एभरेष्ट दैनिक

क्रिकेटरका लागि वाइवाइको १० लाख हस्तान्तरण

काठमाडौं । वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टी २० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनबापत भन्दै चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडले रकम हस्तान्तरण गरेको हो । नेपाल राष्ट्रिय टिम टी २० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहनस्वरूप वाइवाइले प्रत्येक रनका लागि  १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो।  त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा  १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो ।  त्यसैगरी सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने वाइवाइको घोषणा थियो । सोही घोषणाअनुसार विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनअनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार रुपैयाँ थपेर हस्तान्तरण गरिएको छ।  बुधबार ललितपुरमा आयोजित समारोहबीच सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।  कार्यक्रममा पुडासैनीले भने, ‘नेपालको क्रिकेट बामे सर्दै गर्दा  प्रायोजन गरेकोमा अहिले खुसी हुने ठाउँमा पुगेका छौँ।’ चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने बताए । कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई  बलियो बनाउन चौधरी ग्रुपले पुर्‍याउँदै आएको योगदान उच्च रहेको भन्दै नेपालले साउथ अफ्रिका र बंगलादेशसँग राम्रो खेलेर हराउन सक्ने सन्देश दिएको बताए ।  क्रिक्रेटर सन्दीप लामिछानेले चौधरी ग्रुपको सहयोगले खेलाडीलाई प्रोत्साहन र हौसला मिलेको बताए ।