एभरेष्ट दैनिक

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने गरी तय गरिएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार, बैठक आज (आइतबार) र सोमबार दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’माथि विशेष समीक्षा गर्ने कार्यसूची छ । त्यसैगरी बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको काम–कारबाही र आउँदो फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल गरिनेछ । माओवादी केन्द्रले चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइतेरअपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गएको भदौ १६ देखि सुरु गरिएको सो अभियान पुस १७ गतेसम्म चलेको थियो । बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।