एभरेष्ट दैनिक

माओवादी केन्द्र र नेकपा (क्रान्तिकारी) माओवादी बैद्य विच धादिङमा पार्टी एकता

धादिङ, चैत १६ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देशका विभिन्न स्थान तथा पार्टी कमिटीमा पार्टी प्रवेशको लहर चलेको वेला धादिङमा भने दुई पार्टीबीच एकता भएको छ । मोहन वैद्य ‘किरण’ निकटको (क्रान्तिकारी) माओवादी जिल्ला समिती धादिङ र प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र धादिङबीच एकता भएको छ । बुधबार जिल्लामा एक कार्यक्रमको आयोजना गरी पार्टी एकता गरिएको माओवादी केन्द्र धादिङका सह–सचिव मनराज भण्डारी शैलेशले जानकारी दिए । लामो समयदेखि दुई पार्टीको जिल्ला एकता गर्ने विषयमा छलफल चलेको र त्यही छलफलको परिणामस्वरुप पार्टी एकता गरिएको भण्डारीले बताए । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धादिङमा अन्य पार्टीबाट माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नेहरुको भीड रहेको पाईन्छ । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन दुई पार्टी विच एकताको आवश्यकता रहेको र सोहीअनुरुप हामी पार्टी एकता गर्न तयार भएको निवर्तमान क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी हरि अधिकारीले बताए । जिल्लामा यथास्थितिवादी र जडसुत्रवादीको हाबी हुन नदिन दुई पार्टीबीच एकता भएको कार्यकताहरुको बुझाई रहेको पाइन्छ । नेकपा (क्रान्तिकारी) माओवादी जिल्ला सेक्रेटर हरि अधिकारीको नेतृत्वमा रहेको सिङ्गो जिल्ला कमिटी र माओवादी केन्द्रबीच एकता भएको छ । एकता भएसँगै क्रान्तिकारी माओवादीका हरि अधिकारी, मंगबहादुर तामाङ, रामकृष्ण धरेल, केदार थापा, सुवास विक (विद्यार्थी अध्यक्ष) ज्ञानबहादुर घले, मानबहादुर तामाङ, गणेश घले, मदन तामाङ, चन्द्रबहादुर घले, पदम तामाङ, गोपाल रिजाल, सुर्यमान तामाङ, राजन श्रेष्ठ, स्याम तामाङ सहित १९ सदस्यीय कमिटीमध्ये १६ सदस्य माओवादी केन्द्रसँग एकता भएको छ । एकता कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो भने अर्काे पोलिटव्युरो सदस्य शालिकराम जम्कटेलको विशेष आतिथ्यता रहेको थियो । दुई पार्टीको पदाधिकारी तथा कार्य समितिबीच एकता पश्चात अब धादिङको माओवादी आन्दोलनले नयाँ उचाई लिने माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जम्कटेलले बताए ।