एभरेष्ट दैनिक

मेलम्ची खानेपानी निरन्तर वितरण हुने

काठमाडौं ।मेलम्ची खानेपानी विकास समितिले बर्खायामलाई मध्यनजर गर्दै मेलम्ची मुहानमा हाइअलर्ट रुपमा कर्मचारी खटाएर काठमाडौंमा पानी सप्लाई भइरहेको जनाएको छ। शुक्रबार देखि मेलम्चीको पानी बन्द हुने समाचारहरु बाहिर आइरहँदा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रत्न लामिछानेले पानीको बहाव र जोखिमलाई ध्यानमा राखेर पानी सप्लाई भइरहेको जानकारी दिए। खडेरीका समयमा काठमाडौंमा पानीको आपूर्तीलाई सहज बनाउन एक घण्टा पानी छोड्दा पनि एक हजार ट्याङ्कलाई पुग्ने पानी जम्मा हुनेहुँदा तत्काल मेलम्चीको मूलद्वार बन्द नहुने कार्यकारी निर्देशक लामिछानेले बताए। मनसुन अवधिमा विपत्तिको जोखिम बढ्नेहुँदा २४ सै घण्टा कर्मचारी हाइअलर्ट खटाइएको बताउँदै उनले पानीको बहाव बढ्ने वित्तिकै जतिबेला पनि मूलद्धारलाई बन्द गरिने बताए। मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पनि बर्षायाम सुरु भएपछि सरकारले आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ। लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो। नेपालका मनसुन भित्रिए पनि पूर्वी भू-भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठूलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो। दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब रु दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो। मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनःवितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो।