एभरेष्ट दैनिक

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसी

वैशाख २२ । भारतको सर्वोच्च अदालतले पाँच वर्ष अगाडि एक विद्यार्थीलाई सामूहिक बलात्कार गर्ने चार अभियुक्तलाई फाँसीको सजाय सुनाएको छ । सन् २०१२ मा भारतको दिल्लीमा भएको उक्त घटनाका दोषीहरु अक्षय कुमार, विनय शर्मा, पवन गुप्ता र मुकेश शर्मालाई फाँसी दिने यसअघि अरु अदालतले गरेको फैसला यथावत राखेको हो । यसअघि तल्लो अदालत र दिल्ली उच्च अदालतले उनीहरुलाई फाँसी दिने फैसला गरेको थियो । न्यायाधीश भानुमती नेतृत्वको तीन सदस्यीय टोलीले बलात्कार जस्तो जघन्य अपराधका लागि माफी दिन नसकिने तथा मृत्युदण्ड दिन मिल्ने कुनै एक मात्र मुद्दा भए त्यो बलात्कार भएको उल्लेख गर्दै यस्तो फैसला सुनाएको हो । सन् २०१२ को डिसेम्बर १६ मा दिल्लीको मुनिरकामा ६ जना व्यक्तिले प्यारामेडिककी विद्यार्थी निर्भयालाई सामुहिक बलात्कार गरेका थिए । घटनाका एक अभियुक्तले सन् २०१३ मा तिहाड जेलमा आत्महत्या गरे भने एकजनालाई नाबालिग भएको भन्दै सुधारगृहमा राखिएको छ ।