एभरेष्ट दैनिक

मकवानपुर २ का नेकपा उम्मेदवार बिष्टको प्रतिबद्धता: अव्यवस्थित बसोबासको समस्या हल गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी मकवानपुर क्षेत्र नं. २ का उम्मेदवार लवशेर विष्टले अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले अव्यवस्थित बसोबासी र भूमिहिनको समस्या हल गर्न लालपुर्जा वितरण गरिने प्रतिबद्धता गरेका हुन् । उनले मध्यवर्ती क्षेत्रको समस्या हल गर्ने पनि बताएका छन् । बाह्रै महिना चल्ने सडक बनाउने प्रतिबद्धता उम्मेदवार बिष्टले ग्रामीण बस्तीमा बाह्रै महिना चल्ने सडक सुविधा सुनिश्चित गरिने बताएका छन् । त्यस्तै, प्रत्येक पालिका सदरमुकामसम्म पुग्ने पक्की बाटो निर्माण, मनहरी–राक्सिराङ–कैलाश जोड्ने मोटरबाटो स्तरोन्नति, चित्लाङ–चन्द्रागिरी सुरुङ मार्ग निर्माण गर्न अधिकतम प्रयोग तथा सबै वडामा इन्टरनेट तथा डिजिटल सेवा पुर्याइने उनको प्रतिबद्धता छ । उनले एकीकृत बस्ती व्यवस्थापन गरिने पनि प्रतिबद्धता गरेका छन् । थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय खोल्न प्रयत्न गरिने  उनले थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय खोल्न प्रयत्न गरिने बताएका छन् । थाहा नगरपालिका, मनहरि गाउँपालिका र भिमफेदी गाउँपालिकाहरुमा व्यवसायिक कृषि जोन निर्माण गरिने, गाँजा खेतीलाई  वैधानिकता प्रदान गर्ने, मनहरिमा औद्योगिक क्षेत्रको निर्माण गर्ने तथा कुलेखानी, चित्लाङ र दामन क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्ने पनि प्रतिबद्धता गरेका छन् । बिष्टले होमस्टेको स्थापना गरी आन्तरिक पर्यटनको प्रबद्र्धन, गाउँपालिका स्तरमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण गर्ने, थाहा नगरपालिकामा विशेषज्ञ सेवा सहितको अस्पताल निर्माण गर्ने तथा मनहरी, राक्सिराङ, कैलाश लगायतका स्थानमा बाढी, पहिरो र खहरे नियन्त्रणका लागि दिर्घकालिन योजना बनाउने पनि उल्लेख गरेका छन् । उनले चुरे क्षेत्रको संरक्षणका लागि योजना ल्याउने पनि उल्लेख गरेका छन् ।