एभरेष्ट दैनिक

स्थानीय कमिटिले नै उम्मेदवार छनौट गर्ने एमालेको निर्णय

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३१ वैशाख हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन ‘प्लान’ अघि सारेको छ । स्थानीय तह निर्वाचनका लागि नेता कार्यकर्ता जिल्ला जिल्लामा परिचालन गर्ने र एकैसाथ निर्वाचनमा होमिने एमालेले निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा विहीबार बसेको स्थायी समिति बैठकले स्थानीय तहमा उम्मेदवार चयन गर्ने जिम्मा स्थानीय कमिटीलाई नै दिने निर्णय गरेको छ । एमालेको देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीले पाएको छ । वडा, गाउँ र नगर कमिटीको सिफारिसमा वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी जिल्ला कमिटीले टुंग्याउने गरी अधिकार दिइएको छ । जिल्ला र प्रदेशमा विवाद देखिएमा भने केन्द्रले हस्तक्षेप गर्न सक्ने नीति बनाइएको छ । गाउँपालिका र नगरपालिकाको प्रमुख, उपप्रमुखको उम्मेदवारी तय गर्ने अधिकार भने सम्बन्धित प्रदेश कमिटीलाई दिइएको छ । उपमहानगर र महानगरपालिकाका उम्मेदवार चयन गर्ने अधिकार भने केन्द्रमा नै राखिएको छ । उपमहानगर र महानगरमा पार्टीको केन्द्रीय नेता नै उठ्ने भएकाले त्यसको अन्तिम निर्णय भने स्थायी कमिटीले नै गर्ने निर्णय गरिएको छ । नयाँ संरचनाअनुसार ७ सय ४४ वटा स्थानीय तहमा देशभर ६ हजार ६ सय ८० वडा रहेका छन् ।