एभरेष्ट दैनिक

कतै कैटरिनाकै जस्तै अवस्था साम्राज्ञीको पनि त हुने होइन ?

काठमाडौं । बलिउड क्षेत्रका सुपरस्टार सलमान खानले चलचित्र ‘मैंने प्यार क्यूँ किया ?’ बाट अभिनेत्री कैटरीना कैफलाई लञ्च गरेका थिए । यसपछि यो जोडीले एकसाथ केही फिल्ममा काम गरे । ‘एक था टाइगर’ सम्म आइपुग्दा कैटरीना ‘सुपरस्टार’ बनिन् । उनलाई लाग्यो अब सलमानको साथ आवश्यक छैन । यसपछि केही वर्ष उनले विभिन्न अभिनेतासँग काम गरिन् । तर, फलिफाप रहेन । करिअर लगभग पाखा लाग्ने अवस्थामा पुगेपछि उनी पुनः सलमानको शरणमा परिन् । गएको वर्ष प्रदर्शनमा आएको ‘टाइगर जिन्दा हे’ ले फेरि कैटरीनालाई चम्कायो । अहिले सलमानसँग उनी अर्को नयाँ चलचित्र ‘भारत’ गरिरहेकी छन् । यो प्रसंग जोड्नुको कारण अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह हुन् । अभिनेत्री बन्ने तरखरमा रहेको बेला उनलाई सुपरस्टार अनमोल केसीको चलचित्र ‘ड्रिम्स’ चिठ्ठा परेको थियो । यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भयो । अनमोलको औसत अभिनयमाथि साम्राज्ञी हाबी भइन् । ‘ड्रिम्स’ले उनको ड्रिम पुरा गर्‍यो । अहिले उनी नेपाली फिल्मकी सर्वाधिक डिमान्डेड अभिनेत्री हुन् । अधिकांश मेकर्स उनलाई लिएर फिल्म बनाउन लालयित छन् । साना हुन् वा ठूला ब्यानर, हरेकको नजरमा उनी छिन् । ुड्रिम्सु पछि रिलिज भएको दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि सुपरहिट भएपछि उनले पारिश्रमिकमा पनि ‘लिड’ गर्न थालिन् । फिल्म ‘कायरा’ मा उनलाई आर्यन सिग्देलले १० लाख पारिश्रमिक दिए । रोचक कुरा त के भने उनका लागातार दुई फिल्म हिट भएपनि बाँकी दुई चलचित्रले अपेक्षाकृत व्यापार गरेनन् । अर्थात् ‘तिमीसँग’ र ‘कायरा’ ले बक्सअफिसमा सुनाउन लायक अंक जोड्न सकेनन् । अहिले उनको स्टारडम खस्किदै गएको चर्चा हुन थालेको छ । उनलाई हिट फिल्म दिन फेरि अनमोलसँगको पेयरिङ आवश्यक रहेको फिल्म पण्डितहरु बताउँछन् । तर, उनी यो मान्न तयार छैनन् । उनी आफू हिट हुन कुनै नायक र निर्माताको खाँचो नभएको बताउँछिन् । मंंगलवार पोखरामा असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा साम्राज्ञीमाथि प्रश्न उठ्यो, ‘तपाईलाई हिट हुन फेरि अनमोल नै चाहिएको हो ?’ पत्रकारको प्रश्नलाई गलत भन्दै उनले जवाफ दिइन्, ‘मलाई होइन, हिरो र निर्मातालाई चाहिँ म चाहिएको हो ।’ यो अभिव्यक्तिले अहिले उनको चर्को आलोचना भइरहेको छ । धेरैले उनको घमण्ड बोलेको भनेका छन् । जवाफ घुमाउरो शैलीमा दिएपनि उनले बुझ्ने गरी भनेकी थिइन्, ‘मलाई अनमोल होइन अनमोललाई म चाहिएको हो ।’ उनको यो आत्मविश्वास हो वा घमण्ड ? यो त समयले छर्लङ्ग पार्नेछ । ‘छक्का पञ्जा २’ र ‘३’, ‘जय भोले’, ‘लभ स्टेशन’, ‘भैरवी’ जस्ता बिग ब्यानरको पहिलो रोजाईमा आफूमात्र पर्दा उनले अचेल आफूलाई निर्विकल्प अभिनेत्री ठान्न थालेकी छन् । उनको अभिव्यक्तिले पनि यसलाई प्रस्टाउँछ । अब यो हेर्न बाँकी छ कि अनमोललाई साम्राज्ञी चाहिएको हो वा साम्राज्ञीलाई अनमोल ? माथि जोडिएको बलिउडको प्रसंगको अवस्था चाहिँ नआओस् साम्राज्ञीलाई शुभकामना ।