एभरेष्ट दैनिक

एमाले ‘मिसन ८४’ मा छः अध्यक्ष ओली

विराटनगर, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् ।  ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ छ । बुधबार विराटनगर पुगेका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए । साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको टिप्पणी गरे । पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको आरोप लगाए । फरक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो ।