एभरेष्ट दैनिक

बरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । बरिष्ठ अधिवक्ता रमेश बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बडाल यसअघि पनि ओली सरकारकै पालामा महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना  बडाल महान्यायाधिवक्ता थिए । सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरुको नेतृत्व गर्छन् । बडाल यसअघि लामो समय एमाले समर्थित श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध थिए । उनी महान्यायाधिवक्ता नियुक्त हुनुअघि एमालेको कानून विभागका प्रमुख हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई एकजुट गराउन उनले प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेलेका थिए । उनी दुई शीर्ष नेताको सहमति भएको दिन असार १७ गते मध्यरातमा पनि सँगै रहेको बताइएको छ ।