एभरेष्ट दैनिक

संविधान दिवस : ३ वर्ष पूरा, राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं, असोज ३ । नेपालको संविधान २०७२ जारी भएको ३ वर्ष पूरा भएको छ । यसअघि असोज ३ गते संविधान दिवस मनाउने गरिएपनि सरकारले अब भने राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बिभिन्न समयमा भएका आन्दोलन संविधान जारी भएसँगै संस्थागत भएको भन्दै सरकारले असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो । पहिलो संविधानसभा संविधान नदिई विघटन भएपनि दोस्रोले मधेश केन्द्रित दलको असहमतिका बाबजुद २०७२ साल असोज ३ गते लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी गरेको थियो । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिरहेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो । समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज प्रदर्शन, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकीँ प्रदर्शन, काठमाडौं र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरेका थिए । त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले द्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ । त्यस्तै, विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिदैछ । सरकारले दिवसका अवसरमा हिजोबाट ३ दिन दीपावली गर्ने जनाएको छ । यसैबीच राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएका छन् । राष्ट्रपति भण्डारीले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन् । संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गरेका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गरेका छन् । संविधानमार्फत संवैधानिक सर्वोच्चता सहितको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापना गरिएको बताउँदै उनले सन्देशमा आवधिक निर्वाचन, मानवधिकार, कानूनी राज, नियन्त्रण र सन्तुलनसहितको शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिको व्यवस्था गरिएको उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘सुदृढ लोकतन्त्रमा प्रयोगमा आएका लोकतन्त्रका विश्वव्यापी सबै अवयवलाई हामीले वैधानिक रुपमा नै यस संविधानमा संस्थागत गरेका छौँ त्यसैले यो संविधान हामी नेपालीलाई सार्वभौमसत्ता सम्पन्न बनाउने सबैभन्दा प्रगतिशील दस्तावेज हो । यही संविधानले गरेका परिकल्पनाको आलोकमा यो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।’ कान्तिपुरबाट