदी अरेबियाको जेलमा ६९ नेपाली : रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका नेपालीमध्ये ६९ जना जेल परेका छन् । रियादस्थित नेपाली राजदूतावासले २८ र जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले आ–आफ्नो क्षेत्रमा ४१ जना नेपाली जेलमा रहेको तथ्यांक दिएका छन् ।

साउदी अरेबियामा मृत्युदण्ड सजाय पाएर जेलमा रहेका नेपाली
नाम /ठेगाना अभियोग
१. मनोजकुमार पाण्डे , महोत्तरी ड्रिल मेसिनले किच्दा पाकिस्तानी नागरिकको मृत्यु
२. दिलबहादुर कामी, ठेगाना नखुलेको पर्वतका कृष्ण कुस्मेलीको हत्या गरेको अभियोग
३. शान्तबहादुर पुन, पर्वत साउदी नागरिकको हत्या गरेको अभियोग

साउदी अरेबियामा ब्लडमनी तिर्न नसकेर जेलमा रहेका नेपाली
नाम अभियोग सजाय
१. धनबहादुर थापा गाडी दुर्घटनाबाट व्यक्तिको मृत्यु ९० लाख रुपैयाँ ब्लडमनी
२. रामहरि कुँवर कम्पनीमा चोरी गरेको ४५ लाख रुपैयाँ बिगोदाबी

मृत्युदण्ड सजाय पाउने नेपाली थपिनसक्ने : साउदी अरबमा जेलजीवन बिताइरहेकामध्ये पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएकाहरू ६ जना छन् । त्यसमध्ये मादक पदार्थ कारोबार गरेको अभियोगमा रुपन्देहीकी ललिता दमाईंलाई पनि ३० महिनाको जेलजीवन सुनाइएको छ । उनको बच्चासमेत भएकाले आधा सजाय घटाइएको र एक सय २० कोर्राको सजाय त्यहाँको अदालतले सुनाएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

साउदी अरबमा भारतीय, फिलिपिनी, अफगानी, पाकिस्तानी, सिरियन, साउदी नागरिकको हत्या अभियोगमा पक्राउ परेका कतिपय नेपालीको मुद्दा अझै पनि विचाराधीन छ । अदालतले उनीहरूलाई मृत्युदण्डको सजायदेखि ब्लडमनीसम्मको सजाय सुनाउनसक्ने नेपाली राजदूतावासले जनाएको छ । साउदी अरबकै जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले दिएको जानकारीअनुसार साइबर क्राइमअन्तर्गत पक्राउ परेका एक नेपाली (नाम नखुलेको) लाई दुई वर्ष ६ महिना जेल र चार सय कोर्रा सजाय सुनाइएको छ ।

गम्भीर प्रकृतिका अपराध गर्ने र ठूलो सजाय सुनाइएकाको तथ्यांक राखिए पनि कम्पनी तथा मालिकसँग सम्बन्धित गुनासो लिएर दैनिकजसो दूतावास पुग्नेको गुनासो अभिलेखीकरण गर्न नसकिने कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले बताए ।

बहराइनको जेलमा सात नेपाली : बहराइनमा पनि सातजना नेपाली जेलमा रहेका छन् । कन्सुलर सेवा विभागको तथ्यांकअनुसार बहराइनमा नेपाली नागरिक श्यामकुमार राईको हत्या गरेको अभियोगमा खोटाङका गैनबहादुर राईलाई जन्मकैद सजाय सुनाइएको छ । उनको जन्मकैदको सजाय सन् २०२४ मा भुक्तान हुनेछ । इन्डोनेसियाली महिलाको हत्या प्रयासमा बंगलादेशी नागरिकलाई सहयोग गरेको अभियोगमा म्याग्दीका दिलीप परियारलाई १५ वर्षको जेल सजाय तोकिएको छ । आफ्नै साथी दीपेन्द्र बस्नेतको हत्या गरेका म्याग्दीका तिलकुमार गर्जुवालाई पनि जन्मकैदको सजाय तोकिएको छ । उनी सजाय भुक्तान गरी सन् २०४० मा जेलमुक्त हुनेछन् । महिलामाथि खराब नजरले हेरेको, महिलालाई अश्लील शब्द प्रयोग गरेको, मादक पदार्थको कारोबार तथा सेवन गरेकोलगायत अभियोग लगाइएका नेपालीलाई तीन वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

दक्षिण कोरियाको जेलमा दुईजना नेपाली : एउटै कोठामा बस्ने नेपाली नागरिकको हत्या गरेका अभियोगमा भोजपुरका पर्शुराम राईलाई दक्षिण कोरियाको अदालतले १३ वर्षको कैद सजाय तोकेको छ । त्यस्तै नेपाली सहकर्मीसँग झगडा गरी दुईवटा औँला काटेको अभियोगमा झापाका शेखर पौडेल पनि दक्षिण कोरियामा पक्राउ परेका छन् । उनको मुद्दा विचाराधीन छ ।

