एभरेष्ट दैनिक

एमाले सभास्थल नजिक मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौँ, फागुन २३ । सप्तरीमा एमालेको सभास्थल नजिक मधेसी मोर्चाको कार्यकर्ता र प्रहरी बीच झडप भइरहेको छ । सभास्थल गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको पूवपट्टीको गहुँ खेतमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । एमालेको मेची–महाकाली अभियानको टोलीबीच झडप भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धब तिमल्सिनाले जानकारी दिए । उनले भने- ‘मोर्चाका कार्यकर्ताले प्रहरीलाई ढुङ्गामुढा गरेपछि झडप भएको हो, दुईचार जना घाइते भएर अस्पताल लगिएको छ ।’ यसैबीच प्रजिअ तिमल्सिनाले एमालेका नेताहरु कार्यक्रम स्थल प्रवेश गरिसकेको जानकारी दिए । एमालेले मेची-महाकाली अभियानको तेस्रो दिन तराईका विभिन्न जिल्लामा सभा सकाएर सप्तरीमा सुरु गर्न लागेको हो । उक्त सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा अोली, बरिष्ठ नेताहरु माधबकुमार नेपाल,झलनाथ खनाल महासचिव इश्वर पोखरेल लगायतले सम्बोधन गर्दैछन् । एमालेको उक्त सभा विथोल्न सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहानैदेखि प्रदर्शन र चक्का जाम गरेको छ । सभा वरपर ठूलो संख्यामा सुरक्षाफौज तैनाथ गरिएको प्रजिअ तिमल्सिनाले बताए ।