एभरेष्ट दैनिक

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, पौडेल पक्ष आक्रामक रणनीतिमा

काठमाडौं, चैत १३ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आन्तरिक विषयलाई मुख्यरुपमा छलफल गर्ने रणनीति लिएको छ । पार्टीको केन्द्रिय कार्यालय सानेपामा बस्ने बैठकमा सभापति शेरबहादुर देउवा पक्षले संविधान संशोधन, निर्वाचनलगायतका राष्ट्रिय विषयमा छलफल केन्द्रित गर्ने तयारी गरेको भएपनि पौडेल पक्षले पनि पार्टीको संगठनात्मक विधि, पद्दतीलगायतका विषयलाई छलफलको एजेण्डा बनाउनुपर्नेमा जोड दिने बताइन्छ । पौडेल पक्षले भने महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी मनोनयन नभएको, कार्यसम्पादन समिति नबनाइएको, पार्टीभित्र छलफल नगरी सभापतिले निरंकुश ढंगले निर्णय गर्ने गरेको बताउँदै आएका छन् । सभापति देउवा पक्षले कार्यसम्पादन समिति गठन, विभिन्न समिति गठन, स्थानीय तहको चुनावमा उम्मेद्वार चयन र मापदण्ड तय गर्ने लगायत विषयलाई बैठकमा प्राथमिकता दिने तयारी गरेको छ । नेता पौडेल पक्षले पाँच महिनासम्म केन्द्रिय कार्यसमितिको बैठक नबसेको भन्दै केही समयअघि बैठक बोलाउन सभापति देउवालाई ज्ञापन पत्र नै बुझाएको थियो । झण्डै ५ महिनापछि बस्न लागेको बैठकमा सभापति देउवाले २२ सदस्यीय कार्यसम्पादन समिति र विभिन्न विभाग गठनको प्रस्ताव गर्ने तयारी गरेको बुझिएको छ ।