एभरेष्ट दैनिक

सिमांकन हेरफेरसहितको संशोधन प्रस्ताव फिर्ता

काठमाडौं, चैत २९ । सरकारले सिमांकनको हेरफेरसहित संविधान संशोधन गर्न व्यवस्थापिका संसदमा दर्ता गरेको प्रस्ताव फिर्ता लिएको छ । प्रदेश नम्बर ५ को सिमांकन हेरफेर गर्नेसहितका प्रस्ताव गरेर मंसिर १४ गते सरकारले संसदमा दर्ता गरेको विधेयक फिर्ता गरेको हो । मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै कानुन मन्त्री अजयशंकर नायकले आन्दोलनरत मधेसी मोर्चाको माग पूरा गर्न तथा विपक्षी दल एमालेको भावनालाई पनि समेट्नका लागि विधेयक फिर्ता गरेको बताउनुभयो । सरकारले आजै संविधान संशोधनको अर्को विधेयक मंगलबार नै दर्ता गर्दैछ । मन्त्रीपरिषद बैठकले सोमबार पारित गरेको प्रस्ताव सरकारले मंगलबार संसदमा दर्ता गर्ने तयारी गरेको हो । यसैबिच मुख्य विपक्षी दल एमालेलेसुरक्षाको अवस्था सुधार गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा एमालेका सांसद रविन्द्र अधिकारीले चुनाव आउन ३४ दिन मात्र बाँकी रहँदा समेत शान्ति सुरक्षाको अवस्था सुधार हुन नसकेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । अधिकारीले एमाले नेता सत्यनारायण मण्डलको घरमा आक्रमण भएको, तराईमा एमालेले कार्यक्रम गर्न नदिने गरिएको तथा एमालेका कार्यकर्ता पनि असुरक्षित रहेको बताउनुभयो । उहाँले नागरिकको मौलिक हकको हनन् हुँदा समेत सरकार चुप लागेर बसेको भन्दै सरकारले यसबारे जवाफ नदिएसम्म संसद बैठक अवरुद्ध गर्ने बताएपछि एमाले सांसदले आफ्नो ठाउँबाट उठेर संसद अवरुद्ध गरेका थिए । उहाँले गृहमन्त्री उपस्थित नभएको मन्त्रीपरिषद बैठकले प्रहरी महानिरीक्षक नियुक्त हुनु अशोभनीय भएको टिप्पणीसमेत गर्नुभयो । सभामुख ओनसरी घर्तिले शान्ति सुरक्षाबारे तथा एमाले नेताको घरमा भएको आक्रमणबारे जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।