एभरेष्ट दैनिक

बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक : ८७.३७ प्रतिशत मात्र खर्च हुने अनुमान(पूर्णपाठ)

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव)को बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आव २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आवमा कुल खर्चको ८७.३७ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको बताए । “लक्ष्यअनुसारको आम्दानी हुने अवस्था नभएपछि र खर्च गर्ने ट्रेन्डमा सुधारको कोसिस गरे पनि पूरा हुन समस्या लाग्ने देखियो,” महतले भने । सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, अर्धवार्षिक समीक्षामार्फत सरकारले अब १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । जसमा चालुतर्फ सुरुवाती विनियोजनको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।