एमालेको केन्द्रीय समितिले मेरो सदस्यता खोसेको भन्ने हल्ला निराधार : विद्या भण्डारी
२ भदौ, २०८२
विराटनगर। विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को कार्यकर्ता नै रहेको स्पष्ट पारेकी छन्। उनले एमालेको केन्द्रीय समितिले आफ्नो सदस्यता खोसेको भन्ने हल्ला निराधार भएको दाबी गरिन्। “मैले ३५–३६ वर्षदेखि पार्टीसँग निरन्तर काम गरिरहेकी छु,” उनले भनिन्, “राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि मैले सदस्यता नवीकरण गरेकी छु। यो मेरो अधिकार हो, जसलाई कसैले खोस्न सक्दैन।” पार्टीले उनलाई ‘पूर्वराष्ट्रपति’का रूपमा मात्रै लिने भन्ने अभिव्यक्तिप्रति उनले प्रत्यक्ष टिप्पणी नगरे पनि कुनै पनि छलफलका लागि आफू खुला रहेको बताइन्। राजतन्त्र र गणतन्त्रको तुलनाबारे सोधिएको प्रश्नमा उनले राजा व्यक्ति भएको तर राष्ट्रपति पद भएको बताइन्। “जनताले निर्वाचित गरेको व्यक्ति राष्ट्रपति बन्न सक्छ र कार्यकालपछि सामान्य नागरिक जीवनमा फर्किन्छ,” उनले प्रष्ट्याइन्। नेपाली कांग्रेसका नेता शेखर कोइरालासँगको भेटघाटबारे भइरहेका टिप्पणीप्रति उनले कुनै आपत्ति नभएको बताइन्। “हामी पुराना साथी हौँ। भेटघाट स्वाभाविक हो। शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारीजस्ता विषयमा नेताहरूबीच छलफल हुनु सकारात्मक हो,” उनले भनिन्। वाम एकताको सम्भावनाबारे सोध्दा उनले तत्काल बलियो आधार नदेखिए पनि भविष्यमा यो असम्भव नभएको बताइन्। पार्टीसँगको सम्बन्धबारे उठेका प्रश्नहरूको जवाफमा उनले एमालेसँगको आफ्नो पुरानो संगठनात्मक सम्बन्धलाई कसैले तोड्न नसक्ने दाबी गरिन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले भनिन्, “म नेकपा (एमाले) को कार्यकर्ता हुँ। मैले एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर जितेकी हुँ। आज पनि मेरो पहिचान त्यही हो। पार्टीले औपचारिक रूपमा कुनै निर्णय गरेको भए मलाई जानकारी छैन, तर मेरो संगठनात्मक सम्बन्ध एमालेसँगै छ।”

