एभरेष्ट दैनिक

नेपाल घरेलु मैदानमै म्यानमारसँग ११-१ गोलले पराजित !

काठमाडौं, असोज ६ । म्यानमारसँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ । समूह चरणको दोस्रो खेलअन्तर्गत शुक्रबार म्यानमारसँग भएको खेलमा नेपाल ११-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।   हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा १० गोल खाएको थियो । दोस्रो हाफमा भने केही सम्हालिएर खेलेको नेपालले एक मात्र गोल खायो । खेलको शुरुआती छ मिनेटमा तीन गोल गर्दै म्यानमारले नेपाललाई पहिलो हाफमा निकै दबाबमा राख्यो । ७४औँ मिनेटमा नेपालका लागि निकिता थोकरले एक गोल गर्न सफल भइन् ।   म्यानमारका लागि सुई और माङले एक्लैले पाँच गोल गरिन् । यस्तै म्यात नाउ हिनले ह्याट्रिक पूरा गर्न सफल भइन् । हिन मार तोई, ह्वाई पो इयान र पोन्ट पोन्टले एकरएक गोल गरे । समूह ‘इ’बाट फिलिपिन्स र म्यानमारले समान ६ अङ्क जोड्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ ।   समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणका लागि यसअघि नै छनोट भइसकेका छन् ।   समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४-० ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । आइतबारको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । -रासस