एभरेष्ट दैनिक

निर्वाचन नहुँनेमा शंका नगर्न प्रमुख आयुक्त यादवको आग्रह

काठमाडौ १ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी ३१ गते हुने भनिएको निर्वाचन अब हुँदैन कि भन्ने शंका कसैबाट पनि नगर्न आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग पनि निर्वाचनको अर्जुनदृष्टि लिएर अघि बढिसकेको हुँदा निर्वाचनप्रति अब शङ्का उपशङ्का नगर्न सबैसँग आग्रह गरेका हुन् । नयाँ वर्ष २०७४ का सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै आगामी स्थानीय तहको चुनावमा सहभागी हुन सबै पक्षलाई आह्वान गरे । स्थानीय तहको निर्वाचनपछि मुलुकमा शान्ति, स्थायित्व र समृद्धि आउने बताउँदै प्रमुख आयुक्त यादवले भने, “हामी संविधान र कानुनका आधारमा निर्वाचनको प्रक्रिया अघि बढाउँछौँ, संविधान कार्यान्वयनको पहिलो खुड्किलोका रुपमा रहेको स्थानीय तहको निर्वाचनको जिम्मेवारी पूरा गर्न आयोग प्रतिबद्ध छ ।” मतदाता परिचयपत्र, मतदाता नामावली, मतपत्र र मतपेटिकाको छपाई र व्यवस्थापनको काम एकैसाथ भइरहेको बताउँदै प्रमुख आयुक्त यादवले निर्वाचनका लागि सबैको एउटै भावना भएकाले छोटो अवधिमै पनि तयारीको काम ८० प्रतिशत पूरा भइसकेको छ, भने । आयुक्त ईला शर्माले निर्वाचनमा महिला, मधेसी र युवाको बढीभन्दा बढी सहभागिता होस् भनी शुभकामना व्यक्त गरिन् । आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपालको इतिहासमा ऐतिहासिक रुपमा रहने स्थानीय तहको निर्वाचनको जिम्मेवारी पूरा गर्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे । आयुक्त सुधीरकुमार शाहले नयाँ वर्षले शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि हुने निर्वाचनमा सहभागी हुने सबैमा हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । यसैगरी निर्वाचन आयोगले यही वैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचको राष्ट्रिय महोल बनिरहेको जनाएको छ । आयोगस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आयोगका सचिव गोपीनाथ मैनालीले नगर र गाउँ तहमा मतदाता र उम्मेदवार निर्वाचनका लागि अत्यन्त जागरुक र उत्साहितका साथ प्रतीक्षामा रहेको बताए । मुलुकभरका ७४४ स्थानीय तहको आगामी निर्वाचनका लागि ८४ हजार मतपेटिका आवश्यकता रहेकामा खरिद गरिएकोे ३० हजार मतपेटिका अबको तीन दिनभित्रै सबै प्राप्त भइसक्ने पनि आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि २१ हजार मतदान केन्द्र मतदान रहने जनाउँदै आयोगले बिहीबार बेलुकासम्म करिब एक करोड १७ लाख ८१ हजार छापिसकेको जनाएको छ । आगामी निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञापनपत्रमार्फत उठाएका मागलाई स्थानीय चुनावको चटारोले गर्दा अहिले सम्बोधन गर्न नसकिए पनि निर्वाचन पछि तुरुन्तै यस विषयमा छलफल हुने बताउँदै सचिव मैनालीले निर्वाचनका लागि आवश्यकपर्ने १२ प्रकारका समानको पनि जोहो भइरहेको जानकारी दिए । यही वैशाख ३ गतेबाट निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउन जनाउँदै उनले मधेसलगायत समग्र मुलुकमा निर्वाचनका काम सहजरुपमा भइरहेको बताए ।