एभरेष्ट दैनिक

कोशीमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न एमाले र माओवादीको माग

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले बुधबार कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न माग गरेका छन् ।  उनीहरुले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् । भेटमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय गुजारेको भन्दै एमाले र माओवादी नेताहरुले अर्को सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका छन् । प्रदेश प्रमुखलाई भेट्न एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो लगायत नेताहरु प्रदेश प्रमुखकोमा पुगेका थिए । जवाफमा प्रदेश प्रमुखले कानुनी परामर्श लिएर प्रक्रिया सुरु गर्ने आश्वासन दिएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन एमाले र माओवादी केन्द्रले गत २६ चैतमा फिर्ता लिइसकेका छन् ।  समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको भन्दै एमाले र माओवादी नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने अन्यथा राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । मुख्यमन्त्री कार्की भने संविधानको १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले समर्थन फिर्ता लिएका आधारमा विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था नभएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानमा छन् । एमाले र माओवादी सांसदको प्रस्तावमा प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने संकल्प प्रस्ताव पनि पारित गरेको थियो । यो संकल्प प्रस्ताव अनुसार पनि मुख्यमन्त्रीले २५ वैशाखसम्म विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने विपक्षी दलहरुको तर्क छ । मुख्यमन्त्रीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको कारण नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई आग्रह गरिएको एमालेका एक नेताले एभरेष्ट दैनिकलाई जानकारी दिए ।