एभरेष्ट दैनिक

राष्ट्रबैंकको कडा निर्देशन– निजि गाडी किन्न ५० प्रतिशतमात्रै ऋण दिन सकिने

काठमाडौं, फागुन १० । बिभिन्न बैंकहरुले ऋणको प्रावधान खुकुलो गर्दै आएकोमा नेपाल राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्न खोजको छ । चालु आर्थिक वर्ष अर्ध वार्षिक मौद्रिक नीतिको समीक्षा गरेपछि अनुत्पादक क्षेत्रमा बैंकहरुले नाफाका लागि गर्दै आएको लगानीलाई नियन्त्रण गर्न बैंकले यस्तो निति ल्याएको हो । यस अन्तर्गत अब निजी सवारी साधन खरिद गर्नका लागि बढीमा ५० प्रतिशत मात्रै ऋण दिन पाउने व्यवस्था गरेको छ । सार्वजनिक सवारी खरिदका लागि भने यो नीति लागु हुने छैन । यसैगरी राष्ट्र बैंकले बैंकहरुले कल डिपोजिटमा दिँदै आएको उच्च ब्याजलाई पनि बचत खाताको ब्याजदर सरह बनाउन निर्देशन दिएको छ । यसअघि बैंकहरुले कल डिपोजिट, बचत र मुद्दती खातामा ठूलो ब्याज अन्तर राख्दै आएका थिए । राष्ट्र बैंकको नयाँ निर्देशनपछि बचत र कल डिपोजिट दुवै खाताको ब्याजदर समान हुनुपर्ने भएको छ ।