एभरेष्ट दैनिक

प्रधानमन्त्री प्रचण्डलाई राप्रपा मन्त्रीहरूको राजिनामापत्र

काठमाडौं, वैशाख २० । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा आफूहरुसँग सरसल्लाह नगरेको भन्दै असन्तुष्ट बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजिनामा पत्र बुझाएका छन् । पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री रहेका कमल थापासहित राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामापत्र बुझाएका हुन् । सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा सल्लाह नगरेको भन्दै आपत्ति जनाएको राप्रपाले आइतबारै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारमा रहने नरहनेबारे केही सातादेखि राप्रपाका नेताहरूबीच विवाद थियो । गत मंसिर ६ गते दुई राप्रपा एक हुनुअघिदेखि नै तत्कालीन राप्रपाबाट २ मन्त्री सरकारमा सहभागी थिए । एकीकरणलगत्तै राप्रपाले थप २ मन्त्रालय पाएको थियो ।