एभरेष्ट दैनिक

पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेको घटनाप्रति फोटो पत्रकार क्लबको आपत्ति

काठमाडौं, चैत १५ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा फोटो खिच्दै गरेका फोटो पत्रकारलाई लक्ष्यित गरी पेट्रोल बम प्रहार गरेको घटना प्रति फोटो पत्रकार क्लवले विरोध गरेको छ । क्लबले मंगलबार विज्ञप्ति जारी गर्दै कान्तिपुर दैनिकका फोटो पत्रकार केशव थापा र अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेललाई लक्षित गरी बम प्रहार भएको घटनाप्रति भर्त्सना गरेको हो । प्रहरी र प्रदर्शनकारीबीचको ढुंगा हानाहानको फोटो सञ्चारमाध्यममा प्रकाशित भएपछि उनीहरुले फोटो पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गर्नु जनताको सूचना पाउने अधिकार समेत बन्चित गर्न खोजिएको फोटो पत्रकार क्लबको ठहर छ । विद्यार्थीको आक्रमणबाट फोटो पत्रकारद्वय थापा र पौडेललाई सामान्य चोट लागेको छ । क्लबले दोषीको छानबिन गरी कानुनी दायरमा ल्याइ कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । राज्यको चौथो अंग मानिएको सञ्चार श्रेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण वनाउन पनि फोटोपत्रकार क्लबले सम्बन्धित सबैमा आग्रह गरेको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायत सात विद्यार्थी संगठनको बहिष्कारका बीच मंगलबार आरआरमा स्ववियु चुनाव भइरहेको छ ।