एभरेष्ट दैनिक

राप्रपाका पूर्वसभासद सूर्यबहादुर केसीद्वारा नेपाली कांग्रेसमा प्रवेश गर्ने घोषणा

पोखरा, कात्तिक ९ । राप्रपाका पूर्वसभासद सूर्यबहादुर केसीले नेपाली कांग्रेसमा प्रवेश गर्ने घोषणा गरेका छन् । बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै उद्योगपतिसमेत रहेका केसीले वाम गठबन्धनपछि मुलुकमा समस्या निम्तिने भन्दै आफूले लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने प्रस्ट पारे । उनले नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी र आफ्ना केही समर्थकहरुलाई राखेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिमा कात्तिक ११ गते विधिवतरुपमा कांग्रेस पार्टीमा प्रवेश गर्ने बताए । उनले भने–‘नेकपा एमालेले पछिल्ला दिनमा लिएको राष्ट्रवादी अडानको म प्रशंसा गर्छु, राष्ट्रिय स्वाधिनता र मुलुकको अखन्डताका पक्षमा एमालेको अडान मलाई राम्रो लागेको हो । तर, १७ हजार मानिसको ज्यान मारेको माओवादीसँग एकता गरेका कारण लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने निर्णय गरें ।’ उनले स्थानीय तहको निर्वाचनमा एमालेलाई सहयोग गरेको खुलासासमेत गरे । ‘एमालेमा मन गएको थियो, स्थानीय निर्वाचनमा एमालेलाई नै सघाएँ । तर, अब माओवादीसँगको संगतले एमालेले प्रजातन्त्रको रक्षा गर्न नसक्ने लागेपछि सोची–विचारीकन लोकतान्त्रिक समूहलाई सहयोग गर्ने निर्णय गरेको हुँ’–उनले भने । Source: Imagekhabar पत्रकारको जिज्ञासामा उनले भने–‘मलाई कुनै पदप्रति लोभ छैन, दिए नाइँ भन्दिनँ ।’