एभरेष्ट दैनिक

पार्टीबीच चुनावमा काठमाडौँ र ललितपुर जिल्लामा तालमेलको विषयमा छलफल

काठमाडौँ, वैशाख १९ । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय तहको निर्वाचनमा काठमाडौँ र ललितपुर जिल्लामा तालमेल गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच सो विषयमा छलफल भएको हो । दुवै दलले आन्तरिक छलफल गरी उम्मेदवारीको टुङ्गो लगाउने तयारी गरेका छन् । एमालेले काठमाडौँ र ललितपुर महानगरपालिकामा हालसम्म आफ्नो उम्मेदवार तय गरेको छैन । सो पार्टीका सचिव योगेश भट्टराईले सोमबारको स्थायी कमिटीको बैठकले अध्यक्ष ओली र नेता माधवकुमार नेपाललाई सोबारेमा निर्णयमा पुग्न जिम्मेवारी दिएको बताउनुभयो । अध्यक्ष ओलीले अहिले काठमाडौँ र ललितपुर जिल्लाका नेता कार्यकर्तासँग तालमेलका विषयमा छलफल गरिरहनुभएको छ ।