एभरेष्ट दैनिक

प्राधिकरणका सीईओ ज्ञवाली बर्खास्त

काठमाडौं, पुस २१ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई हटाएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को वैठकले ज्ञवालीको काम सन्तोषजनक नभएको ठहर गर्दै उनलाई हटाउने निर्णय गरेको हो । यसअघि प्राधिकरणको काम सन्तोषजनक नभएको भन्दै सरकारले ज्ञवालीसँग पुस १४ गते ७ दिने स्पष्टिकरण सोधेको थियो ।  सरकारले साेधेको स्पष्टीकरणको उनले बुधबार १२ पन्नेको स्पष्टीकरण र ७२ पृष्ठको जवाफ बुझाएका थिए । उनले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गरेर हटाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । मन्त्रिपरिषद बैठकले अर्को सीईओ बिहीबार नै नियुक्त गर्ने र दुबै निर्णयलाई एकसाथ सार्वजनिक गर्ने समझदारी भएको मन्त्रिपरिषद स्रोतले बताएको छ । केपी ओली नेतृत्वको सरकारले २०७२ पुस  १० गते ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो । पुष्पकमल दाहाल प्रधानमन्त्री भएलगत्तै सरकारले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ताको ५० हजार वितरण गर्ने लक्ष्य लिएको थियो। प्रधानमन्त्री दाहालले प्राधिकरणलाई गत साउनमा नै उक्त काम पूरा गर्न निर्देशन दिएका थिए। तर अझै सबै पीडितले पहिलो किस्ताबापतको रकम पाउन सकेका छैनन्।