एभरेष्ट दैनिक

यी हुन् ७ प्रदेशका मुख्य मन्त्रीका सम्भावित दाबेदार

काठमाडौं, पुस ३ । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ। चुनावी नतिजा आउने वित्तिकै प्रादेशिक सरकारको खाकाका विषयमा चर्चा हुन थालेको छ। प्रादेशिक सरकारका लागि ७ वटै प्रदेशमा मुख्य मन्त्री को बन्छ भन्ने धेरैको चासोको विषय बनेको छ। ७ वटै प्रदेशको मुख्य मन्त्रीका लागि हेभिवेट नेतादेखि नयाँ अनुहारसम्म आकांक्षी देखिएका छन्। यस्ता छन् मुख्य मन्त्रीका आकांक्षीहरु प्रदेश नम्बर १ प्रदेश नम्बर १ को मुख्य मन्त्रीका लागि पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई र एमाले सचिव भीम आचार्य आकांक्षी देखिएका छन्। मुख्यमन्त्रीको दावीसहित दुवै हेभिवेट नेता प्रदेशसभाको चुनावमा होमिएका थिए। दुबैले छुट्टाछुट्टै प्रदेशबाट चुनाव जितेका छन्। पछिल्लो समिक्षाका आधारमा हेर्ने हो भने आचार्य भन्दा राई मुख्यमन्त्रीका लागि बलियो दाबेदारका रुपमा हेरिएका छन्। प्रदेश नम्बर २ मधेसी दलका लागि बलियो क्षेत्रका रुपमा रहेको प्रदेश नम्बर २ मा पनि दुई नेता मुख्यमन्त्रीका लागि अघि सरेका छन्। विजय यादव र लालबाबु राउतको नाम मुख्यमन्त्रीका लागि चर्चामा छ। दुबै मुख्यमन्त्रीका लागि बलियो दाबेदारका रुपमा देखिएका छन्। प्रदेश नम्बर ३ प्रदेश नम्बर ३ मा धेरै नेता मुख्यमन्त्रीका लागि आकांक्षी देखिएका छन्। यो प्रदेशमा अष्टलक्ष्मी शाक्यदेखि केशव स्थापितसम्मले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्। राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपालले पनि मुख्य मन्त्रीको दाबी गर्दै आएका छन्। प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेमा मात्रै ६ जनाको दावी छ। एमालेबाट राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, अरुण नेपाल, कैलाश ढुङ्गेल, अष्टलक्ष्मी शाक्यदेखि केशव स्थापितसम्मले मुख्यमन्त्री दाबी गरेका छन्। यस प्रदेशमा दुई पटकसम्म मन्त्रीको प्रस्ताव अस्वीकार गरिसकेकी शाक्य मुख्य मन्त्रीका लागि बलियो दाबेदारका रुपमा देखिएकी छन्। प्रदेश नम्बर ४ प्रदेश नम्बर ४ को मुख्य मन्त्रीका लागि ३ जनाले दाबी गर्दै आएका छन्। पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र दीपक कोइराला मुख्य मन्त्रीको दाबेदार छन्। एमालेका दुई गुरुङ नेता मध्ये एक प्रदेश नम्बर ४ को मुख्य मन्त्री बन्ने संभावना प्रवल देखिएको छ। प्रदेश नम्बर ५ प्रदेश नम्बर ५ मा भने एमालेले निर्विकल्प रुपमा एमाले नेता शंकर पोखरेललाई मुख्य मन्त्रीका लागि प्राप्त गरेको हो। माओवादी नेता कृष्णबहादुर महरा दाङ क्षेत्र निर्वाचन नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएपछि एमालेले पोखरेललाई मुख्य मन्त्रीका लागि प्रस्ताव गरेको थियो। चुनाव अघि सहमति भइसकेकाले प्रदेश नम्बर ५ को मुख्य मन्त्री पोखरेल नै बन्ने निश्चित छ। प्रदेश नम्बर ६ प्रदेश नम्बर ६ को मुख्य मन्त्री माओवादीले पाउने निश्चित जस्तै बनेको छ। यस प्रदेशमा कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारी मुख्य मन्त्री बन्ने चर्चा छ। दुबै माओवादी नेता हुन्। तर प्रतिनिधसभामा सल्यानबाट टिकट दाबी गरेका एमालेका प्रकाश ज्वालाले पनि मुख्य मन्त्रीको दाबी गरेका छन्। तर प्रदेश नम्बर ६ माओवादीको पकड क्षेत्र मानिएकाले माओवादीकै तर्फबाट मुख्य मन्त्री बन्ने पक्का जस्तै बनेको छ। प्रदेश नम्बर ७ प्रदेश नम्बर ७ को मुख्य मन्त्रीका लागि बाजुराका कर्णबहादुर थापा, कञ्चनपुरका तारा लामा तामाङ, कैलालीका दीर्घ सोडारी र बाजुराका प्रकाश शाह, बीरमान चौधरीले मुख्य मन्त्रीको दाबी गर्दै आएका छन्। अन्य प्रदेशमा मुख्य मन्त्रीका लागि एमालेका धेरै नेताको दाबी भएकाले प्रदेश नम्बर ७ माओवादीले पाएको खण्डमा माओवादीका बीरमान चौधरी मुख्य मन्त्री बन्ने सम्भावना छ।