एभरेष्ट दैनिक

मन्त्रिपरिषद्‌मा कांग्रेसका १०, एमालेका ९ सहित चार दल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको २२ सदस्यीय मन्त्रिपरिषद्मा चार दल सहभागी भएका छन् ।  प्रधानमन्त्रीको सपथ लगत्तै राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा क्याबिनेटका दुई उपप्रधान र १९ मन्त्रीले पनि राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन्।  ओली नेतृत्वको मन्त्रीपरिषदमा नियुक्त भएका २२ मध्ये नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री बनेका छन् ।  कांग्रेसले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका काठमाडौँ–१ बाट निर्वाचित सांसद प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा पठाएको छ।  त्यस्तै, एमालेले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ८ जना मन्त्रीहरू सरकारमा पठाएको छ ।  त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले शरदसिंह भण्डारीलाई मन्त्री बनाएर पठाएको छ। २० औं पटक मन्त्री बन्दा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनता समाजवादी पाटीबाट प्रदीप यादव र नवलकिशोर साह सुडी मन्त्री बनेका छन् । यादवले खानेपानी र सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्।