एभरेष्ट दैनिक

नेपालद्वारा पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं चैत १४ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानसामु १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८० रन बनाएको हो । भरपर्दा ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल, सागर पुन र दिपेन्द्र सिंह ऐरीलाई सस्तैमा गुमाएको नेपालको इनिङस् सुनिल धमला र शरद भेषावकरले सम्हालेका थिए । धमलाले ४३ र शरद ३८ रन बनाएर आउट भए । दिपेन्द्र १४, सागर ४ र कप्तान मल्ल ३ रनमा आउट भएपछि नेपाली इनिङस् एक समय धरमराएको थियो । त्यसलाई धमला र भेषवाकरले राम्रो साझेदारी गरेपछी नेपालले टेष्ट मान्यता प्राप्त पाकिस्तानसामु मध्यम स्कोर बनाएको हो । यस्तै बिनोद भण्डारी २२ रन जोडे । आरिफ शेख १६ रनमा आउट भए । निकै अपेक्षा गरिएका महबुब आलम गोल्डेन डक आउट भए । सन्दिप लामिछाने पनि गोल्डेन डक आउट भए । पछिल्लो पटक नेपाली टिम पाकिस्तानको २३ बर्ष मुनिको टोलीसँग ९ विकेटले पराजित भएको थियो । नेपाल रहेको समुह एमा पाकिस्तान सहित बंगलादेश र हङकङ समावेश छन । एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा सञ्चालित प्रतियोगिता ४ वर्षपछि बंगलादेशमा भइरहेको हो । । प्रतियोगितामा एसोसियट राष्ट्रको सिनियर टिम सहित टेष्ट राष्ट्रका २३ वर्ष मुनिका खेलाडीको सहभागिता रहनेछ ।