एभरेष्ट दैनिक

कम्युनिस्ट हराउन एकढिक्का भएर चुनावमा होमिन कांग्रेस शीर्ष नेताहरूको आव्हान

कांग्रेसका शीर्ष नेताहरूले कम्युनिस्टहरू गठबन्धनको नाममा प्रजातन्त्र मास्न लागेको आरोप लगाउँदै एक भएर निर्वाचनमा होमिने उद्घोष गरेका छन् । कम्युनिस्ट गठबन्धन प्रजातन्त्र र कांग्रेस मास्न भएको उल्लेख गर्दै उनीहरूले पार्टी एक भएर लड्दा कम्युनिस्टहरू पराजित हुने दाबीसमेत गरे । ‘कम्युनिस्टहरूको गठबन्धन कांग्रेसविरुद्ध छ, प्रजातन्त्रलाई खतरामा पार्ने गरी भएको छ । यसलाई परास्त गर्नैपर्छ’ तरुण दलको ६४औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘कम्युनिस्टहरू मिल्दा कांग्रेसलाई चुनौती भएको छ । तर, यो हाम्रा लागि अवसर पनि हो । एकताबद्ध भएर निर्वाचन लड्दा कांग्रेस विजयी हुन्छ ।’ प्रजातन्त्रवादी पार्टी कांग्रेस मात्र भएको दाबी गर्दै देउवाले गाउँगाउँ र सहरका वडावडा पुगेर कांग्रेसलाई जिताउन उनले तरुणलाई अपिलसमेत गरे । नेता रामचन्द्र पौडेलले कांग्रेससँग मिलेर संविधान बनाएका दलहरू दुईतिहाइ ल्याएर संविधान संशोधन गर्ने र एकात्मक संविधानको सपना देख्न लागेको आरोप लगाए । ‘हामीसँगै मिलेर संविधान बनाएका दलहरूले अहिले दुईतिहाइ ल्याउने र संविधानलाई एकात्मकतामा लाने सपना देख्दै छन्,’ पौडेलले भने, ‘यस्तो गर्न खोज्नु संविधानको भावनामा प्रहार हो । यस्तो चुनौतीको सामना गर्न कांग्रेस एक भएर लाग्नुपर्छ ।’ लोकतन्त्रको रक्षाका लागि तरुणहरूलाई एकजुट भएर लाग्न पौडेलले निर्देशन दिए । महामन्त्री डा. शशांक कोइरालाले कम्युनिस्ट मिल्दाको चुनौतीलाई अवसरमा बदल्नुपर्ने बताए । ‘निर्वाचन अघि कम्युनिस्टहरू एक ठाउँमा आएका छन् । यो चुनौतीसँगै अवसर पनि हो,’ कोइरालाले भने, ‘तरुणहरू लाग्दा संगठन बलियो हुन्छ । शेरबहादुरजी तपाईं खुट्टा दरिला बनाउनुस् । एक भएर निर्वाचनमा जाँदा हामी पहिलो पार्टी बन्छौँ ।’ कम्युनिस्टको गठबन्धनबाट डराउन नपर्ने भन्दै कोइरालाले भने, ‘हामी नडराऊँ । हामी जित्छौँ । कांग्रेसले अब सरकार बनाउँछ । युवा र समृद्धिका लागि काम गर्छ ।’ केन्द्रीय सदस्य एवं तरुण दलकै पूर्वअध्यक्ष बालकृष्ण खाणले कम्युनिस्ट गठबन्धनले कांग्रेस नसकिने बताए । ‘कम्युनिस्टले कांग्रेसलाई सिध्याउन सक्दैनन् । अधिनायकवाद ल्याउन लागेका कम्युनिस्टहरू आफैँ सकिन्छन्,’ उनले भने, ‘०७४ सालको निर्वाचनले कम्युनिस्टलाई साइजमा ल्याउँछ । कम्युनिस्ट मिल्दाको चुनौतीलाई अवसरमा बदल्दा हामी जित्छौँ । कम्युनिस्टलाई नंग्याउन लागौँ ।’ कार्यक्रममा तरुण दल अध्यक्ष जितजंग बस्नेतले राणा, राजा र पञ्चायतलाई घुँडा टेकाएको कांग्रेसले कम्युनिस्टलाई पनि परास्त गरेरै छाड्ने दाबी गरे । ‘राणा, राजा र पञ्चायती व्यवस्थालाई परास्त गर्ने कांग्रेस नै हो,’ उनले भने, ‘पार्टी र तरुण साथीहरूले तागत देखाउँदा कम्युनिस्ट हाम्रा लागि केही होइनन् । हामी उनीहरूलाई परास्त गर्छौँ ।’ उनले निर्वाचनका हरेक बुथमा ३० जना तरुणलाई खटिन र निर्वाचनमा सामाजिक सञ्जाल प्रयोग गरी प्रचारप्रसारमा उत्रिन पनि निर्देशन दिए । तरुण दलकै पदाधिकारी नेतालाई निर्वाचनमा टिकट दिन आग्रह गर्दै बस्नेतले केन्द्रीय समितिलाई पूर्णता दिन नेतृत्वलाई आग्रह गरे । कार्यक्रममा सभापति देउवासहितका शीर्ष नेताले तरुण गीतिसंग्रहको विमोचन गरेका थिए । नयाँपत्रिका बाट