एभरेष्ट दैनिक

मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने

(प्रकाश सिलवाल) काठमाडौँ, चैत १२ । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको छ । स्थानीय सरकारको नयाँ संरचना, समावेशी पद सङ्ख्यासहितको मतपत्रको ढाँचा र यसबारे आम जनतामा पर्याप्त जानकारी नहुँदा मतदाता शिक्षामा चुनौती देखिएको बेला आयोगले सो मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । झन्डै दुई दशकपछि हुन लागेको आगामी वैशाख ३१ मा हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारका रुपमा महिला सहभागिता ४० प्रतिशत हुने भएकाले आयोगले महिला केन्द्रित मतदाता शिक्षा कार्यक्रम अघि सारेको छ । स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदाता शिक्षित र सुसूचित हुनुपर्नेमा सचेत रहँदै आयोगले आज ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सुरु गरेको छ । प्रशिक्षण कार्यक्रम विराटनगर, सिन्धुली, हेटौँडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकैपटक सुरु भएको छ । मतदाता शिक्षामा महिला, दलित, सीमान्तकृत समूहबाट हुने उम्मेदवारी छनोट, उम्मेदवारी दर्तादेखि मतदानसम्मका कार्यका विषय समावेश छन् । प्रशिक्षकले ७४४ स्थानीय तहमा रहने अनुमानित २१ हजार मतदान केन्द्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई जिल्लास्तरमा प्रशिक्षण दिनेछन् । जिल्लास्तरमा प्रशिक्षित मतदाता शिक्षा कार्यकर्ताले एक महिनासम्म मतदाताको घरघरमा गएर मतदाता शिक्षा प्रदान गर्ने निर्वाचन आयुक्त इला शर्माले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षित गर्न केन्द्रमा ३० जनालाई मुख्य प्रशिक्षक प्रशिक्षण तालिम दिइसकिएको छ । तीनसय ५० जनाले जिल्ला जिल्लामा गएर २१ हजार जना मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएपछि उनीहरूलाई यही चैत २८ देखि एक महिनासम्म घरघरमा खटाइनेछ । जिल्ला निर्वाचन अधिकारी, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने माध्यमिक शिक्षक (महिला), जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति तथा जिल्ला समन्वय समितिका सामाजिक परिचालक गरी देशभरिका ३५४ जनालाई क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिइएको छ । गोदावरीमा आयोजित उक्त ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहालले संविधान जारी भएपछि नयाँ संरचनामा हुन लागेको स्थानीय तह निर्वाचनमा मतदाताका घरघरमा मतदाता शिक्षा कार्यकर्ता पु¥याउने बताउनुभयो । निर्वाचनमा समावेशीताको कोटा भएको तथा निर्वाचनमा भाग लिने दल र निर्वाचन चिह्न एवम् मतदान प्रक्रियाबारे मतदातालाई शिक्षित तुल्याउन आयोग लागेको हो । गाउँपालिका वा नगरपालिकाको वडा समितिका एकजना दलित महिलासहित दुई महिला वडा सदस्य हुनेछन् । आयोगले तालिमप्राप्त मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने गरी खटाउने र यसका लागि ‘एक मतदान केन्द्र, एक मतदाता शिक्षा कार्यकर्ता’का लागि २१ हजार कर्मचारी परिचालन गर्नेछ । साथै, आमसञ्चार माध्यम एवम् सामाजिक सञ्जालबाट पनि निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश प्रकाशन तथा प्रसारण गरिनेछ । मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीको उत्पादन गर्ने कार्य सुरु गरेको आयोगले नेपालमा बोलिने राष्ट्रभाषामध्ये १७ राष्ट्रभाषामा समेत मतदाता शिक्षा सामग्री तयारी गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । रासस