एभरेष्ट दैनिक

नियमावली रोकिए संघर्ष हुन्छः शिक्षा मन्त्री

लमजुङ, चैत्र १५ । शिक्षा मन्त्री धनिराम पौडेलले जुनकुनै हालतमा पनि शिक्षा नियमावली जारी गरिने बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च, नेपालले आज लमजुङको वेसिशहरमा आयोजना गरेको “दिगो विकासका लक्ष्यहरु र स्थानिय तह” विषयक सांसद तथा सरोकारवालाहरु बीचको अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै शिक्षा मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । सवै प्रक्रिया पूरा गरेर क्याविनेटमा पुगेको शिक्षा नियमावली रोक्ने अधिकार कसैलाई नभएको भन्दै उनले यदि नियमावली जारी गर्न नदिने षड्यन्त्र कतैबाट भए संघर्ष हुने बताए । शिक्षा ऐनको आठौं संशोधनलाई कार्यान्वयन गर्न नियमावली ल्याउन लागिएको भन्दै उनले संघियताको मर्म अनुसार अर्को ऐन नबनेसम्मको लागि शिक्षा क्षेत्रको कामलाई अघि वढाउन नियमावली चाहिएको स्पष्ट पारे । उनले क्याविनेट पुगेको नियमावली जारी नभए अस्थायी शिक्षक, प्रारम्भिक वाल कक्षाका शिक्षिका र विद्यालय कर्मचारीको व्यवस्थापनमा समस्या बल्झिने बताए । शिक्षामन्त्री पौडेलले ७ सय ४४ वटा स्थानिय तह संचालनको विषयमा गंभिर बहस शुरु भएकको भन्दै दिगो विकास लक्ष्य प्राप्तीको लागि स्थानिय तहलाई सुदृढ बनाउनु पर्नेमा जोड दिए । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चकी महालक्ष्मी डिना उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा सभासदहरु भिष्मराज अधिकारी, लालबहादुर गुरुङ, लमजुङका निमित्त प्रमुख जिल्ला अधिकारी तिर्थ अधिकारी, जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमाल, महिला विकास अधिकृत विष्णुकुमारी लामिछाने लगायतले बोलेका थिए । कार्यक्रममा वक्ताहरुले सन् २०३० सम्ममा नेपालले दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने संभावना र चुनौतिहरुका विषयमा आआफ्ना धारणा राखेका थिए । नेपालले प्रतिवद्धता जनाएको दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार, नागरिक समाज, समुदाय र अन्य सरोकारवाला सबै लाग्नु पर्नेमा वक्ताहरुको जोड थियो ।