एभरेष्ट दैनिक

७७ वर्षका माओवादी नेता दिनानाथ शर्मा टियुमा पढ्दै

काठमाडौं, २२ माघ । माओवादी केन्द्रका पाका नेता दिनानाथ शर्मा आज देखि स्नोकोत्तर तह प्रथम वर्षको विद्यार्थीको रुपमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन सुरु गरेका छन् । तीस वर्ष शिक्षण पेशामा र झण्डै आधा शताब्दी राजनीतिमा विताइसकेका शर्मा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत बौद्ध अध्ययन केन्द्रीय विभागका विद्यार्थीका रुपमा अध्ययन सुरु गरेका हुन् । बौद्ध अध्ययन केन्द्र केन्द्रीय विभागकी विभागीय प्रमुख डा. चन्द्रकला घिमिरेका अनुसार सोमबार बिहान सात बजे देखि सुरु भएको स्नातकोत्तर तह प्रथम सेमेस्टरको अभिमुखिकरण कार्यक्रममा माओवादीका पाका नेता दिनानाथ शर्मा आफ्ना करिब दुई दर्जन सहपाठी सँगै कक्षा कोठामा सहभागी भएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पाका नेता शर्माले आफु आज देखि औपचारिक विद्यार्थी भएको खुशी बाँढेका छन् । वि.स. २०५७ अगाडी मोहन विक्रम सिंहको नेकपा मसालका प्रबक्ता रहेका शर्मा तत्कालिन नेकपा माओवादीको दोश्रो राष्ट्रिय सम्मेलन देखि उक्त पार्टीमा सहभागी भएका थिए । सो सम्मेलनमा सबैभन्दा पाका केन्द्रीय सदस्यका रुपमा क. अशोकका नामले सम्मेलनको अध्यक्षता पनि गरेका थिए । माक्र्सवादी दर्शन, साहित्य र राजनीतिमा लामो समय लगानी गरेका शर्माले आफ्नो जीवनको उत्तरार्धतिर बौद्ध दर्शनको औपचारिक विश्वविद्यालय शिक्षा सुरु गरेका छन् । उनको सामाजिक संजालमा दर्जनौंले बधाई दिएका छन् । २००३ साउन ०४ गते जन्मिएका नेता शर्मा २०२३ देखि वाम राजनीतिमा लागेका थिए । ०४२ बैशाख २ देखि भूमिगत राजनीतिमा होमिएका शर्माले ०४६ चैत २७ सम्म भूमिगत राजनीति जीवन बिताएका थिए । शर्मा २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा माओवादी दलको प्रमुख सचेतक समेत भएका थिए । १८ वर्षसम्म शिक्षण पेशा गरेका शर्मा प्रधानमन्त्री डा बाबुराम भट्टराईको मन्त्रिमण्डलमा शिक्षामन्त्री पनि थिए । बाग्लुङ जिल्लाको अमलाचौर –७, गहतेरा भन्ने गाउँमा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका शर्माले औपचारिक रूपमा कला र शिक्षाशास्त्रबाट स्नातक गरेका छन् । पछिल्लो समय माओवादीका नेता कार्यकर्तामा औपचारिक अध्ययन गर्ने मोह बढ्दै गएको देखिएको छ ।