एभरेष्ट दैनिक

ग्रामीण क्षेत्रका महिलाहरुमा बढी आङ खस्ने समस्या बढ्दै

नेपालगन्ज, माघ २५ । बाँके जिल्लाका विकट गाविस क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखा परेका छन् । जनस्वास्थ्य कार्यालयले केही महिनाअघि जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा सो समस्या देखा परेको हो । कार्यालयका अनुसार, पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेको पाइएको छ । विशेषतः जिल्लाको गनापुर, साइगाँउ, नौवस्ता, सोनपुर, टिटिहिरिया, महादेवपुरी, कम्दी, बेतहनी र रझेना गाविसका दलित, मधेसी र सीमान्तकृत समुदायका महिला सो समस्याबाट सबैन्दा बढी पीडित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत अङ्गतबहादुर शाहीले बताउनुभयो । कम उमेरमा विवाह गरेका, असुरक्षित रुपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।