एभरेष्ट दैनिक

पार्टीका उम्मेदवारलाई विजयी गराउन अहोरात्र खटिन वाइसीएलका वरिष्ठ उपाध्यक्ष देवकोटा निर्देशन

चितवन, कात्तिक १२। वाईसीएलका वरिष्ठ उपाध्यक्ष सुमन देवकोटाले आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन अहोरात्र खटिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन । वाईसीएल चितवनको आयोजनामा पार्वतीपुर बजारमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । साथै क्षेत्र नम्बर ३ (ख) अन्तर्गतका नवनिर्वाचित वडा कमिटीका पदाधिकारीहरुको घोषणा पनि गरिएको थियो ।   सो अवसरमा वाईसीएलका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन देवकोटाले युवाहरु सधैं समाजको विकासमा लाग्नुपर्ने बताए । उनले राष्ट्र निर्माणमा युवाजगत वर्गको महत्वपूर्ण भूमिका हुने भन्दै युवाहरु सिर्जनशील कार्यमा लाग्नुपर्ने बताए । साथै, जनभावना अुनसार कार्य गर्न, जनताको पिरमर्का र समस्याहरु समाधान गर्ने कार्यमा खटिनसमेत आग्रह गरे । देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वाईसीएल जिल्ला संयोजक ईश्वर रेग्मी, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुर्य सुवेदी ‘पथिक’, जिल्ला नेता यमबहादुर परियार, वाईसीएल केन्द्रीय सदस्य साजन अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अतिथिले वाईसिएलले जनताको काम गर्नुपर्नेमा जोड दिँदै समग्र पार्टीको जीतमा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए । वाईसिएलले समाजमा सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको भन्दै स्थानीय जनताले वाईसिएलको खुलेर प्रसंशा गरेका थिए ।