एभरेष्ट दैनिक

प्रवासी नेपालीले मनाए नेपाली नयाँ वर्ष

युएई, बैशाख २ । रोजगारीको शिलशिलामा युएईमा रहेका नेपालीहरुले नेपाली नयाँ बर्ष २०७४ धुमधामका साथ मनाएका छन । यसपालीको नेपाली नयाँ बर्षको पहिलो दिन युएईमा साप्ताहिक छुट्टी शुक्रबार परेकोले पनि नेपालीहरुले खुशीका साथ नेपाली नयाँ बर्ष मनाउन पाएका हुन् । अर्घाखाँची संपर्क समिती रस अल खैमाहले युएईकै अग्लो पहाड जब अल जैसमा बनभोजको आयोजना गएर नयाँ वर्ष मनाएको छ । रस अल खैमह क्षेत्र समितीका अध्यक्ष टोमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितीका केन्द्रिय अध्यक्ष राजु खड्का, नेपाल पत्रकार महासंघ युएईका सचिव मेघराज सापकोटा लगायतले शुभकामना आदानप्रदान गरेका थिए भने नेपाली आधुनिक र लोक गीतहरुले युएईको सबै भन्दा अग्लो उक्त पहाड गुन्जयमान बनेको थियो । नेपाली गीत संगीत र नेपाली खानाका परिकारहरुको साथमा आयोजना गरिएको उक्त बनभोजमा नेपालीहरुले एक आपसमा शुभकामना साटासाट गरेका थिए । उक्त कार्यक्रममा गैर आबासिय नेपाली संघ रस अल खैमहका जय खत्री, नेपाली जनप्रगतिशिल मंच रस अल खैमहका दीपक बिष्ट,जेएन शर्मा, झापाली समाज तथा दैलेख समाज रस अल खैमह लगायतका संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो । नेपाली नयाँ वर्ष २०७४ को अवसर पारेर काभ्रे सेवा समाज युएईले मोडल रिया श्रेष्ठ, गायक विश्व दोङ, लोक तथा आधुनिक गायिका रिता केसीको सहभागितामा दुबईमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । रियाले दुबईका नेपालीहरुलाई मनोरन्जन प्रदान गरिरहेकै बेला युएईको अबुधाबीमा लिःल फङ घले समाज, युएईको आयोजनामा ज्योति मगरले नेपाली दर्शकहरुलाई भरमग्दुर मनोरन्जन प्रदान गरिन । त्यसैगरी माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मंच, नेपाली काङ्रेस निकट नेपाली जनसंपर्क समिती र एमाले निकट प्रबासी मंचले पनि एक आपसमा शुभकामना साटासाट गरेर नयाँ बर्ष मनाएको खबर प्राप्त भएको छ । अर्को एक कार्यक्रममा नेपाली जनप्रगतिशिल मंच युएईले माओवादी केन्द्रका महाधिबेशन आयोजक समितीका केन्द्रिय सदस्य तथा कलाकार विश्व दोङलाई सम्मान गरेको छ । उनी काभ्रे सेवा समाजले आयोजना गरेको नयाँबर्ष सांगितिक कार्यक्रममा भाग लिन युएई आईपुगेका हून् ।