कुवेतमा ६२ जना नेपाली जेलमा : कुवेतमा लागुऔषधको सेवन र कारोबारलाई ठूलो अपराध मानिन्छ । त्यहाँ पक्राउ परेकामध्ये अधिकांश नेपाली लागुऔषध सेवन र कारोबारको मुद्दा खेपिरहेका छन् । कुवेतको जेलमा रहेका नेपालीमध्ये ५३ जना केटा र नौजना केटी छन् । हत्याको आरोपमा समेत कुवेतको जेलमा केही नेपालीले सजाय काटिरहेका छन् । कुवेतमा मृत्युदण्डको सजाय सुनाइएका पाँचजना. जन्मकैदको सजाय पाएका १२ जना ।

मलेसियाको जेलमा १३ जना : मलेसियाको जेलमा रहेका १३ नेपालीमध्ये सबैजना केटा छन् । तीमध्ये आठजना हत्या अभियोगमा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध परेको मुद्दा विचाराधीन रहेकाले केहीलाई मृत्युदण्डको सजायसमेत हुनसक्छ । हत्या अभियोगमा पक्राउ पर्ने नेपालीमा रूपेशकुमार कापर, कुमार तामाङ, नेत्रबहादुर प्रधान, सुजन श्रेष्ठ, सुरेन्द्र मुखिया, सुजन दाहाल, कमल तामाङ र सुरजबहादुर सुनार छन् ।

ओमनमा तीनजना नेपाली जेलमा : ओमनको जेलमा भने तीनजना नेपाली मात्र जेलमा छन् । त्यसमध्ये सर्लाहीका पूर्णबहादुर मगर चोरीको आरोपमा, काठमाडौंकी विनिता राना ‘स्पोन्सर’को बच्चालाई आइरनले पोलेको आरोप र ठेगाना नखुलेका दोङ याङजेनको फर्जी भिसा प्रयोगको आरोपमा जेलजीवन बिताइरहेका छन् । उनीहरूको मुद्दामाथि फैसला हुन बाँकी छ ।

कतार जेलमा ५२ जना नेपाली : कतारमा ५२ जना नेपालीले जेलजीवन बिताइरहेका छन् । त्यसमध्ये तीनजनालाई जन्मकैद सुनाइए पनि हत्या अभियोगमा पक्राउ परेकादेखि बलात्कार, चोरीलगायतको अभियोगमा पक्राउ परेकामाथिको अदालती कारबाही चलिरहेको छ । कतारको जेलमा हत्या अभियोगमा रहेका नेपालीमध्ये केहीलाई मृत्युदण्डको सजाय हुनसक्ने जनाइएको छ ।

युएई जेलमा १९ जना नेपाली : संयुक्त अरब इमिरेट्स (युएई)का विभिन्न जेलमा १९ जना नेपाली छन् । हत्या अभियोगदेखि चोरी, मदिरा सेवन, सवारी दुर्घटनालगायतको अभियोगमा पक्राउ परेकामध्ये केहीको मुद्दा विचाराधीन छ भने केहीलाई ब्लडमनी, जन्मकैददेखि मृत्युदण्डसम्मको सजाय सुनाइएको छ । हत्या अभियोगमा पाँचजना नेपाली युएई जेलमा छन् । जसमध्ये दार्चुलाका अमरबहादुर बमलाई मृत्युदण्डको सजाय सुनाइएको छ । त्यस्तै पाल्पाका चुराबहादुर गह र नवलपरासीका भुवानन्द भट्टराईलाई जन्मकैदको सजाय सुनाइएको छ ।

तनहुँका पूर्णबहादुर गुरुङ, इलामका अम्रिका देवान, झापाका विष्णुप्रसाद उप्रेती र तेह्रथुमका खड्गबहादुर जोगी पीडित पक्षले मागदाबी गरेको ब्लडमनी रकम तिर्न नसक्दा जेलमा छन् । पूर्णबहादुरसँग करिब ३० लाख नेपाली रुपैयाँ, अम्रिका देवानसँग दुई लाख ७० हजार रुपैयाँ, विष्णुप्रसादसँग ३० लाख रुपैयाँ र खड्गबहादुर जोगीसँग ३० लाख रुपैयाँ ब्लडमनी माग गरिएको छ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ । उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।  गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका ३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको हो ।  अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाएको अभियोग छ । अभियुक्तले पीडितलाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको प्रहरीले जनाएको छ ।  ‘युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई फेरि चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ ।  प्रहरीका अनुसार पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

तनहुँ । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।  तनहुँको ब्याँस नगरपालिका ४ जलदेवी टोल बस्ने ६२ वर्षीय कालु गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १० जनालाई  बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लोकप्रिय