एभरेष्ट दैनिक

फेब्रुअरी अन्तिम साता भित्र एनआरएनएको निर्वाचन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान गर्न ७ सदस्यीय उच्च स्तरीय समिति गठन गरेको छ । शनिवार बसेको एनआरएनएको बैठकले संघका प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको आइसीसीको ८१ औं बैठकले संघको वर्तमान परिस्थितिमा संस्थालाई निकास दिनुका साथै संघमा आपसी एकता तथा भाइचारा कायम राख्दै सम्पूर्ण गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्नका लागी प्रमुख संरक्षक घलेको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिको सदस्यहरुमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन ।एनआरएनएको उक्त बैठकले संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने, २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरि, समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नको लागि कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु समेत गठन गर्न सक्ने र संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउनुपर्ने निर्णय पनि गरेको छ ।